जनकपुर। मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ।
राष्ट्रिय सभाका लागि मधेसमा रिक्त रहेको चार स्थानका लागि भोलि (११ माघ) आइतबार निर्वाचन हुँदै छ।
मतदान अधिकृतको कार्यालयका अनुसार बिहान ९ देखि ३ बजेसम्मका लागि मतदान गर्ने समय निर्धारण गरिएको छ। महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान केन्द्र रहेको प्रदेश सभा सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखको छुट्टा-छुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ।
निर्वाचन अधिकृतको कार्यालका अनुसार मतदानका लागि सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ। निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार अन्य‚ महिला‚ दलित र अल्पसंख्यक/अपांगता भएका समूहतर्फ गरी चार सिटमा निर्वाचन हुन लागेकामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि मतपत्रमा उनीहरूको नाम भने रहनेछ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ। जसपा नेपालले ३‚ नेपाली कांग्रेसले २‚ नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १/१ सिटमा उम्मेदवारी दिएका छन्। लोसपा र जसपा मिलेपछि उम्मेदवारी दर्ता गराएका तीनजनाको नाम भने निष्क्रिय पारिएको छ।

महिला समूहमा जसपा नेपालकी चन्द्रकलादेवी साह‚ नेकपा एमालेकी रेखाकुमारी झा र नेकपाकी शमीकुमारी अग्रवाल उम्मेदवार छन्। दलितमा जसपा नेपालकी चमेलीदेवी दास‚ कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन्। यस्तै अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद‚ कांग्रेसका रन्जित कर्ण र जसपा नेपालका शैलेशकुमार चौधरी उम्मेदवार छन्।
अन्य समूहमा लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन्। मधेस प्रदेशमा १०० प्रदेशसभा सदस्य र २६४ स्थानीय तहका गरी ३६४ मतदाता छन्। मधेस प्रदेशमा १३ सिट रहेको जनमत पार्टीले उम्मेदवार दिएको छैन। ऊ अहिलेसम्म कुनै पनि गठबन्धनमा सहभागी छैन। तर जनमतले कसलाई मतदान गर्छ त्यो खुलेको छैन।