शैली

मजदुर, सेलिब्रेटीदेखि राष्ट्रप्रमुखसम्मको प्रिय पहिरन

१० माघ २०८२
अ+
अ-

पुरानी जिन्स और गिटार

मोहल्ले कि वह छत और मेरे यार

पाकिस्तानी गायक अलि हैदरको यो पप गीतले धेरै नेपालीसमेतलाई ९० को दशकमा पुर्‍याउँछ। उनीहरूलाई यस गीतले पुराना मित्र र पुरानो जिन्सको याद पनि दिलाउँदो हो।

गीतले भनेजस्तै आत्मीय सम्बन्ध र जिन्स उस्तै उस्तै हुन्– जति पुरानो, उति प्रिय। पुरानो जिन्सलाई टालो हुन्जेल सम्हालेर राख्नेमध्ये एक हुन् लेखक-प्राध्यापक अभि सुवेदी। जिन्स लगाउने सम्भवतः पहिलो पुस्तामै पर्ने उनी जिन्स प्रवेश गर्दैगर्दाको समयका साक्षी हुन्।

जिन्ससँगको सुरुआती साक्षात्कार स्मरण गर्दै भन्छन्, “मेरा हिप्पी मित्रहरू प्रायः सबैले जिन्स प्यान्ट लगाउँथे। यो मैलो र फाटेको अवस्थामा पनि लाउने वस्त्र थियो। तर, नेपालमा सजिलै उपलब्ध थिएन।”

काठमाडौँका युवाले सुरुमा हिप्पीहरूले लगाइसकेर मिल्काएको, पैसामा साटेको वा पैसा तिर्न नसकेर बन्धकी राखेका जिन्स लगाउने मौका पाए।

ग्राहकलाई जिन्स देखाउँदै न्युरोडका व्यापारी। तस्बिर : विक्रम राई

नेपालमा पर्यटन, मध्यम वर्गको संस्कृति र आधुनिकताबारे अनुसन्धान गरेका मार्क लिक्टीको पुस्तक सुटेब्ली मोडर्नमा नेपालमा जिन्सको आगमनको सन्दर्भ उल्लेख छ। जसअनुसार काठमाडौँमा जिन्स विदेशी पर्यटकहरूसँगै भित्रिएको हो। यसमा सन् १९६० को दशकको अन्त्य र सन् १९७० को दशकको सुरुआतमा आएका हिप्पीहरूसहितका युवा पर्यटकको मुख्य योगदान रह्यो।

लिक्टीका अनुसार, ‘त्यसअघिसम्म काठमाडौँ आउने थोरै पश्चिमी पर्यटकहरू प्रायः मिडल एज्ड, धनी र निश्चित महँगा होटलमै सीमित भएर बस्ने खालका थिए।’

युवा पर्यटकहरू सडकमा निर्धक्क घुम्न निस्किए र स­­हरसँग घुलमिल हुन थाले। यहाँका कला-संस्कृतिप्रति रुचि राख्ने ती युवा समूहले नेपाली युवामाझ पाश्चात्य रहनसहन, संगीत, साहित्य र पहिरनप्रति रुचि जगाए। जिन्स पश्चिमा युवा र नेपाली युवाबीच पहिचान बुझ्ने बुझाउने माध्यम पनि बन्यो।

हाल ८० वर्ष पुगेका लेखक अभि सुवेदी सन् १९७० को प्रारम्भिक वर्षमा युवा थिए। उनले एकदिन न्युरोडको मुन्चा हाउसमा जिन्स प्यान्ट आएको खबर पाए। मुन्चामा कवि रमेश श्रेष्ठ र अर्का एक साथीसहित पहिलोपटक जिन्स किनेको उनी सम्झन्छन्। “त्यो जिन्स प्यान्ट मैले धेरै लाएँ। मैलो हुन्थ्यो। धोयो, अनि सुकेपछि लगाइहाल्थेँ। प्यान्टको घुँडामा पकेट पनि थिए। टालो भइन्जेल पनि त्यो राखेको थिएँ,” थप्छन्, “पछि अरू जिन्सहरू आउन थाले। सडकमा फाट्टफुट्ट जिन्स लगाएर हिँड्नेहरू देखिन थाले।”

२०२१ सालतिरै धरानको ब्रिटिस क्याम्पमा विदेशी फिल्मको स्वाद चाखेका वसन्त थापाले २०२७ सालसम्म धरानमा जिन्स तिनै विदेशी फिल्ममा मात्रै देखे। उनको अनुभवमा त्यतिबेलासम्म रेडिमेड कपडाको चलन बसिसकेको थिएन। मानिसहरू टेलरमा सिलाएका लुगा लगाउँथे।

