चुनाव
ठाकुरले छोरीलाई टिकट दिएपछि जिल्लाबाट सिफारिसमा परेका यादवले दिए स्वतन्त्र उम्मेदवारी
जनकपुरधाम। जनता समाजवादी पार्टी, नेपालका संरक्षक महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर ३ बाट आफ्नो छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि पार्टीभित्र विद्रोह भएको छ।
संरक्षक ठाकुर राष्ट्रिय सभामा जाने भएपछि महोत्तरी ३ बाट उम्मेदवारीका लागि हरिनारायण यादव, रामकुमार शर्मा र कृष्णाशंकर साहको नाम जिल्लाबाट सिफारिस भएको थियो। मिनाक्षीको नाम सिफारिससमेत भएको थिएन। तर, विगतमा आफूले जितेको क्षेत्र भएकाले यसपटक पनि आफ्नै रुचिको मान्छे उम्मेदवार हुनुपर्ने भन्दै ठाकुरले छोरीलाई टिकट दिलाएका थिए।
मिनाक्षीको उम्मेदवारी दर्ता भएसँगै मधेसी जनअधिकार फोरमको स्थापनाकालदेखि पार्टीमा क्रियाशील हरिनारायण यादवले विद्रोह गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। “हामीले ठाकुरलाई नेता मान्यौँ। तर, अब पार्टीमा केही योगदान नै नभएकी उनकी छोरीलाई पनि मानिदिनुपर्ने? यही कारण मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,” यादवले भने।
जसपा नेपालका महासचिव रामकुमार शर्मा यस्तो अवस्था हुनुलाई ‘अप्रिय’ भन्छन्।
यता, संरक्षक ठाकुर भने लोकतान्त्रिक आन्दोलनमा लाग्दा आफूले सबैथोक गुमाएका बेला तिनै छोरीको सहारामा बसेकाले छोरीको समेत पार्टीमा योगदान भएको र अहिले टिकट दिँदा आलोचना गर्नुको कुनै आधार नरहेको बताउँछन्।
ठाकुरकी छोरी मिनाक्षी भने आफू पेसाले चिकित्सक भएकाले युवाहरू देशका लागि अगाडि आउनुपर्छ भन्ने भावनाका साथ उम्मेदवारी दर्ता गराएको बताउँछिन्। ठाकुरका दुई सन्तानमध्ये छोराको निधन भइसकेको छ भने उनी अहिले छोरी मिनाक्षीकै घरमा बस्दै आएका छन्।
ठाकुरको परिवारमोहको नालीबेली
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा १ चैत २०६९ मा गठन भएको चुनावी अन्तरिम मन्त्रिपरिषद्मा धेरैजसो पूर्वसचिवहरूलाई नै मन्त्री बनाइएको थियो। जसमध्ये ऊर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिँचाइमन्त्री बनेका थिए, उमाकान्त झा। ५ चैत २०६९ देखि २८ माघ २०७० सम्म उनी मन्त्री बनेका थिए।
उनै झा महन्थ ठाकुरका सम्धी हुन्। त्यतिबेला उनलाई मन्त्री बनाउन महन्थ ठाकुरले नै भूमिका खेलेको बताइन्छ। त्यसअघि पहिलो संविधानसभामा ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टीबाट झाकी श्रीमती ईन्द्रा झालाई समानुपातिक सांसद बनाइएको थियो।

ठाकुरका सम्धी-सम्धिनी उमाकान्त झा र ईन्द्रा झा
उमाकान्त झालाई ३ माघ २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बनी प्रदेश प्रमुखमा समेत नियुक्त गरेको थियो। झा पार्टीमा समेत केन्द्रीय सदस्यदेखि सचिवसम्म बने। हाल लोसपा र जसपा नेपालबीच एकीकरण हुँदासमेत उमाकान्त झा पार्टीको केन्द्रीय समन्वय समितिमा परेका छन्।
पार्टी स्रोतका अनुसार ठाकुर झाकै कुरा बढी सुन्छन्। पार्टीभित्र झाको बोलवाला नै हुने गरेको छ।
नेपाली कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गर्दा ठाकुरले ‘मरे तो मुक्ति जिये तो मधेस’ (मरे मुक्ति हुन्छ, बाँचे भने मधेस)को नारा जोड जोडले लगाएका थिए। कांग्रेस परित्याग गरेर ठूलै जोखिम मोलेको भन्दै मधेसमा उनको ‘त्यागी’ छविसमेत बनेको थियो। तर, तिनै ठाकुर राजनीतिक जीवन र उमेरको उत्तरार्धमा पारिवारिक मोहमा नराम्ररी फसेको उनकै कार्यकर्ता बताउँछन्।
२०६४ सालमा कोषाध्यक्ष रहेकै बेला उनले कांग्रेस परित्याग गरेर ५ माघ २०६४ मा तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए, जसले दोस्रो मधेस आन्दोलन सुरु गरेको थियो। यसको नेतृत्व ठाकुरले नै गरेका थिए।
आन्दोलनपछि चैत २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले सर्लाही ४ रोजे, जहाँ २०४७ सालदेखि उनले पटक पटक निर्वाचन जित्दै आएका थिए। तर, तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार शिवपूजन यादवसँग उनी पराजित भए। २०७० सालमा दोस्रो संविधानसभा चुनावमा कांग्रेसका अमरेश सिंहसित हारे। त्यसपछि उनी सर्लाहीबाट महोत्तरी सरेका थिए। २०७४ सालमा महोत्तरी ३ बाट चुनाव जितेका ठाकुरले फेरि २०७९ सालमा पनि जित हात पारे। ठाकुरको दुवैपटकको जितमा नेपाली कांग्रेस ठूलो उद्धारकर्ता थियो। कांग्रेसले दुवैपटक सो क्षेत्रमा उम्मेदवारी दिएको थिएन।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका ठाकुरले कृषि, कानुनदेखि विज्ञान तथा प्रविधि मन्त्रालयको समेत नेतृत्व गरिसकेका छन्। ८२ वर्षीय ठाकुर अहिले संसदीय राजनीतिबाट टाढिँदै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन्।