काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

प्रतिनिधिसभा चुनाव

आगामी चुनाव जितेर सातपटक सांसद बन्ने ओली दाउ, पुराना रेकर्ड तोड्ने बालेन रणनीति

१४ माघ २०८२
झापा ५ का एमाले उम्मेदवार केपी शर्मा ओली र रास्वपा उम्मेदवार बालेन्द्र शाह
अ+
अ-

झापा क्षेत्र नम्बर ५ यतिबेला निर्वाचन क्षेत्र मात्र रहेन, देशको राजनीतिक ‘इपिसेन्टर’ बनेको छ। एकातिर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो बिरासत छ भने अर्कातिर युवा पुस्ताको ढुकढुकी मानिएका काठमाडौँका पूर्वमेयर बालेन्द्र (बालेन) शाहको ‘क्रेज’। आसन्न २१ फागुनको प्रतिनिधिसभा चुनावमा हुने केपी-बालेनबीचकाे प्रतिस्पर्धाका कारण झापा ५ ले देशकै ध्यान तानेको छ। तर, स्थानीयका समस्या र मुद्दा उपेक्षामा परेका छन्।

हुन पनि झापा ५ यस्तो चुनावी मैदान बनेको छ, जसको नतिजा सार्वजनिक हुनेबित्तिकै प्रधानमन्त्रीका दुई दाबेदारमध्ये एक जना बाहिरिनेछन्। त्यसैले झापा ५ मा हुने निर्वाचनलाई दुवै उम्मेदवारले प्रतिष्ठाको लडाइँ बनाएका छन्। झापा ५ मा चार वटा पालिका पर्दछन्। कमल गाउँपालिकाका सात, गौरादह नगरपालिकाका आठ, गौरीगन्ज गाउँपालिकाका चार र दमक नगरपालिकाका १० वटा वडा यस क्षेत्रमा पर्दछन्। यहाँ एक लाख ६३ हजार ३७९ जना कुल मतदाता छन्। यसपालि नौ हजार ९० नयाँ मतदाता थपिएका छन्।

ओलीका लागि यो क्षेत्र विगत ३० वर्षदेखि सुरक्षित मानिएको थियो। अहिलेसम्म यस क्षेत्रबाट सातपटक निर्वाचन लडेका ओलीले २०६४ सालको संविधानसभा चुनावबाहेक ६ पटक जित हासिल गरेका छन्। उनी झापाबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालमा विजयी भए। ओलीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारी धेरैपटकका निकटतम प्रतिस्पर्धी हुन्। २०६४ सालमा भने तत्कालीन माओवादीका विश्वदीप लिङ्देनले ओलीलाई पराजित गरेका थिए। त्यसबेला ओली १२ सय मतान्तरले पराजित भएका थिए।

६ माघमा मनोनयन दर्ता गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली

यसपालि झापा ५ को चुनावी माहोल विगतभन्दा भिन्न हुने राजनीतिक विश्लेषकहरूको अनुमान छ। राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार यस चुनावमा कुनै पनि दलको गढ सुरक्षित छैन। “जेन-जी आन्दोलनपछि सबैको मथिंगल हल्लिएको छ। हरेक परिवारका युवा सदस्य विदेशमा छन्। यस भावनालाई बालेनले समातेका छन्,” पोखरेल भन्छन्, “यसपालि ओली ढुक्क हुने अवस्था छैन, बालेनको क्रेज भोटमा बदलिने सम्भावना प्रबल छ।”

६ माघमा उम्मेदवारी दर्ताका क्रममा ओली र बालेनको र्‍यालीले दमकको सडक पूरै भरिएको थियो। बालेनभन्दा करिब एक घण्टा ढिलो मनोनयन दर्ता गर्न पुगेका ओलीले भनेका थिए, ‘अघिल्लो चुनावमा मैले करिब ३० हजारको मतान्तरले जितेको थिएँ, यसपटक पनि परिणाम त्यस्तै आउनेछ।’ ओलीले २०७९ सालको चुनाव २८ हजार ५७६ मतान्तरले जितेका थिए। त्यसबेला ओलीले ५२ हजार ३१९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत मात्र पाएका थिए। त्यसबेला रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए।