लिभाइजको जिन्स अल्टर गरिँदै। तस्बिर : विक्रम राई

वेस्टर्न/काउबोई फिल्मका कलाकारले जिन्स लगाएको देखेका उनी र उनका साथीहरूमा जिन्स लगाउने चाहना तीव्र थियो। हवाई चप्पल लगाउँदा फुर्ती बढ्ने समयका उनीहरूले लिभाइज जिन्सको नाम कण्ठ पारेको भए पनि यो पहिरन आम मान्छेले लगाउने समय आइसकेको थिएन।

जिन्स नेपालमा मात्र अप्राप्य थिएन। संसारका थुप्रै ठाउँका युवा समूहमा जिन्सको माग थियो, तर त्यो उपलब्ध थिएन। थापाले यो कुरा २०३० सालमा अध्ययनको सिलसिलामा सोभियत संघ पुगेपछि चाल पाए।

“मस्कोमा जिन्स प्यान्ट खोजी हिँडेको थिएँ। त्यो बेला सोभियत संघका जनता आफैँ जिन्स प्यान्ट नपाएर, जिन्स भनेपछि जेसुकै गर्न मरिहत्ते गर्दा रहेछन्,” थापा भन्छन्, “उनीहरूकहाँ उत्पादन हुँदैनथ्यो र आयात पनि हुँदैनथ्यो। क्रेमलिन डिपार्टमेन्टल स्टोरमा खोज्दा जिन्सजस्तै लाग्ने कपडा मात्रै पाइयो र त्यही किनेर फर्किएँ।”

त्यसको करिब चार वर्षपछि उनी कलकत्ताका आधुनिक स्टोरमा त्यसरी नै जिन्स खोज्न पुगेका थिए। तर, त्यहाँ पनि जिन्स नभएर जिन्सजस्तै कपडा मात्रै पाए। यसले २०३६ सालअघिसम्म जिन्स आममान्छेको पहुँचमा आइनसकेको प्रस्ट पार्छ।

फ्रिक स्ट्रिट र हिप्पीका कैयौँ किस्सा सुनेर हुर्किएका फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार आफूलाई हिप्पी युगपछिको पुस्ता भन्छन्। ताम्राकारका अनुसार उनको पुस्ताले अघिल्लो पुस्ताको जस्तो असहजता भोग्नुपरेन। पहिलोपटक हाडा जिन्स र त्यसपछि लिभाइज जिन्स लगाएका उनी २०४० को दशकको सुरुतिरैदेखि जिन्स थोरै मात्रामा भए पनि काठमाडौँको बजारमा उपलब्ध हुन थालेको बताउँछन्। ताम्राकार भन्छन्, “बेली बटम, ब्लक हिल सुजको समयपछिको फेसन डेनिम जिन्सतिर ढल्किएको थियो।” रकी जिन्सको ठूलो प्रभाव पनि देखेका छन् उनले। थप्छन्, “सञ्जय दत्तको फिल्म रकीपछि ग्यालेजमाथिसम्मको डेनिम जिन्स एकदम चलेको थियो।”

काठमाडौँमै जन्मेकी सगुना शाह जिन्स भन्नेबित्तिकै सानोमा आफूले लगाएको यस्तै रकी जिन्सको समयमा पुग्छिन्। “जिन्ससँगको मेरो सबैभन्दा पुरानो सम्बन्ध केटाकेटी हुँदा लगाएको ‘ओभर अल्स’ नै हुनुपर्छ। अक्सर कम्मरमुनि लाउने कुरो, छातीसम्म पकेट भएको र कुम माथिबाट पट्टी लगाउँथेँ। त्यो जिन्स लगाउँदा अनौठो लागेको थियो,” उनी भन्छिन्, “हामी दुइटी दिदीबहिनी र सानो बुवाका दुइटी छोरी, चार जनाले लुगामा झगडा गर्छन् भनेर होला, उस्तै उस्तै किन्दिन्थे। ओभर अल्स पनि सबैजनाको थियो।”

सुरुमा विदेशीमार्फत आएको जिन्सलाई झिटीगुन्टा व्यापारीहरूले बिस्तार गरे।

विगतमा विदेशी सामानप्रति अनुदार सरकारले विदेशबाट निश्चित सरसामान ल्याउने झिटीगुन्टाको सुविधा दिएपछि धेरै सामान ब्यांकक वा हङकङबाट भित्रिन थाल्यो। ठूलो गल्लावाल आठदश जनासम्म बटुलेर जान्थे र उनीहरू लुगाभित्र लुगा, लुगामाथि लुगा थोपरेर भुक्क परेर आउँथे।

