टिप्पणी
मालपानीले दिएको डिफेन्डर गाडी काण्डले बालेन क्रोनी क्यापिटलिज्मको मतियार नहुने ग्यारेन्टी देखिएन। ओली त अहिलेसम्म आसेपासे पुँजीवादका संरक्षक थिए नै, बालेन पनि ओलीमार्गमै अग्रसर देखिए।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत मात्रै गरेको छैन, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा पनि उतारेको छ। ओलीसँग भिड्न तयार भएर बालेनले आफ्नो राजनीतिक जीवनमा उच्च जोखिम लिएका छन्। उच्च जोखिम यस अर्थमा कि २०६४ सालको संविधानसभाको चुनावबाहेक आफ्ना प्रतिद्वन्द्वीलाई सधैँ १५/२० हजारको फराकिलो मतान्तरले पराजित गरेका ओलीसित उनको टकराव हुनेछ। जेन-जी आन्दोलनले सबैभन्दा ठूलो खलनायकका रूपमा प्रस्तुत गरेका र क्रोनी क्यापिटलिज्म (आसेपासे पुँजीवाद)का रक्षक भएको अपजस पाएका ओलीसँग करिब सैनिक अनुशासनमै दीक्षित एमालेको संगठन र कार्यकर्ता छन्।
मदन भण्डारीको उत्तराधिकारीका रूपमा एमालेलाई शक्तिशाली महासचिवको नेतृत्व दिएका माधवकुमार नेपाललाई ओलीले पार्टी अध्यक्ष भएपछि भित्तामा नै पुर्याइदिए। उनै ओलीसँग बालेनको चुनावी टक्कर हुनेछ। अब एमालेको क्लाइन्ट प्याट्रोन सम्बन्धले ओलीलाई कसरी बलियो बनाएको छ भन्ने चर्चा गरौँ। एमालेका चाहे संगठित सदस्य हुन् वा जनवर्गीय संगठनमा आबद्ध व्यक्ति, तिनले एमाले सत्तामा भएको बेला कुनै न कुनै रूपमा लाभ लिएका छन्। जस्तो– धादिङबेसीको एक होटलमा केही समयअघि यस पंक्तिकारले रात बिताउने मौका प्राप्त गरेको थियो। त्यस होटलका मालिक एमालेको जिल्लास्तरका मध्यमस्तरीय नेता थिए। उनी राज्यको कुनै महत्त्वपूर्ण पदमा त थिएनन्, तर उनको होटल चलाउन एमालेसँगको सम्बन्धले ठूलो सहयोग पुर्याएको थियो।
व्यापारीहरूले सामान आयात गर्दा कर छल्न दलका नेता र कर्मचारीसँग मिलेमतो गर्छन्। राज्यलाई न्यूनतम भन्सार तिरेर सामान भित्र्याउँछन् अनि ग्राहकलाई करसहितको महँगो मूल्यमा बेच्छन्। त्यसैबाट अकुत नाफा कमाउनु नै उनीहरूको उद्देश्य हुन्छ। यी काममा पनि पर्दापछाडि सबैभन्दा बढी एमाले, त्यसपछि कांग्रेस र माओवादीका नेता-कार्यकर्ता सक्रिय छन्।
अहिले पनि एमालेका जिल्लास्तरीय गतिविधि प्राय: उनको होटल वा पार्टी प्यालेसमै हुन्छ। त्यसकारण उनको होटलका धेरै ग्राहक एमाले कार्यकर्ता तथा नेताहरू नै हुन्छन्। त्यस्तै, एमालेले नेतृत्व गरेका नगर वा गाउँपालिकाकामा हुने तालिम, सेमिनार, गोष्ठी, भेलालगायत कार्यक्रम पनि उनकै होटलमा आयोजना गरिन्छन्। यसरी एमालेबाट फाइदा पाएपछि त्यस होटलका मालिक कसरी एमालेको क्लाइन्ट प्याट्रोन सम्बन्धबाट बाहिर निस्कन सक्लान्?
