चुनाव
पुरानै आश्वासन बोकेर घरदैलो गरिरहेका पुराना दल
प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा पूर्वमुख्यमन्त्रीदेखि गाउँपालिकाका पूर्वअध्यक्षसम्मका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ दल चुनावी मैदानमा छन्। यीमध्ये नेकपा (एमाले)का शेरधन राई (५५), नेपाली कांग्रेसका बालकृष्ण थापा (७३), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङ (५८) र श्रम संस्कृति पार्टीका ध्रुवराज राई (४३)बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
राष्ट्रिय राजनीतिमा जल्दोबल्दो शक्तिका रूपमा उदाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्य प्रभाव क्षेत्र सहरबजार रहेकाले भोजपुरसहितका पहाडी भेगमा पकड देखिँदैन।
शेरधन कोसी प्रदेशका पूर्वमुख्यमन्त्री र ध्रुवराज भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। बालकृष्ण कांग्रेसका पुराना नेता हुन् भने अजम्बर केन्द्रसम्म परिचित नेता हुन्। हर्क साम्पाङ नेतृत्वको नयाँ दलबाट उम्मेदवार बनेका ध्रुवराज प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक लड्दै छन्।
यस्तै, रास्वपाले भोजपुरमा रमेशकुमार ओझा (५१)लाई उम्मेदवार बनाएको छ।
अजम्बर र ध्रुवराज टेम्केमैयुङ गाउँपालिका-४ का बासिन्दासमेत हुन् भने रमेशकुमार र बालकृष्ण भोजपुर नगरपालिकाका स्थानीय निवासी हुन्।
नयाँ दलका युवा उम्मेदवार
गत मंसिरसम्म एमालेमा आबद्ध ध्रुवराज राई पुराना नेता र आफूभन्दा पाका उम्मेदवारसँग मात्रै भिडन्तमा छैनन्, एमालेमा रहँदाका आफ्ना नेताहरू शेरधन र अजम्बरसँग प्रतिस्पर्धामा उत्रिएका छन्। अर्थात्, गुरुहरूसँग चेलाले प्रतिस्पर्धा गर्दै छन्। एमालेको कोसी प्रदेश कमिटी सदस्य रहेका उनी एमाले नेतृत्वले जनता र कार्यकर्ताको भावनाविपरीत काम गरेको भन्दै गत २ पुसमा पार्टी त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
एमालेको विद्यार्थी राजनीतिबाट उदाएका उनी २०६४ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए। २०६२/६३ को दोस्रो जनआन्दोलनमा अग्रपंक्तिमा सहभागी भएका थिए। देशमा संघीयता लागु भएपछि २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराएर टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा विजयी भए। २०७९ सालको स्थानीय तह निर्वाचनमा भने कांग्रेसका सरोज बस्नेतसँग पराजित भए।
यसपटक उनी युवा पुस्ताको माग सम्बोधन गर्ने वाचासहित प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन्। भन्छन्, “विशेष गरी भ्रष्टाचार निवारण गर्ने जेन-जी आन्दोलनको सपना साकार पार्ने र भोजपुरलाई समृद्ध बनाउने प्रतिबद्धतासहित मेरो उम्मेदवारी रहेको छ।”
भदौ २०७४ मा शिलान्यास गरिएको उदयपुर र भोजपुरको दक्षिण-पश्चिम भेग जोड्ने सुनकोसी नदीको रानीटार मोटरेबल पुल हालसम्म बनेको छैन। पुल नबन्दा स्थानीयवासीले ज्यान जोखिममा पार्दै अस्थायी फेरीमार्फत आवतजावत गर्नुपर्ने बाध्यता छ।