झापा ५ को २०७९ को अन्तिम मतपरिणाम

बालेनको चुनावी र्‍यालीमा उत्रिएका युवाहरूको उत्साहले ओलीका समर्थकमा संशय पैदा गरेको छ। पन्चेबाजासहित दमकको ६ लेन सडक ढाक्ने गरी भएको बालेनको चुनावी यात्रामा समर्थकहरूको भीडले परिवर्तनको सन्देश दिएको थियो। झापा आउँदा ओलीले जसरी बालेन आफैँले चुनावबारे मुख खोलेका छैनन्। तर, उनको सचिवालयले चाहिँ बालेन ‘इतिहास रच्न झापा आएको’ दाबी गरेको छ।

झापा ५ मा ओली र बालेन मात्र होइन, अरू उम्मेदवार पनि चुनावी दौडमा छन्। त्यस क्षेत्रमा  १५ जना दलीय र नौ जना स्वतन्त्र गरी २४ जना उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धी ओली र बालेन भए पनि नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ अर्का बलिया उम्मेदवार हुन्। विद्यार्थी राजनीतिबाट उदाएका तामाङले आदिवासी जनजाति र सुकुमबासीका मुद्दालाई चुनावी अजेन्डा बनाएका छन्।

यसपटक नेपाली कांग्रेसले भने स्थानीय महिला नेत्री मंधरा चिमरियालाई अघि सारेको छ। विगतमा ओलीसँग तालमेल गर्ने गरेको राप्रपाले यसपटक भने आफ्नै उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलालाई मैदानमा उतारेको छ। त्यस्तै, धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट समीर तामाङ उम्मेदवार बनेका छन्।

झापा ५ मा केपी-बालेनजस्ता राष्ट्रिय नेता उम्मेदवार हुनु मतदाताका लागि खुसीको कुरा हो। तर, ठूला नेताको आगमनले स्थानीय समस्या उपेक्षामा पर्ने गरेको छ। गौरादह नगरपालिका-१ का कृष्ण श्रेष्ठ भन्छन्, “जताततै चुनावकै चर्चा छ, नेताकै चर्चा छ। हाम्रा समस्या सुन्ने फुर्सद कसैलाई छैन। त्यसैले यसपटक परिवर्तन चाहनेलाई भोट दिने योजना छ।’’

उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालतर्फ जाँदै गर्दा दमक चोकमा देखिएको रास्वपाका वरिष्ठ नेता बालेन शाह समर्थकको भीड

दमक ४ का बालकृष्ण श्रेष्ठ पनि यसपालि युवा पुस्तालाई पालो दिनुपर्ने तर्क गर्छन्। भन्छन्, “जसले पहिलेदेखि नेतृत्व गर्नुभयो, उहाँहरूलाई अब बिदाइ गर्नुपर्छ। देशलाई नयाँ भिजन र ऊर्जा भएको युवा पुस्ताको नेतृत्व चाहिएको छ।”

ओलीका कट्टर समर्थक गौरादह १ का रोहित सेन्चुरी भने विकासका लागि ओलीको विकल्प नभएको बताउँछन्। भन्छन्, “झापा ५ मा जे-जति विकास भएको छ, ओलीकै कारण सम्भव भएको हो। नयाँ आउनेहरूका नीति र भिजन स्पष्ट छैनन्, गफले मात्र देश चल्दैन।”

कमल गाउँपालिका-४ का निर्मल भट्टराई झापाका गाउँ गाउँसम्म चुनावी राप पुगिसकेको बताउँछन्। भन्छन्, “मनोनयन नहुन्जेल खासै चासो थिएन, तर अहिले ओली र बालेनको चर्चाले गाउँ तात्दै छ। हामी त भोट हाल्न तमतयार छौँ।”