काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

विभागीय बैठकमार्फत सम्पन्न कामको जानकारी र आगामी कामको सहजीकरण गर्ने क्रम जारी

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको हाजिरी सात दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छन्। चालु आवमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन्।

डंगोलले विभागीय र क्षेत्रगत कामको नतिजाका लागि गर्नुपर्ने सहजीकरणका विषयमा जानकारी लिइन्। शिक्षा विभागका अधिकारीसँगको छलफलमा उनले भनिन्‚ “नियमितता विद्यार्थीको मात्र होइन। शिक्षक र कर्मचारीको चाहिन्छ। दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ।”

उनले शैक्षिक सुधारका विषयमा ध्यान दिन पनि निर्देशन दिइन्। “हामी एसईईको नजिक छौँ। गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ‚” उनले भनिन्‚ “तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थपलगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु। तथ्यले नतिजामा सुधार देखिनुपर्छ। यसमा छुट सुविधा कसैलाई हुँदैन।”

छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सीपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो।

यस्तै दर्ता भएका तर सञ्चालनमा नरहेका विद्यालयहरूको खारेजी प्रक्रिया, सामाजिक विकास विभागअन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरूको व्यवस्थापन, विद्यालयस्तरका खेल र अतिरिक्त क्रियाकलापलगायत विषय समेटिएका थिए।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालसहित अधिकारीहरू सहभागी थिए।