रास्वपाले भोजपुरमा उम्मेदवार बनाएका रमेशकुमार ओझा मूलत: काठमाडौँकेन्द्रित पर्यटन व्यवसायी हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह (बालेन)निकट स्वतन्त्र उम्मेदवार थिए। बालेनको टिम चुनावको मुखमा रास्वपामा समाहित भएपछि उनी यस पार्टीबाट भोजपुरमा उम्मेदवार बनेका हुन्।
विकृति र विसंगतिविरुद्धको अजेन्डा लिएर चुनावी प्रचारप्रसारमा लागेको रमेशकुमार बताउँछन्। “युवाले वैदेशिक रोजगारीमा बेचिनु नपरोस्, देशभित्रै रोजगारी पाउने र उद्यमी बन्ने वातावरण बनोस् भन्ने हाम्रो पार्टीकै अजेन्डा हो,” उनी भन्छन्, “रास्वपा अनियमितताविरुद्धको अभियानमा भएकाले भोजभतेर र तामझाम गरेर चुनावी अभियानमा छैनौँ।”
पुराना अनुहार, पुरानै अजेन्डा
भोजपुरको दक्षिणी आमचोक गाउँपालिका-३ का स्थायी बासिन्दा शेरधन राई एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिव हुन्। २०४४ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी भोजपुरबाट छैटौँपटक उम्मेदवार बनेका छन्। उनले २०५६ सालको आम निर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचनमा जित हात पारे। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा भने पूर्वमाओवादीका सुदन किरातीसँग पराजित भएका थिए।

सुनबालुवामा निर्माणाधीन पक्की पुल। तस्बिर : हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको सचिवालय
उनी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका थिए। २०७४ सालमा कोसीका प्रथम मुख्यमन्त्री बनेका थिए।
एमालेभित्र पटक पटक अवसर पाउनेमध्येका शेरधन यसपटक पनि पुरानै अजेन्डा बोकेर मतदातासामु जाने योजनामा छन्। उनले संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टीगत अजेन्डा अगाडि सारेको भए पनि जिल्लागत अजेन्डा पुरानै छन्।
“गत २३ भदौमा शान्तिपूर्ण जेन-जी आन्दोलन जुन किसिमले हाइज्याक भयो, र संविधान र लोकतन्त्रमा प्रहार भएको छ, यसको रक्षा गर्न मेरो उम्मेदवारी रहेको छ,” उनी भन्छन्, “यसका साथै म सञ्चारमन्त्री र मुख्यमन्त्री पदबाट बाहिरिएपछि आएका नेतृत्वले निरन्तरता नदिँदा अधुरै रहेका चुहार पुल, सुनबालुवा पुल, रानीटार पुललगायत काम पूरा गर्ने र जिल्लाभर पूर्ण रूपमा टेलिफोन/इन्टरनेट सेवा पुर्याउने अजेन्डा लिएको छु।”
उनले भनेका अधुरा पुलहरू भोजपुरको दक्षिणी भेगलाई तराई र काठमाडौँसँग जोड्ने उद्देश्यले एक दशकयता निर्माण थालिएका हुन्। बाह्रै मास सवारीसाधन गुडाउन सकिने गरी सडक सञ्जाल सुधार्ने, कृषि उपजलाई बजारसँग जोड्ने र बसाइँसराइ रोक्ने कार्यक्रम ल्याउने पनि उनको योजना छ।
भोजपुरको दक्षिणी हतुवागढी-९ र उदयपुरको बेलका-७ मैनामैनी जोड्ने दूधकोसी नदीको चुहार मोटरेबल पुल उनी मुख्यमन्त्री हुँदा उद्घाटन गरेका थिए। दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालिका-प्यासिफिक जेभीले असोज २०७७ बाट निर्माण थालेको पुल दुई पिलर उठाएर छोडिएको थियो। पुलको उक्त संरचनामा पनि असोज २०८१ को बाढीले क्षति पुर्याएको थियो।

