प्रकृति
नेपाल–चीन सीमाक्षेत्र पार गर्ने एक आमा/माउ हिमचितुवाको असाधारण यात्रा
२० अप्रिल २०२२ को बिहान ठीक ५ बजेर २ मिनेट जाँदा, हिमालयको चिसो र शान्त वातावरणमा एउटा क्यामेरा ट्र्याप सक्रिय भयो। यो स्थान अत्यन्तै दुर्गम थियो, नेपाल-चीन सीमाको स्तम्भ नम्बर ५६ बाट करिब १.५ किलोमिटर उत्तर-पूर्वतर्फ। त्यहाँ ठाडा भिरहरू अँध्यारोमा बिलाउँछन्, र उचाइका कारण हावा सासै चिसो र तीखो महसुस हुन्छ। क्यामेरामा देखिएको दृश्य स्पष्ट थियो– एक हिमचितुवा। ‘पहाडको भूत’ भनेर चिनिने यो दुर्लभ सिकारी रातको अँध्यारो चिर्दै आत्मविश्वासका साथ अघि बढिरहेको थियो।
तर, तस्बिरमा एउटा असामान्य कुरा देखियो। उसको केवल एउटा आँखा मात्र चम्किरहेको थियो। बिरालो जातका जनावर र रातमा सक्रिय सिकारीहरूमा आँखा चम्किनु सामान्य कुरा हो। आँखाको पछाडिको ‘टापेटम लुसिडम’ नामक तहले थोरै प्रकाशलाई पनि परावर्तन गरेर तिनलाई रातमा स्पष्ट देख्न मद्दत गर्छ। इन्फ्रारेड क्यामेराको झिल्को पर्दा तिनका दुवै आँखा अँध्यारोमा चम्किन्छन्। तर, यस तस्बिरमा एउटा आँखाले प्रकाश परावर्तन गर्न सकेन, मानौँ त्यो आँखाले उज्यालो सोसिरहेको हो।
त्यही रात, त्यही क्यामेराले अर्को हिमचितुवालाई पनि कैद गर्यो, जसका दुवै आँखा सामान्य रूपमा चम्किरहेका थिए। यसले यो कुनै प्राविधिक त्रुटि वा दृश्य भ्रम नभएको स्पष्ट गर्यो। त्यस हिमचितुवाको अनुहारमै लेखिएको कथा थियो- घाइते, जीवन संघर्ष र पृथ्वीका सबैभन्दा कठोर भूदृश्यहरूमध्ये एकमा अनुकूलनको कथा। त्यो नै हामीले उसको अस्तित्वबारे थाहा पाएको पहिलो घटना। त्यतिबेला हामीलाई थाहा थिएन कि ऊ बारम्बार फर्किनेछे, र नेपालका उत्तरपूर्वी हिमालयस्थित लाप्ची उपत्यकामा अभिलेख गरिएका सबैभन्दा असाधारण हिमचितुवामध्ये एक बन्नेछे।
त्यो तस्बिर कुनै संयोग थिएन। यो हिमचितुवाको जीवन, वासस्थान, आनिबानी बुझ्न गरिएको लामो र धैर्यपूर्ण अनुसन्धानको हिस्सा थियो।
अक्टोबर २०१८ देखि मार्च २०२५ सम्म हिमचितुवाको वासस्थान, दैनिक गतिविधि र अन्य ठूला सिकारीहरूसँगको सहअस्तित्व अध्ययन गर्न उच्च हिमाली क्षेत्रमा क्यामेरा ट्र्यापहरू जडान गरिएको थियो। वर्षौंसम्म, मनसुनको पानी र हिउँदको हिमपात सहँदै, मानव आँखाले बिरलै देख्ने क्षणहरू कैद गर्दै यो अध्ययन तीन चरणमा सम्पन्न भयो।

एकआँखे हिउँचितुवा
यो दीर्घकालीन अनुगमन गौरीशंकर संरक्षण क्षेत्रभित्रको २८० वर्ग किलोमिटर लाप्ची उपत्यकामा सम्पन्न भएको थियो। यो अत्यन्तै दुर्गम भौगोलिक रूपमा कठिन क्षेत्र हो। यहाँ उपोष्ण वनबाट सुरु भएर अल्पाइन घाँसे मैदान, त्यसपछि चट्टान, बरफ र सधैँको हिउँसम्म पुगिन्छ। यस्तो चरम वातावरणले यहाँ बस्ने हरेक प्राणीबाट उच्चस्तरको सहनशीलता र अनुकूलन आवश्यकता हुन्छ।
