विराटनगर। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशमा १४ जना जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। विराटनगरमा आइतबार सम्पन्न मतदानमा पाँचजना प्रदेश सभा सदस्य र नौजना स्थानीय तहका पदाधिकारीले मतदान नगरेका हुन्।
राष्ट्रिय सभा निर्वाचन कार्यालयका अनुसार कोसी प्रदेशमा कुल मतदाताको संख्या प्रदेश सभातर्फ ९२ र स्थानीय तहतर्फ २६७ गरी ३५९ थियो। जसमध्ये ८७ जना प्रदेश सभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मात्र मतदान गरेको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
मतदान नगर्ने प्रदेश सभा सदस्य
प्रदेश सभातर्फ मतदान नगर्ने पाँच जनामध्ये नेपाली कांग्रेसकी लीलाकुमारी राई र नेकपा एमालेकी यशोदा कायस्थ छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसद सविना बजगाईं, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्माले पनि मतदान गरेनन्।
राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्ट र राप्रपाकै सांसद प्रेम थाम्सुहाङले भने मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मत खसालेका छन्।
मतदान नगर्ने स्थानीय तहका पदाधिकारी
स्थानीय तहतर्फ नौजना प्रमुख तथा उपप्रमुख मतदानमा अनुपस्थित रहे। सूचना अधिकारी बुढाथोकीका अनुसार मतदान नगर्नेमा एमालेबाट निर्वाचित भएका पाँचथरको याङवर गाउँपालिकाका अध्यक्ष भीम योङ्हाङ, कांग्रेसबाट निर्वाचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बू, राप्रपाबाट हल्दिवारी गाउँपालिकाको अध्यक्षमा निवाचित रवीन्द्र लिङ्देन, सोही पालिकाको उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपाबाटै भद्रपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी राधा कार्की, भोजपुरको आमचोक गाउँपालिका उपाध्यक्ष सीता राई, राप्रपाबाट निर्वाचित दमक नगरपालिकाको प्रमुख राम थापा, कांग्रेसबाट निर्वाचित सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको उपाध्यक्ष नावाङ लाक्पा शेर्पा र जसपाबाट निर्वाचित ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पा अनुपस्थित भएको सूचना अधिकारी बुढाथोकीले बताए।
यस्तो छ निर्वाचनको अवस्था
कोसी प्रदेशमा रिक्त तीन पदका लागि निर्वाचन भएको हो। जसमा ‘अन्य’ तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी दुई पद (महिला र दलित) का लागि चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
गठबन्धनका तर्फबाट नेकपा एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) चुनावी मैदानमा छन् भने अर्कोतर्फ नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपाने उम्मेदवार छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मतदानको गणना आजै साँझसम्म सकिने निर्वाचन कार्यालयले जनाएको छ।