“ब्यांकक एअरपोर्टको ट्वाइलेटमा व्यापारीहरूको भिड हुन्थ्यो। उनीहरू त्यहाँ लुगा लगाउने, सामान लुकाउने गर्थे। पिसाब फेर्न पालै नपाइने!” थापा आफू ब्यांकक पुग्दा देखेको कुरा बताउँछन्।

उनका अनुसार जिन्सलगायत अनेकथरी सामानको ठूलो व्यापार चलेको थियो। भारतको बजारसमेत नेपालबाट गएका विदेशी सामानले धानेको थियो। थुप्रै सामान अवैधानिक रूपमा भारत पुग्थे।

२०४७ सालदेखि रेडिमेड कपडा व्यापारमा सक्रिय कृष्णप्रसाद पराजुलीका अनुसार त्यतिबेला ३० किलोसम्म मात्र सामान ल्याउन पाइन्थ्यो। त्यसैले जिन्स नेपाल भित्रिए पनि यसको मागको तुलनामा आपूर्ति कम थियो। विभिन्न समयमा किस्ता किस्तामा भित्रिएको जिन्स सर्वसुलभ रूपमा पाइन थालेको धेरै भएको छैन। २०४६ सालको राजनीतिक परिवर्तन र खासगरी चीनको सीमाबाट ठूलो परिमाणमा सामान भित्रिन थालेपछि जिन्स सर्वसुलभ बन्न थालेको व्यवसायी पराजुली बताउँछन्।

३० वर्षअघि भृकुटीमण्डप गएर आफ्ना लागि पहिलोपटक जिन्स किन्ने राजेन्द्र खड्गी सन् १९९८ मा ब्यांककबाट जिन्स ल्याएर बेच्ने व्यवसायीमा पर्छन्। त्यतिबेलासम्म चीनबाट आयात सुरु भइनसकेको उनको भनाइ छ। भन्छन्, “पछि चीनबाट आयात हुन थालेपछि सस्तो भयो, व्यापक पनि बन्यो।”

किस्ता किस्तामा भित्रिएको जिन्स दुईतीन दशकयता सहरदेखि गाउँसम्म फैलिइसकेको छ। कुनै बेलाको अप्राप्य र महँगो जिनिस जिन्स सर्वसुलभ र बजेटअनुसार पाइने भइसकेको छ। जिन्स अब पहिरन मात्र रहेन, यो जीवनशैली बनिसक्यो।

कुनैबेला पुरुषले लगाउँदासमेत आवारा देख्ने यो समाजमा अचेल महिलापुरुष दुवैको सबैभन्दा ‘कम्फर्ट’ पहिरन हो, जिन्स। लेखक शाह भन्छिन्, “यही कम्फर्टनेसले गर्दा जिन्स मेरा लागि सधैँ मन पर्ने पहिरन बन्यो। सायद धेरैले जिन्स लगाउने एउटा मुख्य कारण यही हो।”

सहज भएकैले चुज र स्किनी, ग्रन्ज वा ब्यागी बनेर आकारप्रकार फेर्दा पनि हामीलाई जिन्स आफ्नै लाग्छ। यो च्यातेर, काटेर वा रंग फेरेर लगाउँदा पनि परिचित नै देखिन्छ। टिकाउ मात्र नभई सहज हुनु यसका अन्य विशेषता नै भइगए।

लेखक थापा भन्छन्, “कुनै छेकबार छैन, छ्यासमिस भएको छ। गाउँ गाउँ पुगिसक्यो। जिन्सले साँधसिमाना मेटाइदिएको छ, जुन अन्य लुगामा लागु नहुन सक्छ।”

हो पनि, पहिला पुरुष र महिलाका लुगा अलग थिए। प्यान्टको प्रचलन सुरु भएपछि यो दूरी घट्यो। जिन्स युनिसेक्स पहिरन भएकाले यसको ज्याकेट, प्यान्ट र हाफप्यान्ट पुरुष, महिला सबैले लगाउन सक्ने भए।

दौरामा जिन्स लगाएर र्‍याम्पमा मोडलिङ गरेका प्रशान्त ताम्राकार जिन्सलाई ‘जहाँ पनि, जेमा पनि फिट’ भन्छन्।

