काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

दैलेख। दैलेखको महाबु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। अन्य दुईजना सख्त घाइते भएका छन् ।

महाबु गाउँपालिका ५‚ कुटीमा आज (सोमबार) दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । मध्याह्न १२ बजेतिर भएको बँदेलको आक्रमणपछि सिंहको हेलिकोप्टरमार्फत उद्धारका लागि पहल गरिए पनि उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै मृत्यु भएको महाबु ५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए।

सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका ६‚ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट आजै दुईजना घाइते भएका छन् । घाइते हुनेमा दीपक सिँजाली र निकेश सिँजाली छन् । उनीहरू दुवैको अहिले जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतंक सिर्जना गरेको स्थानीयको भनाइ छ।

महाबु ४‚ गीताचौर स्वास्थ्यचौकीका इन्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भने, “बँदेलका कारण सर्वसाधारण त्रसित छन्। तत्काल नियन्त्रण नगरिए थप क्षति हुनसक्ने देखिन्छ ।”