काठमाडौँ। नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारलाई कारबाहीको माग गरिएको छ।
बाँके क्षेत्र ३ का रास्वपाका उम्मेदवारसमेत रहेका सुनारले अभिव्यक्ति राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरेको विषयमा छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज (बुधबार) ज्ञापनपत्र बुझाउँदै सुनारले समाज भड्काउने काम गरेको भन्दै छानबिन गर्न हिन्दु जागरण नेपालले माग गरेको हो।
सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै हिन्दु जागरण नेपालले सुनारको उम्मेदवारी खारेजीको माग गरेको हो। सुनारले राजनीतिक लाभका लागि आममानिसमा भ्रम फैलाउने, सामाजिक सद्भावमा असर पुर्याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेकाले त्यसको छानबिन गरिनुपर्ने ज्ञापनपत्रमा जोड दिइएको छ।
यस्ता अभिव्यक्तिले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनका प्रक्रिया अघि बढाउन नकारात्मक प्रभाव पार्ने भएकाले समयमै यस्ता गतिविधि रोकिनुपर्ने माग गरिएको छ। छानबिन गरी प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार सुनारलाई कारबाही गर्न माग गरिएको छ।