१० माघ २०८२
अ+
अ-

काठमाडौँ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आवको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको छ। बैंकको नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको छ। यो अपरिस्कृत विवरण हो।

बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज (शनिबार) आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए।

“हाल पुँजीबजार‚ निर्माण‚ सेवा‚ लगानी प्रवर्द्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्‚ यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ‚” उनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए।

कर्जा प्रवाह बढाउनु चुनौती भएको उनले स्वीकारे। उनले भने‚ “बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको तयारीमा छ। बैंकसँग अहिले कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयााको लगानीयोग्य रकम देखिए पनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्ने अवस्था छ।”

कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ भएको बैंकले चालु आवका ६ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब संकलन तथा १९ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ।