काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय झन्डा प्रयोग गर्दा उच्च मर्यादा र गरिमा कायम गर्न सबैलाई आग्रह गरेको छ। झन्डा तथा राष्ट्रिय गानको अपमानजनक वा अवाञ्छित प्रयोग भएमा कानुनअनुसार कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ।
पार्टी तथा व्यक्तिले चुनाव तथा पार्टीका कार्यक्रमहरूमा राष्ट्रिय झन्डाको प्रयोग अत्यधिक गर्न थालेपछि मन्त्रालयले चेतावनी दिएको हो। गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय झन्डा तथा राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०७९’ कार्यान्वयनमा रहेको उल्लेख गर्दै त्यसको उल्लङ्घन नगर्न आग्रह गरेको छ। राष्ट्रिय झन्डा राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक भएकाले यसको प्रयोग मर्यादित, सम्मानजनक र कानुनी दायराभित्र हुनुपर्ने मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा राष्ट्रिय झन्डा च्यात्ने, जलाउने, जमिनमा तान्ने, फोहोर हुने ठाउँमा राख्ने वा अपमानजनक तरिकाले प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। त्यस्तै व्यापारिक तथा विज्ञापन प्रयोजनका लागि, जुत्ता, म्याट, पर्दा, पोस्टर, ब्यानर, कपडाका तल्लो भाग वा शरीरको तल्लो भागमा लगाइने वस्तुमा राष्ट्रिय झन्डाको प्रयोग गर्न निषेध गरिएको जनाइएको छ।
मन्त्रालयले निर्वाचन आचारसंहिता, २०७९ को पनि स्मरण गराउँदै निर्वाचनका बेला जुलुस, सभा, आमसभा, घरदैलो तथा प्रदर्शनका क्रममा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग नगर्न सचेत गराएको छ। १० वटाभन्दा बढी झन्डा प्रयोग गरे कानुनी कारबाही हुने मन्त्रालयको भनाइ छ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आ-आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झन्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि कार्यान्वयन भए/नभएको नियमित अनुगमन गर्न निर्देशन दिएको छ।