“साधारण वस्त्रजस्तै सामान्य रूपमा प्रयोग गर्दागर्दै पनि जिन्स लगाउँदा हरेकपटक नौलोपन महसुस हुन्छ,” प्राध्यापक सुवेदी भन्छन्। जुनसुकै हुलियामा नौलोपन महसुस गराउन सक्नु पनि जिन्सको विशेषता होला। नयाँ पुरानो सबै अवस्थामा, खुइलिँदा च्यातिँदा पनि, सबै रूपरंगमा पनि यसको आकर्षण र उपयोगिता घट्दैन। यस्तै विशेषताहरूले जिन्स संसारमै सबैभन्दा बढी रोजाइमा पर्ने पहिरनमा पर्छ।

जिन्सलाई अझै पनि औपचारिक पोसाक मानिँदैन। जिन्स लगाएकै कारण कतिपय ठूला खेलाडीहरू कारबाहीमा परेका छन्। अन्तर्राष्ट्रिय चेस फेडरेसनले विश्व चेस विजेता म्याग्नस कार्लसनलाई जिन्स लगाएकै कारण प्रतियोगिताका लागि अयोग्य ठहर्‍याएको थियो।

लेखक थापा जिन्स अनौपचारिक पहिरनको परिचायक बन्नु नै यसको ठूलो विशेषता मान्छन्।

तर, जिन्सको सबैभन्दा ठूलो विशेषता यसको आविष्कार र प्रयोजनको उद्देश्यमा भेटिन्छ। जिन्स स्टाइलिस पहिरनको खोज होइन, यो बलियो लुगाको उत्खननको उपज हो। गोठाला र खनिजमा काम गर्ने कामदारका लागि टिकाउ कपडाका रूपमा यसको प्रयोग सुरु भएको हो। यस्तो बलियो कपडाको प्रयोग युरोपमा माछा मार्ने, समुद्र वा खानीमा काम गर्ने कामदारहरूले प्रयोग गरेको पाइन्छ। तर, आधुनिक रूपमा सन् १८७३ मा ज्याकब डेभिस र लेभी स्ट्रसले यसलाई प्रयोगमा ल्याए। धातुको प्रयोग र बलियो सिलाइसमेतको यो कपडा अमेरिकामा मुख्यतः मजदुरलक्षित थियो, जो कपडा छिट्छिटो च्यातिने समस्या खेपिरहेका थिए।

जिन्स पहिरेका मजदुरहरू। तस्बिर स्रोत : द कट डटकम

‘अमेरिकामा सुनखानी’ पत्ता लागेपछि पूर्वबाट पश्चिमतर्फ सुनको खोजीमा हजारौँले कष्टकर यात्रा गरे। सुन छान्ने बेला नदीमा घुँडा धसेर बालुवा चाल्नुपर्‍यो। त्यसका लागि बलियो कपडा चाहियो, यसबारे थुप्रै कथा लेखिएको सन्दर्भ जोड्दै लेखक थापा भन्छन्, “त्यही आवश्यकताका लागि जिन्सको आविष्कार भयो। स्वाभाविक रूपमा त्यो मजदुरका लागि बनाइएको थियो। फेसन भन्ने कुरा थिएन।”

अचम्मको संयोग, अमेरिकामा मजदुरका लागि बनेको जिन्स यहीँका राष्ट्रपतिले लगाएर चर्चित बनाए। ह्वाइट हाउसदेखि विभिन्न सार्वजनिक ठाउँमा जिन्स लगाउने अमेरिकी राष्ट्रपतिहरूमा जिम्मी कार्टर, जर्ज एच बुस, बाराक ओबामा, रोनाल्ड रेगनसम्म पर्छन्।

जिन्सको स्वीकार्यतामा यस्ता घटनाको प्रभाव पर्‍यो नै। तर, जिन्सको विस्तारमा पत्रपत्रिका, संगीत, सिनेमा, सेलिब्रेटी र विज्ञापनले गरेको देखिन्छ।

मार्लोन ब्रान्डो अभिनीत द वाइल्ड वान (सन् १९५३)को उदाहरण हेरौँ। ‘ब्याड बोई’ छवि बोकेको चरित्र निर्वाह गरेका ब्रान्डोले यस फिल्ममा जिन्स लगाएका थिए। उनी जिन्सलाई कामदारको कपडाबाट सामाजिक मूल्य-मान्यताविपरीतको ‘छवि’ दिन सफल भए। फिल्मको सफलताले जिन्सलाई यति चर्चित बनाइदियो कि अमेरिकी विद्यालयहरूमा जिन्स लगाउन प्रतिबन्ध नै लगाउनुपर्‍यो।

