रसुवा। रसुवाको उत्तरी भेकमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ। लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाँडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज (बुधबार) बिहानदेखि हिमपात हुन थालेको हो।
लाङ्टाङ क्षेत्रमा करिब एक इन्च हिउँ जमेको छ। घोडातबेलासम्म हिमपात भएको स्थानीयले बताएका छन्। राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ।
लाङ्टाङका आधिकांश बासिन्दा काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको गोसाइँकुण्ड गाउँपालिका ४ का वडाध्यक्ष ढिण्डुप तामाङले जानकारी दिए।
यसैबीच हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा पोषिलो झोलिलो खानेकुरा खुवाउने र धुवाँको असर नपर्ने न्यानो स्थानमा राख्न समुदायलाई अनुरोध गरे।
हाल हल्का रूपमा परिरहेको पानी क्रमशः बढ्दै जाने सम्भावना रहेकाले जमिन भिज्न गई खेतबारीमा चिसोपन बढ्ने र यसले हिउँदे बालीबाट आउने कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने किसान याकबहादुर लिम्बूले बताए। हिमपातसँगै रसुवाको उत्तरी भेगमा चिसो बढे पनि यसले पर्यटन र कृषि क्षेत्रमा दीर्घकालीन रूपमा सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ।
यो पनि…