तीन दिशाबाट चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको लाप्ची उपत्यका समुद्री सतहबाट करिब ३,५०० मिटरभन्दा माथि फैलिएको छ। लाप्ची केवल जैविक करिडोर मात्र होइन, सांस्कृतिक र आध्यात्मिक दृष्टिले पनि महत्त्वपूर्ण भूभाग हो। ‘बेयुल’ अर्थात् लुकेको पवित्र उपत्यकाका रूपमा चिनिने यस स्थानमा पुराना गुम्बा, मिलारेपासँग सम्बन्धित ध्यान गुफा र प्रकृतिप्रति सम्मान गर्ने समुदायहरू छन्। याक र घोडा मौसमअनुसार चरन खोज्दै माथि-तल सर्छन्, र मानिससँगै बस्न सिकेका सिकारी प्रजातिहरूसँग एउटै भूभागमा बसोबास गर्छन्। यही ढुंगा, प्रार्थना र स्वच्छ हावाले भरिएको वातावरणलाई एकआखेँ हिमचितुवाले आफ्नो वासक्षेत्र बनाएकी छिन्।
कठिन भूगोलकी हिमचितुवा
हिमचितुवा (Panthera uncia) संसारका सबैभन्दा अनुकूलित सिकारी प्राणीहरूमध्ये एक हो। यो मध्य र दक्षिण एसियाका १२ देशमा फैलिएको छ, र यस्तो उचाइमा बसोबास गर्छ जहाँ अक्सिजन पातलो हुन्छ, चिसोले कठ्यांग्रिन्छ र सानोभन्दा सानो गल्ती पनि प्राण लिने घटना हुन जान्छ। जहाँ हिमचितुवाको बाक्लो रौँले चिसोबाट जोगाउँछ, छोटा खुट्टा र ठूला पञ्जाले चिप्ला भिरमा सन्तुलन दिन्छन्। लामो र बाक्लो पुच्छरले हाम फाल्दा दिशा मिलाउन सहयोग गर्छ र आराम गर्दा शरीर बेरिन्छ, न्यानो दिन्छ।
आमाले आफ्ना लागि मात्र होइन, बढ्दो शरीर भएका डमरुहरूका लागि पनि सिकार गर्नुपर्छ। उसले उनीहरूलाई उच्च र ठाडो भिर र गहिरा खोँच पार गराउनुपर्छ, जहाँ एउटा सानो चुक पनि प्राणघातक हुन सक्छ।
हिमचितुवा हिमाली पारिस्थितिक प्रणालीको शीर्ष सिकारी हो। यसले नाउर, हिमाली थार, कस्तुरी मृग, फ्याउ मुसा र ठुटे मुसाको सिकार गर्छ। यसरी यसले शाकाहारी जनावरको संख्या नियन्त्रणमा राखेर नाजुक हिमाली पारिस्थितिक प्रणाली जोगाउँछ। यदि यो सिकारी हट्यो भने सम्पूर्ण पारिस्थितिक सन्तुलन बिग्रन थाल्छ।
यति सक्षम र पारिस्थितिक पद्धतिको महत्त्वपूर्ण अंग हुँदाहुँदै पनि हिमचितुवा जोखिममा छ। सिकारको कमी, वासस्थान खण्डीकरण, जलवायु परिवर्तन र मानवद्वन्द्वका कारण यसको संख्या घट्दै गएको छ। त्यसैले हरेक हिमचितुवा महत्त्वपूर्ण छ, र प्रजनन गर्ने प्रत्येक आमा अझै बढी मूल्यवान् हुन्छ। यही सन्दर्भमा एउटा मात्रै आखाँ भएकी हिमचितुवाको जीवन आफैँमा असाधारण थियो। तर, उसको कथा त्यतिमा मात्रै सीमित रहेन।
फेरि देखिए परिचित अनुहार
पहिलोपटक क्यामेरामा देखिएको करिब नौ महिनापछि, जनवरी २०२३ को एक उज्यालो हिउँदे दिउँसो, ऊ फेरि क्यामेरामा कैद भई। यसपटक स्थान फरक थियो- पहिलो तस्बिर खिचिएको ठाउँबाट करिब आठ किलोमिटर दक्षिण-पश्चिमतर्फ, मञ्जुश्री तालनजिक। तस्बिर दिउँसो खिचिएकाले उसको अवस्था स्पष्ट देखिन्थ्यो। रौँ बाक्लो र सफा थियो, बलिया मांसपेशी प्रस्ट देखिन्थे। उसको पुच्छर निरन्तर चलिरहेको थियो, जसले सतर्कता र आत्मनियन्त्रण झल्काउँथ्यो।

