चुनाव
सुदूरपश्चिमको विकास र विसंगति दुवैका भागीदार बनेर बहिर्गमित भए देउवा
डडेल्धुरा। राजनीतिक जीवनमा अजेय साबित भएका शेरबहादुर देउवाविनाको मनोनयन मंगलबार डडेल्धुरामा दर्ता भयो। विगत साढे तीन दशकदेखि यस क्षेत्रमा मनोनयन दर्ता गराउँदै आएका देउवाको स्थानमा नेपाली कांग्रेसका विद्यार्थी नेता नैनसिंह महरले पहिलोपल्ट उम्मेदवारी दर्ता गराए।
देउवाको अनुपस्थितिमा डडेल्धुराको सिट भतिजा भानु देउवाले प्राप्त गर्ने स्थानीय कांग्रेसीहरूको अनुमान थियो। तर, सबैको अनुमानविपरीत महरलाई देउवाको राजनीतिक उत्तराधिकारीका रूपमा पार्टीले अगाडि बढाउने निर्णय गर्यो। यस घटनाले अहिले डडेल्धुराको राजनीति तातेको छ।
२०४८ सालको आम निर्वाचनपछि केन्द्रीय सत्तासँग जोडिएका देउवाले त्यसपछि फर्केर हेर्नुपरेन। साढे तीन दशक लामो संसदीय राजनीतिमा उनी पाँचपटक प्रधानमन्त्री नियुक्त भए।
आउँदो चुनावमा महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तारा जोशी, नेपाली कम्युनिस्ट पार्टीका मानसिंह माल, नेकपा (एमाले)का चक्र स्नेही रसाइली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायतलगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) ले यसअघि डडेल्धुराबाट देउवाका पूर्वप्रतिस्पर्धी सागर ढकाललाई उठाउने योजना बनाएका थिए, तर अन्त्यमा जोशीको उम्मेदवारी दर्ता भयो। जोशी पहिले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आबद्ध थिए। तर, उक्त पार्टी रास्वपामा विलय भएर पुनः छुट्टिँदा जोशी कुलमानसँग फर्किएनन्। यसैको चिट्ठा अहिले उनलाई परेको छ।
जेन-जी विद्रोहअघिसम्म केन्द्रीय राजनीतिका माहिर खेलाडी देउवाविनाको सुदूरपश्चिमको कल्पना गर्न पनि गाह्रो थियो। तर, अहिले परिस्थिति बदलिएको छ। साता दिनअघिसम्म पनि उनी अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्ने चर्चा थियो। जेन-जीको आक्रमणका कारण यसपालि देउवालाई सहानभूतिको भोट झर्ने धेरैले अनुमान गरेका थिए।

डडेल्धुराको रुवा खोला, असिग्राममा स्थानीय नेता कार्यकर्तासँग देउवा। तस्बिर : देउवाको फेसबुक
२०४८ सालदेखि सुदूरलाई चारतारेमय बनाउन देउवाको योगदान महत्त्वपूर्ण थियो। कुनैबेला उनी सर्वाधिक मतान्तरले विजयी हुने उम्मेदवार पनि थिए।
देउवा कांग्रेसभित्र गुटगत राजनीति गर्न माहिर मानिन्थे। तर, पछिल्लो समय उनले आफ्नै जिल्लाका नेता कर्ण मल्ल गुटको असहयोग सामना गर्नुपरेको थियो। उनको अनुपस्थितिमा मल्ल गुट आउँदो निर्वाचनमा पनि क्रियाशील रहने अनुमान छ।
यसपालि डडेल्धुरा मात्र होइन, सुदूरपश्चिमेली कांग्रेसीजनका लागि देउवाविनाको चुनाव अनौठो बन्नसक्छ। सुदूरमा देउवा नेतृत्वमा चुनाव सहभागी हुँदै आएका कांग्रेसीले आगामी दिनमा पनि उनको सक्रियताको अपेक्षा गरेका छन्।
देउवालाई पछ्याउँदै आएका नेता रमेश लेखक, एनपी साउद, दिलेन्द्रप्रसाद बडू, नरनारायण शाह, जनक गिरी, वीरबहादुर बलायर, नैनसिंह महरलगायतलाई अब देउवाको बिरासत थाम्ने चुनौती छँदै छ, उनीहरूबीच नेतृत्वको होडबाजीसमेत हुने आकलन गरिएको छ।
