विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट मेचे निर्वाचित भएकी हुन्। यसअघि अन्यतर्फ कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भएका थिए।
दलिततर्फको गणना जारी छ। गठबन्धनका तर्फबाट नेकपा एमालेका सोम पोर्तेल र नेकपाबाट खेम सुन्दास चुनावी मैदानमा छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशमा १४ जना जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। विराटनगरमा आइतबार सम्पन्न मतदानमा पाँचजना प्रदेश सभा सदस्य र नौजना स्थानीय तहका पदाधिकारीले मतदान नगरेका हुन्।
राष्ट्रिय सभा निर्वाचन कार्यालयका अनुसार कोसी प्रदेशमा कुल मतदाताको संख्या प्रदेश सभातर्फ ९२ र स्थानीय तहतर्फ २६७ गरी ३५९ थियो। जसमध्ये ८७ जना प्रदेश सभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मात्र मतदान गरेको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।