एकैदिन क्यामेरामा रेकर्ड भएका एकआँखे र दुवै आँखा ठीक भएका हिउँचितुवा
उसको अनुहार भने कठोर देखिन्थ्यो। क्यामेराको नजिक राखिएको काठको चिनो र त्यहाँ रहेको मानव गन्धप्रति ऊ चनाखो भएकी थिई। हिमचितुवाको सुँघ्ने शक्ति अत्यन्तै तेज हुन्छ, र सम्भवतः उसले मानिसको उपस्थिति थाहा पाएकी थिई। क्यामेरातर्फ उसले दिएको नजर डरले होइन, झर्को र आक्रोशले भरिएको थियो। त्यो आफ्नो क्षेत्रको दाबी गर्ने स्थायी सिकारीको नजर थियो। ऊ कुनै कमजोर जनावर थिइन, बरु आफ्नो इलाका जोगाउन पूर्ण रूपमा सक्षम वयस्क हिमचितुवा थिई।
हराएको आँखाको रहस्य
जति जति उसको उपस्थितिका प्रमाणहरू भेटिँदै गए, उसको घाइते आँखाबारे चासो बढ्दै गयो। तस्बिरहरू नेपाल, ललितपुरस्थित केन्द्रीय चिडियाखानाका पशुचिकित्सक विशेषज्ञहरूसँग साझा गरिए। उनीहरूको निष्कर्ष स्पष्ट थियो– यो चोट कुनै रोगका कारण भएको थिएन, न त बिरालामा कहिलेकाहीँ देखिने मोतियाबिन्दुजस्तो थियो। बरु, यो चोट सम्भवतः उसको जीवनको प्रारम्भिक चरणमै लागेको हुन सक्छ।
विशेषज्ञहरूका अनुसार ऊ अर्को हिमचितुवासँग क्षेत्र स्थापित गर्ने क्रममा लड्दा घाइते भएकी हुन सक्छे। वा, बलियो सिकार– जस्तै ठूलो भाले, नाउर वा कस्तूरी मृगका सिङ वा खुरबाट गम्भीर चोट लागेको हुन सक्छ। हिमालयजस्तो कठोर भूभागमा एउटा धारिलो हाँगो वा चुचो चट्टानले पनि क्षति पुर्याएको हुन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो भने, मानव द्वन्द्वको कारण चोट भएको हुन सक्ने कुनै प्रमाण देखिएन। न पासो थियो, न गोली, न त अन्य अंगमा क्षति। उसको शरीर बलियो थियो, चालढाल स्वाभाविक। जे जसले उसको एउटा आँखाको हेर्न सक्ने क्षमता लियो, त्यो प्रकृतिको हिस्सा थियो, मानव निर्दयताको परिणाम होइन। र, त्यो क्षतिका बाबजुद ऊ संघर्षमा निरन्तर जुधिरही।
हिमचितुवाको जीवन कहिल्यै सजिलो हुँदैन, तर मातृत्वले हरेक चुनौती झनै गाह्रो बनाउँछ। डमरुहरू पूर्ण रूपमा आमामै निर्भर हुन्छन्- खाना, सुरक्षा र सिकाइका लागि। आमाले आफ्ना लागि मात्र होइन, बढ्दो शरीर भएका डमरुहरूका लागि पनि सिकार गर्नुपर्छ। उसले उनीहरूलाई उच्च र ठाडो भिर र गहिरा खोँच पार गराउनुपर्छ, जहाँ एउटा सानो चुक पनि प्राणघातक हुन सक्छ। यी सबै काम प्रतिस्पर्धी सिकारी र मानवसँग प्रतिस्पर्धा र सहअस्तित्व रहेको भूभागमा गर्नुपर्छ।
दृष्टि कमजोर भएकी आमाका लागि यी चुनौतीहरू झनै बढ्छन्। यही कारण नोभेम्बर २०२४ मा देखिएको दृश्यले हामीलाई स्तब्ध बनायो।
लाप्चीकी एकआखेँ रानी केवल बाँचिन, उसले आफ्नो प्रजातिको निरन्तरतामा प्रत्यक्ष योगदान पनि दिई।
