काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि अद्यावधिक छैन कांग्रेसको वेबसाइट

८ माघ २०८२
विशेष महाधिवेशनपछि डाकिएको पहिलो केन्द्रीय कार्यसमिति बैठक
अ+
अ-

काठमाडौँ। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टी मुख्य कार्यालय सानेपामा पहिलोपटक केन्द्रीय समिति बैठक राख्ने भएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे सभापति गगन थापासहित काठमाडौँमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यको बैठक बस्न लागेको हो।

३० पुसमा विशेष महाधिवेशनबाट निर्वाचित भएपछि कार्यसमितिले पार्टी मुख्यालयमा पहिलोपटक बैठक राख्न लागेको हो। बैठकमा विशेष महाधिवेशनसँग जोडिएका विषय, आगामी यात्रा र प्रतिनिधिसभा निर्वाचनबारे छलफल हुने चालिसेले बताए। “यसअघि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले अन्यत्रै बैठक राख्ने गरेको थियो,” चालिसेले भने।

विशेष महाधिवेशनको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गैरकानुनी रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। अदालतले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सभापति थापा पक्षलाई १५ दिनभित्र लिखित जवाफ माग गरेको छ। साथै, प्रारम्भिक आदेशमा सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै अदालतले कानुनी र संवैधानिक पक्ष हेरेर सुनुवाइ गर्नुपर्ने देखिएको उल्लेख गरेको छ।

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसके पनि नेपाली कांग्रेसले आफ्नो वेबसाइट भने अद्यावधिक गरेको छैन। नेपाली कांग्रेसको वेबसाइटमा पुरानै कार्यसमितिको नाम र तस्बिर राखिएको छ। जसमा २०७८ सालमा निर्वाचित सभापति शेरबहादुर देउवा कार्यसमिति नै देखिन्छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले नवनिर्वाचित कार्यसमितिसँग आफ्नो कुरा नभएको बताए। “उहाँहरूले केही भन्नुभएको छैन, भोलि बैठक राखेको कुरा मलाई जानकारी पनि छैन,” पौडेलले भने, “आजसम्म कार्यालयमै छु, नयाँ कार्यसमिति के गर्ने भनी कार्यादेश दिइनसकेको हुँदा हामीले केही काम गरेका छैनौँ।”

वेबसाइटमा नयाँ कार्यसमितिको तस्बिर र नामावली अद्यावधिकबारे कार्यादेश नआएको उनले बताए। “बैठक बसेपछि के-के गर्ने भन्ने आगामी योजना तय गर्छौं, त्यसबारे कुराकानी होला,” चालिसेले भने।