२१ वैशाख २०८० मा चुहार पुल अवलोकन गरिरहेकी भोजपुरबाट कोसी प्रदेशसभा सदस्य एमालेकी सिर्जना राई। तस्बिर : मिलन राईको फेसबुक
भदौ २०७४ मा शिलान्यास गरिएको उदयपुर र भोजपुरको दक्षिण-पश्चिम भेग जोड्ने सुनकोसी नदीको रानीटार मोटरेबल पुल हालसम्म बनेको छैन। पुल नबन्दा स्थानीयवासीले ज्यान जोखिममा पार्दै अस्थायी फेरीमार्फत आवतजावत गर्नुपर्ने बाध्यता छ।
भोजपुरको हतुवागढी गाउँपालिकालाई छिमेकी जिल्ला धनकुटासँग जोड्ने सुनबालुवा पक्की पुल निर्माणको सम्झौता भएको करिब एक दशक पुग्न लागेको छ। १२ साउन २०७६ मा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी-महावीर-मृत सञ्जीवनी जेभी ललितपुरले १३ साउन २०७३ मा ठेक्का सम्झौता गरेको उक्त पुलको पिलर उठाएर अलपत्र छोडेको छ।
कांग्रेसका पुराना नेता बालकृष्ण थापा दोस्रोपटक चुनावी दौडमा छन्। उनी एमालेका शेरधनसँग दोस्रोपटक प्रतिस्पर्धामा छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर २ बाट शेरधनसँग पराजित भएका थिए।
यसपटक भ्रष्टाचार र कुशासनविरुद्धको मुख्य अजेन्डा लिएर चुनावमा होमिएको बालकृष्ण बताउँछन्। “आजसम्म नेताहरूले भाषण मात्रै गर्यौँ, जनभावना सम्बोधन गर्न सकेनौँ भन्ने पार्टी नेतृत्वकै समीक्षाअनुसार चुनावमा मलाई पठाइएको छ,” उनी भन्छन्, “महँगी बढेको छ, मध्यम र उच्चवर्गीय खाडल बढेको छ, जनता मारमा परेका छन्, यसलाई नियन्त्रण गर्ने र जनभावनाअनुरूप काम गर्ने हाम्रो अजेन्डा हो।”
उम्मेदवारले पूरा गर्न सकिने अजेन्डा मात्रै अघि सार्नुपर्ने र मतदाताले विवेकसम्मत मताधिकारको प्रयोग गर्नुपर्ने भोजपुर बहुमुखी क्याम्पसकी अध्यापक सम्झना प्रधान सुझाव दिन्छिन्।
नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङ प्रतिनिधिसभा चुनावमा तेस्रोपटक मैदानमा छन्। असार २०६९ तिरै एमाले त्यागेका उनी संघीय समाजवादी पार्टीमा आबद्ध भएका थिए। उक्त पार्टीबाट २०७० सालको दोस्रो संविधानसभा चुनाव र २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा उठेका उनी दुवैमा पराजित भएका थिए। २०७४ सालमा उनलाई तत्कालीन एमाले नेता राजेन्द्र राईले पराजित गरेका थिए।
गत १९ कात्तिकमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत वाम दलहरूबीच एकता भएपछि बनेको नेकपामा उनी समाहित भए। यस पार्टीबाट उम्मेदवार बनेका उनलाई २०७४ सालमा पराजित गरेका उनै राजेन्द्रसहित पूर्वएकीकृत समाजवादी पार्टीलगायतले साथ दिँदै छन्।

रानीटार पुल नबन्दा सुनकोसी नदीमा फेरीबाट बस तारिँदै। तस्बिर : महेन्द्र राईको फेसबुक
चुनाव प्रचारमा उनले ग्रामीण किसान, महिला र युवाको जीवनस्तर फेर्ने नीति र कार्यक्रम ल्याउने अजेन्डा अघि सारेका छन्। “प्रतिनिधिसभाले मुख्यतया नीति र कानुन बनाउने भएकाले जिल्लावासीलाई प्रत्यक्ष लाभ पुग्ने नीति निर्माणमा मेरो भूमिका रहनेछ,” उनी भन्छन्, “यसका साथै भोजपुरको बृहत्तर विकासको गुरुयोजना बनाउन, सोहीअनुरूप काम गर्न र हालसम्मका अपूरा विकास-निर्माण पूरा गर्न मेरो उम्मेदवारी रहेको छ।”
मतदाताको विवेकको परीक्षा