अब एमालेको जनवर्गीय संगठनको कुरा गरौँ। नेपालमा अहिले सरकारी स्कुलमा पढाउने एक लाख ८८ हजार ३४४ जति शिक्षक छन्। पञ्चायतकालमै सक्रिय शिक्षक संगठनमा सरकारी शिक्षकमध्ये आधाभन्दा बढी आबद्ध छन्। नेपालको सार्वजनिक शिक्षामा चरम राजनीतीकरण हुनुमा यस संगठनमा आबद्ध एमाले शिक्षकको भूमिका धेरै छ भनिन्छ। उनीहरूले एमालेको राजनीतिक संरक्षणको आडमा विद्यालयमा पढाउने कामभन्दा बढी पार्टी राजनीति गरेको टिप्पणी हुन्छ।
सरकारी स्कुलका शिक्षकहरूले पढाउन छाडेर खुलेआम दलीय राजनीति गरेकाले शिक्षकलाई दलमुक्त गर्न तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठ र हालसालै राजीनामा दिएका शिक्षामन्त्रीले महावीर पुनले निकै प्रयास गरेका थिए। तर, शिक्षकलाई दलमुक्त गर्ने दुवै मन्त्रीको प्रयास असफल भयो। यसमा पनि नेपालका सरकारी शिक्षक र ओलीको दल एमालेबीच क्लाइन्ट प्याट्रोन सम्बन्धले नै काम गरेको छ।
शिक्षकबाहेक पनि एमालेका अनेक पेसागत संगठन छन्। तिनमा पनि यही कुरा लागु हुन्छ। एमालेको संगठनभित्र चाहेर पनि पार्टी छोड्न नसक्ने कार्यकर्ता र समर्थकको संख्या धेरै छ। किनभने, त्यहाँ क्लाइन्ट प्याट्रोन सम्बन्ध छ।

मनोनयन दर्ता गर्न जाँदै गर्दा केपी शर्मा ओली। तस्बिर : ओलीको सचिवालय
अब चर्चा गरौँ, क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पुँजीवादको। मार्क्सवादी सिद्धान्तअनुसार पुँजीवाद भनेको मालिकले मजदुरलाई शोषण गर्ने व्यवस्था हो। एमाले आफूलाई कम्युनिस्ट भन्छ, तर व्यवहारमा चाहिँ उदार पुँजीवादी मान्ने कांग्रेसभन्दा बढी आसेपासे पुँजीवादको रक्षक बन्छ। नेपालमा शिक्षा, स्वास्थ्य, सहकारी र सार्वजनिक यातायात किन सुध्रिन सकेनन् भन्ने प्रश्नको जवाफ खोज्ने हो भने त्यसको जगमा क्रोनी क्यापिटलिज्मले काम गरेको छ।
पञ्चायती व्यवस्थाको उत्तरार्धतिर नेपालले उदार अर्थव्यवस्था अँगालिसकेको थियो र सरकारले नै निजी अस्पताल, स्कुल र बैंक स्थापनाको ढोका खोलिदिएको थियो। यही नीतिको सबैभन्दा धेरै फाइदा तत्कालीन माले र अहिलेको एमालेले उठाएको छ। कुनैबेला एमालेको समेत नेता रहेका अशोक राईको निजी स्कुल नै छ। पछि, उनै राई नै जसपाबाट शिक्षामन्त्री भए। निजी स्कुलकै सञ्चालक शिक्षामन्त्रीबाट हामीले सार्वजनिक शिक्षा सुधारको अपेक्षा कसरी गर्न सक्छौँ? यो त एउटा सानो उदारण मात्र हो, नेपालमा जति पनि निजी अस्पताल, स्कुल र सार्वजनिक यातायात छन्, ती सबैमा एमालेको ठूलो पंक्ति संलग्न छ।
वैज्ञानिक समाजवादी पार्टीका नेता आहुतिले धेरैपटक भनेका छन्– नेपालमा वास्तविक पुँजीवादको विकास भएकै छैन, बरु जताततै दलाल र नोकरशाही पुँजीवाद हाबी भएको छ। यसको अर्थ राजनीतिक संरक्षणमा उत्पादनभन्दा पनि सामान आयात गरेर बेच्ने र त्यसमा कर छलीलगायत कृत्यबाट अकुत नाफा कमाउने प्रवृत्ति छ। यसको सोझो सम्बन्ध क्रोनी क्यापिटलिज्मसँग हुन्छ। व्यापारीहरूले सामान आयात गर्दा कर छल्न दलका नेता र कर्मचारीसँग मिलेमतो गर्छन्। राज्यलाई न्यूनतम भन्सार तिरेर सामान भित्र्याउँछन् अनि ग्राहकलाई करसहितको महँगो मूल्यमा बेच्छन्। त्यसैबाट अकुत नाफा कमाउनु नै उनीहरूको उद्देश्य हुन्छ। यी काममा पनि पर्दापछाडि सबैभन्दा बढी एमाले, त्यसपछि कांग्रेस र माओवादीका नेता-कार्यकर्ता सक्रिय छन्।