ब्रान्डोअघि जोन वेनले वेस्टर्न/काउबोई फिल्महरूमार्फत जिन्सलाई कामदारको लुगाबाट आम मान्छे वा हिरोको लुगामा परिणत गरिसकेका थिए।

सन् १९५० र ६० दशकका संगीत र पहिरनले परिवर्तन र स्वतन्त्रताजस्ता मुद्दालाई प्रतीकात्मक आवाज दिए। जसलाई काउन्टर कल्चर फेसन पनि भनियो। रक एन्ड रोल, पंक, पप, रक, हेभी मेटल, आरएन्डबीदेखि र्‍यापसम्म संगीत र जिन्स एकअर्काका परिपूरक बनेका छन्। एल्भिस प्रिस्ले, द रोलिङ स्टोन्स, माइकल ज्याक्सन, म्याडोनादेखि निर्भाना, गन्स एन्ड रोजेज, पिंक फ्लोयड, माइकल लर्न्स टु रकलगायत धेरै संगीतकर्मीले कुनै न कुनै हिसाबले जिन्सलाई फेसनको हिस्सा बनाउन योगदान दिए। जिन्सको विज्ञापनमा समेत सेलिब्रेटीहरू नै प्रयोग भए।

भारतीय चर्चित फिल्म शोलेका अमिताभ र धर्मेन्द्र हुन् वा नेपाली फिल्म चिनोका शिव श्रेष्ठ, जिन्स प्यान्ट र जिन्स ज्याकेट आफ्नो समयको सबैभन्दा फेसनेबल पहिरनका रूपमा प्रयोग भएको देखिन्छ। यो सबै जिन्सलाई पहिचान दिने र जिन्सले पहिचान लिने क्रम-उपक्रमका रूपमा संसारभर चलिरहेको छ।

यसले हरेक पुस्तालाई प्रभावित पार्ने काम पनि गरिरहेको छ। शाह भन्छिन्, “म करिब ११ वर्षकी छँदा ठूलोबुवा र फुपूका छोराछोरीहरूमा पंक कल्चर हाबी थियो, त्यसको देखासिकी पनि खुबै गरियो। अंग्रेजी सिनेमा, संगीतले जस्तै त्यही हेर्दाहेर्दै जिन्सले पनि प्रभावित गर्‍यो।”

कोरियोग्राफर ताम्राकार काठमाडौँ सहरलाई नै फेसन सिटी मान्छन्। आफ्नो हुर्काइका आधारमा उनी सन् १९९० को दशकलाई जिन्सको फेसन चलेको समय मान्छन्। उनी गन्स एन्ड रोजेज, ह्वाम, मेटालिका, माइकल ज्याक्सनदेखि रक संगीतसम्म सुनेर हुर्के। र, त्यो अवधिदेखि अहिलेसम्म पनि संगीत, जिन्स र फेसन सँगसँगै हिँडेझैँ लाग्छ उनलाई।

शाहले अझै आफ्नी आमाले लगाएका दुई वटा जिन्स सम्हालेर राखेकी छन्।

अचेलको नयाँ ट्रेन्ड ब्यागी जिन्स लगाउन थालिसकेकी उनी आफूले लगभग सबैखालका जिन्स लगाएको दाबी गर्छिन्। फाटेको जिन्स (ग्रन्ज) खास मन पराउने उनी भन्छिन्, “सुरुमै आँखा फाटेको जिन्समा जान्छ।”

व्यवसायी पराजुलीले २०४२ सालमा एसएलसी दिने बेला अभिभावकसँग सर्त राखेका थिए। आफू एसएलसी उत्तीर्ण भए जिन्स किनिदिनुपर्ने उनको माग थियो। उनी पास भए, उनको माग पनि पूरा भयो।

पोखरा बजारमै हुर्केका उनले विदेशी पर्यटकले लगाउने जिन्समा आँखा गाडेका थिए। उनी सम्झन्छन्, “पछि क्याम्पस जाँदा त्यही जिन्सको पछाडिको खल्तीमा स्कार्फ झुन्ड्याएर हिँड्थेँ। कक्षामा जिन्स लगाएर जाने म मात्रै भएकाले सबैले मलाई नै हेरेजस्तो लाग्थ्यो।” उनका अनुसार २०४९ सालमा स्नातक तह पूरा गर्दासम्म जिन्स लगाउनेको संख्या निकै कम थियो।

