विराटनगर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्। बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैँचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्ष रोजेको बताएका हुन्।
“म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो,” विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, “यो पार्टीको एउटा प्रक्रिया हो। आज डिला (डिला संग्रौला)जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिँडिराछौँ। त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ।”
छलफलमा नेता कोइरालाले पार्टी फुटाएर हिँड्नुभन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको बताए। पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको भएको हुँदा त्यस अनुरूप आफूले बीचको बाटो समातेको उनले बताए। प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै उनले निर्वाचनले मुलुकलाई प्रस्ट निकास दिने पनि बताए।