काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

८ माघ २०८२
अ+
अ-

गलेश्वर। बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन हजार २२ विद्यार्थीको मुटुको परीक्षण गरिएको छ ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविमा विद्यार्थीको मुटुको परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए । शिविरमा एक सय विद्यार्थीको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत परीक्षण गर्दा तीन विद्यार्थीको मुटुको उपचार गर्नुपर्ने पाइएको उनले बताए ।

शिविरमा एक सय शिक्षक, कर्मचारीलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । म्याग्दी जिल्लामा प्रतिष्ठानको एकाइ गठन भएपछि पहिलोपटक आयोजित शिविरमार्फत जटिल समस्या देखिएका विद्यार्थीको निःशुल्क उपचार गरिएको हो । मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यसहित ६ चिकित्सक टोलीले बालमन्दिर मावि, जडभरत आधारभूत विद्यालय, म्याग्दी बहुमुखी क्याम्पस, हंसबाहिनी आधारभूत विद्यालय, जामुनाखर्क मावि, सरस्वती मावि तातोपानी, सरस्वती आधारभूत विद्यालय बगरफाँटका विद्यार्थीलाई लक्षितगरी शिविर सञ्चालन गरिएको हो ।

बाथ रोगलाई हेल्चेक्रयाइँ गर्दा बालबालिकामा मुटुको समस्या देखिने गरेको डा वैधको भनाइ छ । शिविरको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले उद्घाटन गरेको थियो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाललगायतको उपस्थिति थियो ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँका पूर्वअध्यक्ष दीपेन्द्र पुरुष ढकालले बालबालिकामा देखिनसक्ने जन्मजात तथा बाथ, मुटुरोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुर्याउनका लागि विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको बताए । म्याग्दीमा प्रतिष्ठानमार्फत ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गर्ने योजना छ । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सघाउने प्रतिष्ठानका जिल्ला सचिव केशवप्रसाद रेग्मीले जानकारी दिए ।