काठमाडौँ। नेपालको राजनीतिक इतिहासमा पहिलोपटक समावेशी समाजवादी पार्टीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ। यस अवसरमा आज (सोमबार) पार्टीले अन्तर्क्रिया गरेको छ।
९ मंसिरमा निर्वाचन आयोगमा पार्टी दर्ता भएसँगै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन्। मोरङ ४ बाट नुमा लिम्बू, काठमाडौं १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा १ बाट पिंकी राई, रुपन्देही २ बाट देवेन्द्रबहादुर खत्री, काठमाडौँ १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रे १ बाट विनोद लामा उम्मेदवार बनेका छन्।

यसै पार्टीबाट लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनीलबाबु पन्तले जानकारी दिए। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए।
अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बूको भनाइ छ।