२०४८ सालको आम निर्वाचनपछि केन्द्रीय सत्तासँग जोडिएका देउवाले त्यसपछि फर्केर हेर्नुपरेन। साढे तीन दशक लामो संसदीय राजनीतिमा उनी पाँचपटक प्रधानमन्त्री नियुक्त भए। तर, जीवनको उत्तरार्द्धमा पार्टीका महामन्त्री गगनकुमार थापासँगको टकरावका कारण पार्टी राजनीतिबाटै बाहिरिने स्थिति बन्यो। रास्वपाका जिल्ला सचिव यादव ओझा भन्छन्, “पार्टीको असहमतिका बाबजुद संकटकाल लम्ब्याउने अडानका कारण देउवालाई प्रजातन्त्र दरबारमा बुझाएको आरोप लागेको थियो। कुनै बेला अक्षम मानिएका देउवा अनन्तः अक्षम नै बनेर राजनीतिबाट बिदा भए।”

कांग्रेसको विशेष महाधिवेशन। यही महाधिवेशनबाट देउवालाई विस्थापित गर्दै गगन थापा सभापति चुनिए। तस्बिर : नेपाल फोटो लाइब्रेरी
२०५८ सालमा उनले नेपाली कांग्रेसलाई चोइट्याएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए। तर, २०६४ सालको बदलिँदो परिस्थितिमा आफैँले चोइट्याएको कांग्रेसलाई मूलधारमा समाहित गराए।
पाँच दशक लामो राजनीतिक जीवनमा देउवा राष्ट्रिय राजनीतिको केन्द्रमा मात्र रहेनन्, सुदूरपश्चिम र डडेल्धुरावासीको विकासका सारथि पनि बने।
देउवालाई २०७४ र २०७९ सालको अप्ठेरो अवस्थामा निर्वाचन गराएको श्रेय जान्छ। उसो त उनका अगाडि उथलपुथलमय राजनीतिक अस्थिरता छर्लंग छ। दरबार हत्याकाण्ड, संकटकाल र जनयुद्धका उनी प्रत्यक्ष साक्षी हुन्।
सन्त नेता किसुनजीका विश्वासपात्र मानिने देउवाको राजनीति भने सत्ताकेन्द्रित रह्यो। २०५२ सालमा सत्तामै रहेका बेला अमेरिकी राजदूत जुलिया चाङको पहलमा तत्कालीन एक गैरसरकारी संस्था (गैसस)मा काम गर्ने आरजु राणासँग विवाह भएपछि अन्तर्राष्ट्रिय आँखामा परेका देउवाले जिल्लाका खाँटी कार्यकर्तासँग काम गर्न पाएनन्। २०७४ को निर्वाचनमा देउवाले आफूसँगै कैलाली-५ बाट पत्नी आरजुलाई उम्मेदवार बनाए। तथापि उनको यो प्रयोग पनि विफल भयो।
सुदूरपश्चिमको विकासमा भने देउवाको महत्त्वपूर्ण योगदान छ। गृहजिल्ला डडेल्धुरामा त देउवाको पहलमा अस्पताल, मेडिकल कलेज, चार लेन सडक योजनामार्फत ८५ करोड मुआब्जा वितरणलगायत काम भएको थियो। सदरमुकामबाट महाकाली, पञ्चेश्वर र पश्चिम सेती जोड्ने तीन राष्ट्रिय मार्ग र १० किलोमिटर लामो मध्यपहाडी लोकमार्गमा काम भइरहेको छ। भोट बैंक मानिने सुदूरपश्चिमका भित्री मधेसमा पनि देउवाले दुई महत्त्वपूर्ण पुल बनाएका छन्।
जिल्लावासीले चाहेजस्तो डडेल्धुरालाई शैक्षिक हब बनाउन भने देउवा चुके। उनले भन्ने गरेको पश्चिम सेती पनि उनकै राजनीतिजस्तो बूढो भएको छ। मुलुककै सर्वाधिक धनराशि खर्च गरेर बनाइएको गेटा मेडिकल कलेज निर्माणपश्चात् सञ्चालनमा आउन नसक्नुको कारण पनि देउवा नै हुन्। महाकालीमा चार लेन पुल बनेर पनि कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह नबन्नुमा पनि देउवालाई दोषी मानिन्छ।
अहिले कैलालीमा रानी जमरा सिँचाइ योजना निर्माणाधीन छ। एसियाली विकास बैंक (एडीबी)को सहयोगमा तराईका सहरको आधुनिकीकरण भए पनि पहाड यसबाट अछुतो छ। महाकाली र सेती करिडोर नबन्नु अनि दार्चुला र बझाङबाट चीनको तिब्बत जोड्ने सडक निर्माणमा ढिलाइ हुनुमा पनि देउवाकै कमजोरी हो।
तथापि, पाँच दशक लामो राजनीतिक जीवनमा देउवा राष्ट्रिय राजनीतिको केन्द्रमा मात्र रहेनन्, सुदूरपश्चिम र डडेल्धुरावासीको विकासका सारथि पनि बने। डडेल्धुरा नचिन्नेले पनि देउवा चिने। यस अर्थमा देउवा सुदूरपश्चिमको विकास र विसंगति दुवैका धेरथोर भागीदार हुन्।