काठमाडौँ। विशेष अदालतले नेपाल टेलिकमको टेरामक्स सम्बन्धित मुद्दामा खरिद सम्झोताबमोजिमको परीक्षण गर्न प्राविधिक परीक्षण गराई प्रतिवेदन पेस गर्न आदेश गरेको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेली कम्युनिकेसनविज्ञ केशव ज्ञवाली र आपूर्तिकर्तालाई प्राविधिक परीक्षण गराइ प्रतिवेदन पेस गर्न आदेश गरेको हो।
अख्तियारले टेरामक्समा तीन अर्ब २१ करोड ८३ लाख बिगो मागदाबी गर्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत १६ जनालाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, केन्द्रीय प्रहरी अनुसन्धानका विज्ञ रहनेगरी समूह गठनसमेत गरेको छ। खरिद भएका सामान जडान भइसकेकाले प्रणाली र सामानको गुणस्तर परीक्षण गर्न अदालतले आदेश गरेको हो।