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार र दलहरू चुनावी प्रचारमा लागिसकेका छन्। चार मुख्य प्रतिस्पर्धीमध्ये चुनावी परिणाम कसको पोल्टामा जान्छ भन्नेमा सबैको चासो छ। यसपालि भोजपुरमा मुख्य दलहरू गठबन्धनविना चुनाव भिड्न लागेकाले दलको शक्ति र जनाधारको पनि परीक्षण हुनेछ।
एमाले विभाजित हुनुअघिको मत यसपटक शेरधन, ध्रुवराज र अजम्बर तीनै जनालाई बाँडिने देखिन्छ। अजम्बरलाई नेपाली कम्युनिस्ट पार्टी गठन हुँदा समाहित भएको पूर्वएकीकृत समाजवादीलगायत दलहरूको साथ छ।
ध्रुवराजलाई पूर्वमाओवादी नेता सुदन किरातीले सघाउँदै छन्। माओवादी केन्द्र विघटनपछि पुष्पकमल दाहालको साथ छाडेका किराती प्रगतिशील लोकतान्त्रिक पार्टीमा छन्।
विगतका निर्वाचनताका कांग्रेसको केन्द्रीय तहका नेताहरू गुट-उपगुटमा विभाजित भएपछि जिल्लाको मतपरिणाम प्रभावित हुँदै आएकामा यसपटक भोजपुरका कांग्रेसी एकजुट देखिएका छन्।
उम्मेदवारले पूरा गर्न सकिने अजेन्डा मात्रै अघि सार्नुपर्ने र मतदाताले विवेकसम्मत मताधिकारको प्रयोग गर्नुपर्ने भोजपुर बहुमुखी क्याम्पसकी अध्यापक सम्झना प्रधान सुझाव दिन्छिन्। “यसअघिका चुनावमा जेजति अजेन्डा लिएर उम्मेदवारहरू हिँडेका थिए, ती भनेअनुसार पूरा भएका छैनन्, यसबाट मतदाताले के सिक्नुपर्छ भने झुटा आश्वासनमा नपरी सचेत भएर, उम्मेदवारका वाचा र घोषणापत्रको मूल्यांकन गरेर मात्रै मत दिनुपर्छ,” उनी भन्छिन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि कुल एक लाख २५ हजार ७६६ जना मतदाता छन्। निर्वाचनका लागि जिल्लाभर ८७ मतदानस्थल र १५५ मतदान केन्द्र तोकिएका छन्।
यस्तो छ विगतको चुनावी परिणाम
२०४६ सालको राजनीतिक परिवर्तनपछि २०७९ सालसम्म देशमा सात वटा आम निर्वाचन सम्पन्न भए। भोजपुरमा २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले लगातार जित हात पारेको देखिन्छ। २०४८ सालको निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट नरेन्द्र बस्नेत, २ बाट हेमराज राई र ३ बाट धनहर्क राई विजयी भएका थिए। २०५१ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट हेमराज राई र २ बाट धनहर्क राईले जित दोहोर्याए। २०५६ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट घनेन्द्र बस्नेत र २ बाट शेरधन राईले जिते।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शान्तिपूर्ण राजनीतिमा आएर पहिलोपटक चुनावमा सहभागी नेकपा (माओवादी)ले भोजपुरका दुवै क्षेत्रमा जित हात पार्यो। क्षेत्र नं. १ बाट पदम राई र २ बाट सुदन किराती विजयी भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट एमालेका कृपासुर शेर्पा र २ बाट माओवादीका सुदन किरातीले जिते।
संघीयता लागु भएपछि भोजपुरमा प्रतिनिधिसभा सदस्यका लागि एउटा क्षेत्र कायम भयो। २०७४ र २०७९ सालका दुवै निर्वाचनमा माओवादीकै सुदनले जिते। २०७४ सालको चुनावमा एमाले र माओवादीको वाम गठबन्धन थियो भने २०७९ सालमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो।