जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका १९४ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ। जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदनशील, १०६ वटा संवेदनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ।
जिल्लामा मतदान केन्द्रको संख्या ६४५ छ। खुला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अतिसंवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ। नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए।
मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छन्। जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैंगिक तथा यौनिक अल्पसंख्यक (अन्य) १० जना मतदाता छन्। सो निर्वाचनमा ६ हजार ५०० कर्मचारी खटिनेछन्। खटिने कर्मचारीको विवरण संकलन भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन्।