काठमाडौँ। काठमाडौँको जमलस्थित नाचघरनजिकै पाँचवटा सवारीसाधन आपसमा ठोक्किएका छन्।
केशरमहलबाट जमलतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका सवारीसाधन जमलस्थित यलो प्यागोडा होटेल अगाडिको सडकमा ठोक्किएर मंगलबार भएको दुर्घटनामा चारजना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बा.प्र.०१९०२८ च ४५१२ नम्बरको भ्यान र बा.प्र.०२००५६ प ३९६७ नम्बरको स्कुटर (ईभी) जमलतर्फ जाँदै थिए। सोही समयमा विपरीत दिशाबाट आउँदै गरेका बा.३५प ९१४४ र बा.प्र.०२९०३१ प ३०७९ नम्बरका दुई मोटरसाइकल तथा बा.प्र.०१९००४ क ५३८१ नम्बरको हाइस भ्यान (ईभी) सँग ती सवारीसाधन ठोक्किएका थिए।
दुर्घटनामा ९१४४ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय ललितजंग सन्जेल र उनको पछाडि यात्रारत ३१ वर्षीया ईशु तामाङ घाइते भएका छन्। त्यस्तै ३०७९ नम्बरका मोटरसाइकलमा यात्रारत ३६ वर्षीया सुनीता वली बुढा र ३९६७ नम्बरका स्कुटर चालक ४० वर्षीय विजय श्रेष्ठ घाइते भएका छन्। घाइते सुनीताको राष्ट्रिय ट्रमा सेन्टर र अन्य तीनजनाको ग्रान्डी सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। ट्राफिक प्रहरीले दुर्घटनामा संलग्न पाँचै सवारीसाधन नियन्त्रणमा लिएको छ।