काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै उनले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए। “अब म यहाँको भाषा‚ रहनसहन‚ वेशभूषा‚ संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो‚” उनले भने‚ “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनि मात्रै बोल्छु ।”

काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्‌मा धेरैपटक उठाएको उल्लेख गर्दै उनले यसपटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए। एकपटक भए पनि मधेसप्रति समर्पित नभई‚ मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रूपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे।