लुम्बिनी प्रदेश
तीन ठूला दल कांग्रेस, एमाले र नेकपाले एक एक जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउँदा रास्वपाबाट शून्य
बुटवल। आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरूको संख्या हेर्दा दलहरूले लैंगिक समानता, समावेशिता र सहभागितामूलक लोकतन्त्रको धज्जी उडाएको देखिन्छ।
१२ जिल्ला र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले एक एक जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन्। कांग्रेसले रुकुम पूर्वमा केन्द्रीय सदस्य कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ भने एमालेले बर्दिया २ मा विमला विक र नेकपाले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको छ। अर्को ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना पनि महिला उम्मेदवार छैनन्।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा ५९९ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा ५६ जना मात्र महिला थिए। यी ५६ मध्ये पनि केहीले पार्टीको निर्देशनबमोजिम त केहीले आफैँ उम्मेदवारी फिर्ता लिए।
जस्तो, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेबाट सुनिता ठठेरले प्रतिनिधिसभा सदस्यको टिकट पाएकी थिइन्। तर, उम्मेदवारी दर्ताको दिन बिहानै पार्टीबाट उनको टिकट प्रमोद यादवलाई दिने निर्णय भएको खबर आयो। एमाले रुपन्देहीकी उपसचिव तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहेकी ठठेरले कांग्रेस परित्याग गरेर आएका यादवलाई टिकट सुम्पिइन्। “प्रमोद यादवजीले कांग्रेसबाट टिकट पाउनुभएन, उहाँका लागि छाडिदिनुस् भनेपछि मैले छाडेँ,” उनी भन्छिन्।
अपांग महासंघ लुम्बिनी प्रदेशकी सदस्य सावित्रा घिमिरे पनि दलहरूले महिलालाई चुनावका लागि कठिन विकल्प दिने गरेकाले उनीहरूले रुचि नदेखाउने गरेको बताउँछिन्।
रुपन्देहीकै क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोनयन दर्ता गरेकी कर्भिका थापाले भने अमेरिकी स्थायी आवास अनुमतिपत्र (पीआर) त्यागेको तीन महिना पूरा नभएको भन्दै ९ माघमा उम्मेदवारी फिर्ता लिइन्।
रुपन्देही २ मा ११ जना महिलाले उम्मेदवारी दर्ता गराएकामा राजनीतिक दलबाट टिकट पाएका केवल चार जना थिए। तीमध्ये सार्वभौम नागरिक पार्टीकी कमलादेवी गुरुङको उम्मेदवारी खारेज भएको छ भने कर्भिकाले फिर्ता लिँदा अब केवल नौ जना महिला चुनावी मैदानमा छन्।
लुम्बिनीमा न्यून संख्याका महिला उम्मेदवारहरूका दलले विगतमा पाएको मतभार हेर्दा चुनाव जितिहाल्ने सम्भावना पनि कमै देखिन्छ। “चुनाव जित्नेजस्तो ठाउँमा महिलालाई टिकट नै दिइन्न, कसरी चुनाव जित्न सक्छन्?” एमालेमा विद्रोही नेत्रीको छवि बनाएकी विन्दा पाण्डे भन्छिन्।
पाण्डे राजनीतिक दलका नेतृत्वभित्र रहेको सत्ताको मोह र साँठगाँठले महिलालाई अघि बढ्न नदिने गरेको बताउँछिन्। उनी भन्छिन्, “दलका नेतृत्व तहमा पुगेका व्यक्तिहरू सजिलोसँग महिलालाई अघि बढ्न दिँदैनन्, यदि अघि बढाए भने उनीहरूले जे भन्यो त्यही गरे मात्रै त्यहाँ टिक्न सकिन्छ।”
अपांग महासंघ लुम्बिनी प्रदेशकी सदस्य सावित्रा घिमिरे पनि दलहरूले महिलालाई चुनावका लागि कठिन विकल्प दिने गरेकाले उनीहरूले रुचि नदेखाउने गरेको बताउँछिन्। “जहाँ चुनाव जित्न कठिन हुन्छ, त्यहाँ महिलालाई अघि सारेका धेरै उदाहरण छन्,” उनी भन्छिन्।
अधिकारकर्मी देवी वाग्ले महिलालाई अगाडि बढ्न घर र दल दुवैबाट अवरोध हुने तर्क गर्छिन्। “निर्णायक तहमा महिलालाई अगाडि बढाउनुपर्छ भनेर विधानमा होला, भाषणमा हुन्छ, व्यवहारमा भएन,” उनी भन्छिन्, “यो काम गर्छु भनेर म अगाडि बढेँ भने मलाई रोक्न घरमा दबाब दिइन्छ, त्यसपछि घरबाट भयो छाडिदेऊ भन्ने कुरा आउँछ, अनि महिला अगाडि बढ्न सक्दैनन्।”
महिला उम्मेदवारको संख्या कम देखिए पनि लुम्बिनी प्रदेशमा महिला मतदाताको संख्या भने कम छैन, पुरुष हाराहारी नै छ।
कतिपय अवस्थामा चुनावी खर्च, चुनावको खटनपटन, रातदिनको दौडधुप, चलखेल, शक्ति संघर्षमा महिलालाई विगतदेखि नै पर राख्ने गरिएको उनी बताउँछिन्। महिलालाई अवसर नदिने र दिइहाले पनि अह्रनखटन गर्ने दलहरूको प्रवृत्तिका कारण यसपालि धेरै महिलाले स्वतन्त्र उम्मेदवारी दिनेदेखि दल बदल्नेसम्म गरेका छन्।
पार्टीले टिकट नदिएपछि बाँके ३ मा भगवती शाहले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकी छन्। यस्तै, लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहिसकेकी कृष्णा केसीले नेपाली कम्युनिस्ट पार्टी त्यागेर बाँके १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिइन्। “दलभित्र एकलौटी र महिलालाई अवसर नदिने परम्परा नै बस्यो, त्यसैले अवसर नदिएपछि पद र पार्टी दुवै त्यागेँ,” उनी भन्छिन्।
अर्घाखाँचीमा पम्फा श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनी भन्छिन्, “हाम्रा लागि कसैले केही गरिदिने होइन, आफैँ गर्ने हो।”
महिला उम्मेदवारको संख्या कम देखिए पनि लुम्बिनी प्रदेशमा महिला मतदाताको संख्या भने कम छैन, पुरुष हाराहारी नै छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार ३३ लाख ८६ हजार ६८० मतदातामध्ये १६ लाख ७१ हजार ४७९ जना महिला र १७ लाख १५ हजार १६३ जना पुरुष छन्। प्रदेशमा ३९४ जनाले राजनीतिक दलबाट र २०५ जनाले प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कहाँबाट कसको उम्मेदवारी?