आज पनि जिन्स उनको प्रिय पहिरन हो। २५ वर्षदेखि रेडिमेड कपडा व्यवसायमा संलग्न उनी पछिल्लो ट्रेन्डको ब्यागी जिन्स लगाउन आतुर रहेको बताउँछन्।

न्युरोडको एक पसलमा नोभेम्बर जिन्स प्यान्ट्स। तस्बिर : विक्रम राई

फेसन, पर्यटन वा दृश्य माध्यम जुनसुकै माध्यमबाट प्रवेश गरेको भए पनि नेपाली जीवनशैलीमा पराइ अनुहार बनेर आएको जिन्स नेपाली रङमा ढलिसकेको छ।

जिन्सको यस्तै रूपान्तरणका साक्षी बनेका केही व्यवसायी नेपाली जिन्स निकाल्ने कामसमेत गरिरहेका छन्। आधिकारिक ट्रेडमार्क लिएर सुरु भएका ब्रान्डहरूमा लेभल प्रिमियम जिन्स, भरजिन्स, एलभीडी, नोभेम्बर जिन्स, याक एन्ड म्याक, चिनोललगायत छन्। नेपालमा जिन्सको फ्याब्रिक उत्पादन नहुने भएकाले यो भारत र चीनबाट आउने बताउँछन्, भरजिन्सका संस्थापक सञ्जीव श्रेष्ठ। उनी मेसिन पनि धेरैजसो चिनियाँ नै प्रयोग हुने बताउँछन्। भन्छन्, “तर, उत्पादन नेपालमै हुने भएकाले नेपालीले रोजगारी पाउँछन्।”

पहिला नेपालमै बनेका जिन्समा पनि विदेशी ब्रान्डका नाम राखेर बेच्ने चलन थियो। आफ्नै ब्रान्ड स्थापित गर्ने प्रयत्न दुई दशकयता बढेको नोभेम्बर जिन्सका संस्थापक राजेन्द्र खड्गी बताउँछन्। उनले आफू जन्मेकै महिनाबाट ब्रान्डको नाम राखेका हुन्।

नेपाली जिन्स चाहिन्छ भन्ने सोच नेपाली व्यवसायीमा सन् २०१० तिरदेखि आएको लेभल प्रिमियम संस्थापक पराजुली बताउँछन्।

लेभल प्रिमियम जिन्सका साथमा कलाकार नाजिर हुसैन। तस्बिर स्रोत : लेभल प्रिमियमको सामाजिक सञ्जाल

नेपाली भन्नेबित्तिकै भाउ नपाइने, शंका गर्ने समयमा हामीले जिन्स बनाउन सुरु गरेका थियौँ, भन्छन्, “अहिले समय फेरियो। नेपाली ब्रान्डप्रति ग्राहकको भरोसा बढेको छ।”

यो विश्वासले नेपाली जिन्सको बजार विस्तारमा ठूलै फड्को मारेको देखिन्छ। व्यवसायी श्रेष्ठ भन्छन्, “पहिले नेपाली बजारमा जिन्स भनेपछि चाइनिज उत्पादनको वर्चस्व थियो। अहिले अवस्था फेरिएको छ। अहिले नेपाली जिन्सले चाइनिजलाई विस्थापित गर्दै छ। चीनबाट जिन्स आयात लगभग बन्द छ भन्दा हुन्छ।”

नेपाली ब्रान्डको जिन्स उत्पादन गर्ने समूहहरू सबै सफल छैनन्। कति त खुल्ने/बन्द हुने पनि भइरहन्छन्। स्थापित नेपाली ब्रान्डको संख्या अझै कम छ। व्यवसायी पराजुलीका अनुसार तीमध्ये पनि सबैले ‘मेड इन नेपाल’ लेखेर जिन्स उत्पादन गर्न अझै नसकेको उनको अनुभव छ। हाल पराजुलीको लेभल प्रिमियम जिन्स दुबई र कतारसम्म फैलिइसकेको छ।

विदेशीबाट स्वदेशी जिन्सतर्फको यात्रामा नेपाली पहिचान पनि जोडिएको छ। व्यवसायीहरू पराजुली, श्रेष्ठ र खड्गी तीनै जना भन्छन्, “हामी अर्काको जिन्स कति बेच्ने? आफ्नै ब्रान्ड, आफ्नै देशमा रोजगारी सिर्जना गर्ने सोचले नै नेपाली जिन्स उत्पादनमा लागेका हौँ।”