विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन्।
विराटनगरमा युवाहरूसँग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघि बाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताए।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू “क्याम्पेन फर क्लिन पोलिटिक्स”को अभियानमा लागेको बताए । कोइरालाले भने, “युवाको माग र मुद्दामा मैले केही कञ्जुस्याइँ गरिनँ।”
जेनजी आन्दोलन भन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको कोइरालाले बताए।
“मैले विगतमै युवालाई तीन क्लष्टरमा बाँडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ। जस अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ। त्यो हुन सक्दा मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाइ हो।”
युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए। नेता कोइरालाले भने, “मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ।”