एउटा प्रसिद्ध अंग्रेजी भनाइ छ : ‘नथिङ कम्स फ्री अफ कस्ट एक्सेप्ट फुड इन माउस ट्र्याप’ अर्थात् संसारमा सित्तैमा केही पाइँदैन, पाइन्छ भने त्यो मुसाको खोर मात्रै हो।
अब एकैछिन बालेन चढेको डिफेन्डर गाडीको कुरा गरौँ। नेपालमा यो गाडीको न्यूनतम मूल्य तीन करोडबाट सुरु भएर आठ करोड रुपैयाँसम्म पर्दो रहेछ। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा पोस्टअनुसार बालेनले चुनाव प्रचारका दौरान चढेको गाडी आठ करोड रुपैयाँको हो। तर, यो गाडी उनको होइन, यशोदा फुड्सले उत्पादन गर्ने करेन्ट चाउचाउ तथा श्रीराम टोवाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानीको हो। भन्न त बालेनका अन्धभक्तहरूले आठ करोड पर्ने गाडी चढ्ने हैसियत बालेनको पनि छ भनिरहेका छन्। तर, एउटा अनलाइनले गाडी मालपानीकै हो भन्ने कागजात नै सार्वजनिक गरिसकेको छ। त्यसैले बालेनले मालपानीको गाडी चढेकामा संशय रहेन।
बालेनलाई चुनावी प्रयोजनका लागि डिफेन्डर गाडी उपलब्ध गराउने पात्रको छवि एकदमै विवादास्पद छ। आफ्ना उत्पादनहरू चाउचाउ र गुट्खामा करोडौँको अन्त:शुल्क छली गरेर मुद्दासमेत चलाइएका व्यक्ति हुन् उनी। तर, तिनै पात्रले देशको भावी प्रधानमन्त्रीलाई महँगो गाडी उपलब्ध गराउनु संयोग मात्र होइन। पूर्ववर्ती सरकारबाट यिनले जसरी राज्यदोहन गरेका थिए, यदि चुनावपछि बालेन प्रधानमन्त्री भए भने उनीबाट पनि सक्दो फाइदा लिन अहिलेदेखि नै चाँजोपाँजो मिलाएका हुन सक्छन्। एउटा प्रसिद्ध अंग्रेजी भनाइ छ : ‘नथिङ कम्स फ्री अफ कस्ट एक्सेप्ट फुड इन माउस ट्र्याप’ अर्थात् संसारमा सित्तैमा केही पाइँदैन, पाइन्छ भने त्यो मुसाको खोर मात्रै हो।
बालेन काठमाडौँ महानगरको मेयर भएको साढे तीन वर्षको अवधिमा उनले भ्रष्टाचार गरे भनेर कसैले औँला उठाएको छैन। बालेनले युवालाई रोजगारी दिन युवा सीप मेला, सार्वजनिक विद्यालय सुधार र बुकफ्री फ्राइडेलगायत कैयौँ राम्रा कामको सुरुआत गरे। उनले काठमाडौँका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा संरक्षणको अभियान नै चलाए। काठमाडौँ महानगर विगतको तुलनामा सफा र सुन्दर देखिएको पनि छ।
यस्तै सकारात्मक कामले युवाहरूले वेटिङ प्राइम मिनिस्टरका रूपमा बालेनलाई हेरेका छन्। तर, मालपानीले दिएको डिफेन्डर गाडी काण्डले बालेन क्रोनी क्यापिटलिज्मको मतियार नहुने ग्यारेन्टी देखिएन। ओली त अहिलेसम्म आसेपासे पुँजीवादका संरक्षक थिए नै, बालेन पनि ओलीमार्गमै अग्रसर देखिए। बालेन आफूलाई सुधार्न चाहन्छन् भने विवादास्पद व्यापारी र आसेपासे पुँजीवादका हर्ताकर्ताले दिएको गाडी छोडेर आफ्नै हैसियतको गाडी चढून्। अन्यथा, ‘जुन जोगी आए पनि कानै चिरेको’ उखान चरितार्थ हुनेछ। त्यसले फेरि एकपटक नेपाली जनतालाई गम्भीर धोका हुनेछ।