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार सबैभन्दा धेरै रुपन्देहीमा २१ जना महिलाले उम्मेदवारी दिएका छन्। तीमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ भने एक जनाले फिर्ता लिएकी छन्।
निर्वाचन कार्यालयले जारी गरेको उम्मेदवारको सूचीअनुसार रुपन्देही १ बाट जनमत पार्टीकी निलुकुमारी चौधरी र स्वतन्त्रबाट गीता सापकोटा उम्मेदवार छन्। रुपन्देही २ मा राप्रपाबाट कर्भिका थापा, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यान्जु, मंगोल नेसनल अर्गनाइजेसनबाट चन्द्रकुमारी गुरुङ, सार्वभौम नागरिक पार्टीबाट कमलादेवी गुरुङ, स्वतन्त्रबाट विमला भट्टराई, कमला बोहरा, सीता कुँवर, कमला शाह, सुशीला पुलामी, उमा भट्टराई र सीता शाहीको उम्मेदवारी परेको छ। यीमध्ये राप्रपाकी कर्भिकाले उम्मेदवारी फिर्ता लिइन् भने सार्वभौमकी कमलादेवीको उम्मेदवारी खारेज भएको छ।
रुपन्देही ३ मा नन्दकुमारी थापा र अन्जना थापाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ। रुपन्देही ४ मा नेमकिपाबाट कमल कोजू, आम जनता समाजवादी पार्टीबाट ज्योति थापा र स्वतन्त्रतर्फ शशिकला पाण्डेको उम्मेदवारी परेको छ।
रुपन्देही ५ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्दा थापा, नेसनल पब्लिक नेपाल पार्टीबाट केशु राजकोटी मगर र स्वतन्त्रबाट वसन्ती चमारको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
कपिलवस्तु १ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट नुमा विक र स्वतन्त्रबाट सकिना मुस्लिमको उम्मेदवारी परेको छ। कपिलवस्तु २ मा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मीकुमारी भण्डारी र राष्ट्रिय जनमुक्ति पार्टीबाट जामबन्नी भुजको उम्मेदवारी परेको छ।
गुल्मी १ मा नेमकिपाबाट मैयालक्ष्मी त्यात, आम जनता पार्टीबाट सिखा रेश्मी, स्वतन्त्रबाट मालता घिमिरे, हरिकुमारी श्रीसमगर र सरस्वती लम्सालको उम्मेदवारी परेको छ।
पाल्पा १ मा राष्ट्रिय जनमोर्चाबाट नरमती सिँजालीको उम्मेदवारी परेको छ भने पाल्पा २ मा नेमकिपाबाट कृष्णशोभा मुस्याख्वको उम्मेदवारी परेको छ। त्यसैगरी, अर्घाखाँचीमा पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा आजपाकी मायाकुमारी थापा, नेकपाकी सिन्धु जलेसा बुढाथोकी र स्वतन्त्रबाट गंगादेवी थारू महतोको उम्मेदवारी परेको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिम २ मा राष्ट्रिय जनमोर्चाबाट पार्वता पौडेल, नेमकिपाबाट रञ्जना सुवालले उम्मेदवारी दर्ता गराएका छन्।
रुकुम पूर्वमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र मंगोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगरको उम्मेदवारी दर्ता भएको छ। थापा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भिड्दै छिन्।
प्युठानमा नेकपा (माओवादी)बाट सीता विकको उम्मेदवारी परेको छ। दाङ २ मा स्वतन्त्रबाट विष्णुकुमारी भुसाल र कल्पना लामाको उम्मेदवारी परेको छ। दाङ ३ मा राष्ट्रिय जनमोर्चा पार्टीकी कमला जीसी, जनता समाजवादी पार्टीकी शोभा डाँगी, आजपाबाट पाण्डवी नेपालीको उम्मेदवारी परेको छ।
बाँके १ मा नेमकिपाबाट सुर्जा थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसीको उम्मेदवारी परेको छ। त्यसैगरी, बाँके ३ मा नेमकिपाबाट भूमि महतरा, आजपाबाट विद्या शर्मा र स्वतन्त्रबाट भगवती शाहको उम्मेदवारी परेको छ।
बर्दिया १ मा नेमकिपाबाट पवित्रा शाही, जनमत पार्टीबाट ज्योति योञ्जन र नेपाल जनमुक्ति पार्टीबाट चन्द्राकुमारी राजगुरुङको उम्मेदवारी पर्दा बर्दिया २ मा एमालेबाट विमला विक र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट नीता शर्माको उम्मेदवारी परेको छ।