काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय कारागार जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरेका छन्।
गृहसचिव, शान्ति तथा सुरक्षा महाशाखा प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको टोलीसँगै गृहमन्त्रीले कारागार निरीक्षण गरेका हुन्। उनल सेवा-सुविधाको आवश्यक सुधारमा ध्यान दिन निर्देशन पनि दिए।
मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गरे। उनले त्यहाँका कैदी-बन्दीसँग भेट गरी उनीहरूका गुनासाबारे जानकारी लिएको अर्यालको सचिवालयले जनाएको छ। त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकका बन्दीसँग भेटेर राज्यका तर्फबाट उपलब्ध सुविधा प्राप्तिको अवस्थाबारे चासो जनाएका थिए।
अर्यालले कारागारमा रहेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीका सम्बन्धमा चिन्ता र चासो व्यक्त गरेका थिए। उनले कारागारहरूको निरीक्षणपछि बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए। त्यस्तै उनले कारागार कार्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताका लागि मन्त्रालयका तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाए।