काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने ट्रम्पको घोषणा छ ।
उनले यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् ।
ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा बढी आयात शुल्क अर्थात् ट्यारिफ लगाउने नीति नै ‘रेसिप्रोकल ट्यारिफ’ हो ।
दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतामा ‘ठीकसँग कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्रम्पले ट्यारिफ वृद्धिको घोषणा गरेका हुन् ।
ट्रम्पका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ । अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाइसकेको ट्रम्पको भनाइ छ ।
यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको जनाएको छ ।
साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले जनाएको छ ।