दलबदल
निर्वाचन स्वच्छ र निष्पक्ष भए हाम्रो पार्टी पहिलो बन्छ : दाहाल
काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेसहित विभिन्न जिल्लाका ५२ युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन २०८२ मा काभ्रे १ का प्रतिनिधिसभा उम्मेदवार सूर्यमान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहालले नवप्रवेशी युवाहरूलाई खादा र माला लगाएर स्वागत गरे।
पार्टी प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिस्ट पार्टी र यसको नेतृत्वप्रति प्रतिबद्ध भई गोलबद्ध भएको दाबी गरे।
नवप्रवेशीलाई स्वागत गर्दै पार्टी संयोजक दाहालले देश वर्तमान संकटबाट मुक्त गराउन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पछिल्लो समय क्रान्तिकारी कम्युनिस्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको दाबी गरे।

चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको उनको भनाइ थियो।
“निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्न सक्छ‚” दाहालले भने‚ “कमरेडहरू अगाडि बढौँ। यो पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”