२० नोभेम्बर २०२४ मा लाप्ची गाउँनजिकको क्यामेरा ट्र्यापले एउटा ऐतिहासिक दृश्य कैद गर्यो। एकआखेँ हिमचितुवा मानवले प्रयोग गर्ने बाटो हुँदै हिँडिरहेकी थिई। त्यही साँघुरो बाटो जहाँ याकहरू चर्छन् र मानिसहरू आवतजावत गर्छन्। उसका पछाडि दुई डमरु थिए, फुर्तिला र बाक्लो रौँले ढाकिएका। क्यामेराको झिल्को पर्दा उनीहरूका दुवै आँखा तेजस्वी रूपमा चम्किए। उनीहरू स्वस्थ, सतर्क र आमाको निगरानीमा सुरक्षित देखिन्थे।
आमा शान्त आत्मविश्वासका साथ अघि बढिरहेकी थिई, सायद डमरुहरूलाई त्यो भूभागमा आफूजस्तै ठूला सिकारी जन्तु र मानव र आहारा प्रजातिसँग कसरी तालमेल गर्ने भनेर सिकाउँदै। यो कुनै संयोग थिएन। यो भविष्यमा सुरक्षाका लागि दिइँदै गरेको अभ्यास थियो। हिमचितुवा आमाहरूले करिब दुई वर्षसम्म आफ्ना डमरु हुर्काउँछन्- कसरी लुकेर बस्ने, कसरी सिकार पछ्याउने र कहिले पछि हट्ने भन्ने सिकाउँदै। एकआखेँ भएर पनि उसले यो जिम्मेवारी पूरा गरिरहेकी थिई भन्ने कुरा उसको सीप, धैर्य र सहनशीलताको मात्र नभई, असल र जिम्मेवार आमा भएको प्रमाण हो।
साँघुरो बाटोमा आत्मविश्वास
केही हप्तापछि, डिसेम्बर २०२४ मा ऊ फेरि हाम्रो क्यामेरामा देखिई। यसपटक लाप्ची खोलानजिक, सीमास्तम्भ नम्बर ५५ नजिक। ऊ आफ्ना दुई डमरुलाई साँघुरो वन हुँदै लगिरहेकी थिई। हालैको पहिरोले बाटाको केही भाग बगाएको थियो, जसले गल्तीका लागि ठाउँ झनै कम बनाएको थियो। डमरुहरू एउटै लाइनमा सावधानीपूर्वक आमाको पछि लागिरहेका थिए। त्यो दृश्य अनुशासन, विश्वास र नेतृत्वको उत्कृष्ट उदाहरण थियो। आमा अगाडि हिँडेर हरेक पाइला जाँच्छिन्, डमरुहरू पछि पछ्याउँछन्। मानौँ, सेनापतिका पछि लागेका अनुशासित सिपाहीहरू।

एकआँखे हिउँचितुवा आफ्ना डमरुहरूसँग
२०२५ को सुरुआतमा ऊ फेरि क्यामेरामा कैद भई, नेपाल-चीन सीमाबाट दक्षिण-पश्चिमतर्फ लाप्ची उपत्यकाभित्र आउँदै थिई। चोट, मातृत्व र वर्षौं बितिसक्दा पनि ऊ सक्रिय थिई, मार्गदर्शन गरिरहेकी थिई र बाँचिरहेकी थिई। उसका पदचिह्नहरूले राजनीतिक सीमालाई वास्ता गर्ने कुरै भएन। वन्यजन्तु संरक्षण मानवले कोरेका रेखाभित्र सीमित हुन सक्दैन। उसको जीवन जोडिएको भूभाग सुरक्षित मार्ग र मानिस तथा सिकारीबीचको सहअस्तित्वमा निर्भर हुन्छ।
नेपालमा करिब ३९५ वटा हिमचितुवा रहेको अनुमान छ। यति सानो संख्यामा हरेक सफल आमाले भविष्यको दिशा बदल्छे। लाप्चीकी एकआखेँ रानी केवल बाँचिन, उसले आफ्नो प्रजातिको निरन्तरतामा प्रत्यक्ष योगदान पनि दिई। उसको कथाले प्रकृतिमा कमजोरी र पूर्णताबारेका धारणालाई चुनौती दिन्छ। यसले देखाउँछ- बचाइ कठिनाइबाट जोगिनु होइन, अनुकूलन, सिकाइ र निरन्तरताको परिणाम हो।
