काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले गत २३ र २४ भदौको जेन-जी आन्दोलन र विध्वंशको मुख्य जिम्मेवार केपी ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकार रहेको दाबी गरेका छन्।
ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनले भनाइ थियो। ओली सरकारको जनताका आवाज नसुन्ने र बिचौलिया वर्गको सेवामा समर्पित हुने प्रवृत्ति मुलुक जल्नुको कारक रहेको आरोप उनको छ। उनका अनुसार आदोलनको पृष्ठभूमि निर्माण गर्ने काममा भने तत्कालीन प्रधानमन्त्री ओलीले सबैभन्दा बढी भूमिका खेलेको हो।
“भदौ २३ गते केपी ओली नेतृत्वको कांग्रेस-एमालेको गठबन्धन सरकारको भ्रष्ट, स्वेच्छाचारी दमनकारी र निरंकुश प्रवृत्तिविरुद्ध नवयुवाहरूमा गुम्सिएको असन्तोषको विस्फोट थियो,” राजधानीमा सोमबार आयोजित कार्यक्रममा पुनले भने, “जनताका आवाजलाई नसुन्ने बिचौलिया र स्वार्थ समूहको सेवामा मात्र काम गर्ने अनि जनताको मुख थुन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कामको जवाफ थियो त्यो।”
तर, २४ भदौको विध्वंशमा भने गलत तत्त्वको घुसपैठ भएको उनले औँल्याए। ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलिकोप्टरमा भागेपछि सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता धरोहर तथा व्यक्तिका घर र व्यावसायिक प्रतिष्ठानमा आगजनी र लुटपाट भएको पुनको भनाइ थियो।