काठमाडौँ। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले महत्त्वपूर्ण योगदान दिने आठ जनालाई सम्मान गरेको छ।
सभाले आफ्नो ७७औँ स्थापना दिवस २०८२ का अवसरमा संस्थापक दिवंगत अमर फौजदार (बारा), प्रथम अध्यक्ष बलिबन्ठा थारू (रौतहट), संस्थापक महामन्त्री केवल चौधरी, संस्थापक चिरञ्जीवी चौधरी (जसले राणा प्रधानमन्त्री मोहनशमशेरबाट थाकसका लागि लालमोहर लिएका व्यक्ति), संस्थापक रामप्रसाद राय थारू, चुल्लाई थारू, महन्थराम चौधरी र हरिचरण चौधरीलाई मरणोपरान्त सम्मान गरेको हो।
कार्यक्रममा थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरीले सरकारसँग थारूका माग र मुद्दामा सधैँ लिखित रुपमा खबरदारी गर्दै आएको बताए। उनले भने, “अब थारू कल्याणकारिणी सभाले युवाहरूलाई समेटेर अगाडि बढ्छ।”
उनका अनुसार अब सभाको आफ्नै भवन बनाउने तयारीमा लागिरहेका बताए। “हामी आफ्नै भवन बनाउने तयारीमा छौँ‚” उनले भने। उनले सबैलाई यसमा सहयोगको आग्रह पनि गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष लक्की चौधरीले थाकसले आफ्नो इतिहास, वर्तमान र भविष्य युवाहरूको काँधमा जिम्मवारी दिनुपर्ने र लक्ष्यमा प्रस्ट हुनुपर्नेमा जोड दिए। सम्मानित हुने व्यक्तिका परिवारलाई प्रमुख अतिथि थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधकुमार सिंह, सभाका केन्द्रीय अध्यक्ष प्रेमिलाल चौधरी तथा पदाधिकारीहरूले सम्मानपत्र र खादा लगाइदिएका थिए।