१० माघ २०८२
अ+
अ-

काठमाडौंआगामी २१ फागुनमा हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा अपेक्षाकृत कम चासो देखिएको छ। मागअनुसार उम्मेदवार उत्तीर्ण नभएपछि नेपाल प्रहरीले विभिन्न जिल्लामा आवेदनको समय पुनः थप गरेको छ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत पहाडी जिल्लामा आवश्यक संख्यामा निर्वाचन प्रहरी छनोट हुन नसकेपछि पुनः दरखास्त आह्वान गरिएको हो। परीक्षा प्रक्रिया सकिएपछि ती जिल्लामा दुई दिनको अतिरिक्त समय दिइँदै माघ १० र ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यसअघि धेरै जिल्लामा तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि एक हप्ताको म्याद थपिएको थियो। तर, म्याद थप्दा पनि अपेक्षित संख्यामा दरखास्त नपरेको प्रहरी अधिकारीहरू बताउँछन्। निर्वाचन प्रहरी भर्नामा यसरी मागभन्दा कम आवेदन परेको घटना पहिलोपटक भएको उनीहरूको भनाइ छ।

न्यून सेवा–सुविधाका कारण सर्वसाधारणको आकर्षण घटेको अनुमान गरिएको छ। ४० दिनका लागि भर्ना हुने निर्वाचन प्रहरीले प्रहरी जवान सरहको तलब र रासन सुविधा मात्रै पाउने व्यवस्था छ।

आगामी निर्वाचनका लागि नेपाल प्रहरीतर्फ १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। भर्ना भएका कर्मचारीलाई माघ १५ गतेदेखि तालिम दिन सुरु गर्ने योजना रहेको छ।