एकआखेँ आमाले प्रकृतिले दिएको आफ्नो भूमिका पूरा गरिसकेकी छे। ऊ असम्भवविरुद्ध बाँची, आफ्ना सन्तान हुर्काई, सीमाहरू पार गरी र हिमालयका प्राचीन मार्गहरू सिकाई।
उसलाई कहिल्यै थाहा हुनेछैन कि उसको जीवनले कति ठूलो प्रभाव पार्यो। उसले आफ्नो कथा पहाडपारि सुनाइरहेको देख्ने पनि छैन। तर, हिमालयका शान्त उचाइहरूमा उसको उत्तराधिकार अघि बढिरहेको छ- तीन जोडी चम्किला आँखाहरू, हराउन अस्वीकार गर्ने एक नेत्रको पछाडि। पूर्णतामा मोहित संसारमा एकआखेँ रानीले हामीलाई सिकाउँछे- सहनशीलता नै सबैभन्दा दुर्लभ र शक्तिशाली सौन्दर्य हो।
एकआखेँ रानीको कथा उसका डमरुहरू लाप्ची उपत्यकाका चट्टानमा हराएसँगै समाप्त हुँदैन। बरु, त्यहीँबाट यो कथा सुरु हुन्छ। उसका पदचिह्नहरूले देखाउँछन् कि हिमचितुवा कुनै एक गाउँ, उपत्यका वा देशका मात्र होइनन्। सीमास्तम्भ ५६ देखि मञ्जुश्री ताल, लाप्ची गाउँदेखि सीमास्तम्भ ५५ नजिकका वनसम्म उसका हिँडाइहरूले राजनीतिक सीमापार फैलिएका अदृश्य मार्गहरू कोर्छन्। उसका लागि नेपाल-चीन सीमा अर्थहीन छ; महत्त्वपूर्ण कुरा भनेको वासस्थानको निरन्तरता, सिकारको उपलब्धता र नडराई हिँड्न पाउने स्वतन्त्रता हो।
यसैले हिमचितुवा संरक्षण एक्लै सम्भव छैन। यसका लागि सीमापार सहकार्य आवश्यक छ; साझा अनुगमन र छिमेकी देशहरूबीचको प्रतिबद्धता। आज नेपालमा डमरु हुर्काइरहेकी हिमचितुवा भोलि चीनमा सिकार गरिरहेकी हुन सक्छ। सहकार्यविना संरक्षण प्रयास टुक्रिन्छन्, र प्रजाति अझै जोखिममा पर्छ।
स्थानीय समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। लाप्चीजस्ता स्थानमा आध्यात्मिक विश्वास, सांस्कृतिक मूल्य र परम्परागत पशुपालनले वन्यजन्तुप्रति सहिष्णुता र सम्मानको वातावरण बनाएका छन्। यी मानवीय मूल्यहरू संरक्षित क्षेत्र र वैज्ञानिक अध्ययनजत्तिकै आवश्यक छन्। संरक्षण केवल कानुन र गस्तीबाट होइन, सहअस्तित्व सहकार्यबाट सफल हुन्छ।
दीर्घकालीन अनुसन्धान, जस्तै क्यामेरा ट्र्याप अध्ययन, आनुवंशिक अनुसन्धान यस प्रयासको मेरुदण्ड हुन सक्छ। यसले क्षणिक भेटलाई ज्ञानमा, तथ्यलाई कथामा र अज्ञात जनावरलाई इतिहास भएका पात्रमा रूपान्तरण गर्छ। वर्षौंको धैर्यपूर्ण अनुगमनविना यी महान् आमा रहस्यमै सीमित रहने थिई। जलवायु परिवर्तन, वासस्थानको खण्डीकरण र मानव दबाबले उच्च हिमाल रूपान्तरण गरिरहेको यस समयमा हिमचितुवाको भविष्य चट्टान यी र हिमालभन्दा टाढा बस्ने मानिसले गर्ने निर्णयमा निर्भर छ।
एकआखेँ आमाले प्रकृतिले दिएको आफ्नो भूमिका पूरा गरिसकेकी छे। ऊ असम्भवविरुद्ध बाँची, आफ्ना सन्तान हुर्काई, सीमाहरू पार गरी र हिमालयका प्राचीन मार्गहरू सिकाई। अब जिम्मेवारी हामी मानव जातिको काँधमा आएको छ, ताकि उसको कथा अपवाद होइन, हिमचितुवा र तिनले शासन गर्ने पहाडहरूको संरक्षणका लागि भविष्यको वाचा बनोस्।