काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

चुनाव

यसपटक दलहरू एक्लाएक्लै चुनाव लडेकाले पहिले हार्ने दल जितको आशामा

१४ माघ २०८२
०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा हजारभन्दा कम मतान्तरले जितेका उम्मेदवार
अ+
अ-

२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत दलले अनुकूलताका आधारमा चुनावी गठबन्धन गरेका थिए। मुख्य दलबीच गठबन्धनमार्फत सत्ता सुनिश्चित गर्ने र मुख्य पदको बाँडफाँड गर्ने चलन नै स्थापित भइसकेको थियो।

तर, जेन-जी विद्रोहपछि विकसित राजनीतिक परिदृश्यले दलहरूको गठबन्धन अभ्यासमा गहिरो प्रश्न उठायो। सत्ता सुनिश्चितताका नाममा हुने गठबन्धनले राजनीतिक कुसंस्कार, भ्रष्टाचार र असंवेदनशील शासन प्रणालीलाई मलजल गरेको आरोप व्यापक बन्यो।

परिणामस्वरूप २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको एउटा सुन्दर पक्ष के बनेको छ भने, मुख्य राजनीतिक दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्। पार्टीहरू आफ्नै आधार, उम्मेदवारको छवि र स्थानीय मुद्दामा निर्भर छन्।

अघिल्लो निर्वाचनमा झिनो अन्तर, उपनिर्वाचनमा फराकिलो अन्तर र अहिले फेरिएको उम्मेदवार संयोजनले इलाम २ लाई यसपटक पनि चासोको निर्वाचन क्षेत्र बनाएको छ।

एमाले रुकुम पूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सीमित तालमेलबाहेक देशभर एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र पार्टी एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएर संयुक्त रूपमा तर गठबन्धनविहीन अवस्थामा चुनावमा छन्। काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह समूहको प्रवेशले रास्वपा थप आत्मविश्वासी देखिन्छ।

दलहरू विनागठबन्धन चुनाव लड्दा परिणाम कस्तो आउँछ? उत्तर मतदाताकै निर्णयले दिनेछ। तर, गएको निर्वाचनमा झिनो मतान्तरले हार-जित भएका १६ निर्वाचन क्षेत्रहरूमा भने यसको सोझो प्रभाव पर्ने सम्भावना देखिन्छ। कुन कुन थिए त ती निर्वाचन क्षेत्र?

पूर्वी पहाडी जिल्ला पाँचथर १ बाटै सुरु गरौँ। यहाँ एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४६ मतान्तरले मात्र पराजित गरेका थिए। नेम्वाङले ३२ हजार १३५ मत पाउँदा आङ्देम्बेले ३२ हजार ८९ मत ल्याएका थिए।

यसपालिको निर्वाचनमा पाँचथर १ मा चुनावी समीकरण फेरिएको छ। एमाले र कांग्रेस दुवैले अघिल्ला उम्मेदवार दोहोर्‍याएका छैनन्। कांग्रेसले नरेन्द्रकुमार केरुङ र एमालेले अइन्द्रसुन्दर नेम्वाङलाई अघि सारेको छ। रास्वपाले महेन्द्रविक्रम थाम्सुहाङलाई उम्मेदवार बनाएको छ भने नेकपाले हर्कबहादुर नेम्वाङलाई। अघिल्लो निर्वाचनमा ४६ मत निर्णायक भएको यस क्षेत्रमा उम्मेदवार फेरिनु र नयाँ राजनीतिक शक्तिको प्रवेशले प्रतिस्पर्धा झन् रोचक हुने अनुमान छ।

इलाम २ मा पनि यही अवस्था थियो। यस क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए। मतान्तर थियो– ११४। नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा भने पक्षधरतामा उल्लेख्य परिवर्तन देखियो। एमालेका उम्मेदवार नेम्वाङकै छोरा सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उनै खड्काले २१ हजार ९४२ मत मात्र पाए। दुवैबीचको मतान्तर पाँच हजार ८३० मत पुगेको थियो।

यसपालि एमालेले सुहाङलाई नै दोहोर्‍याएको छ भने कांग्रेसले भेषराज आचार्यलाई अघि सारेको छ। अघिल्लो निर्वाचनमा झिनो अन्तर, उपनिर्वाचनमा फराकिलो अन्तर र अहिले फेरिएको उम्मेदवार संयोजनले इलाम २ लाई यसपटक पनि चासोको निर्वाचन क्षेत्र बनाएको छ।

धनुषा ४ मा एमालेका रघुवीर महासेठ पनि झिनो मतले विजयी नेता हुन्। महासेठले ३२ हजार २३६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका थिए।

मोरङ १ पनि कम मतान्तरले निर्णय भएको क्षेत्र हो। यहाँ कांग्रेसका डिगबहादुर लिम्बू २७ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत पाएका थिए। मतान्तर ४३० मात्र थियो। यसपटक एमालेले खतिवडालाई नै दोहोर्‍याएको छ भने कांग्रेसले खड्गबहादुर फागोलाई मैदानमा उतारेको छ। गठबन्धनविहीन चुनावी संरचनाले मोरङ १ लाई अझ प्रतिस्पर्धी बनाएको छ।

सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा)का अशोक राईले रास्वपाकी गोमा तामाङलाई पराजित गरे। तर, मतान्तर ४५३ मात्र थियो। राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ मत पाइन्। यसपटक श्रम संस्कृति पार्टी गठन गर्दै धरानका पूर्वमेयर हर्कराज राई मैदानमा उत्रिएकाले यो क्षेत्र थप चर्चामा छ। रास्वपाले भने तामाङलाई नै उम्मेदवार बनाएको छ।

सुनसरीकै निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ३० हजार ४८३ मतसहित विजयी हुँदा एमालेका जगदीश कुसियतले पनि ३० हजार ३७१ मत पाएका थिए। मतान्तर केवल ११२ थियो। यसपालि दुवै दलले पुरानै उम्मेदवारलाई दोहोर्‍याएका छन्। यहाँ कुनै नयाँ उम्मेदवारले समीकरण बिगार्नेभन्दा पनि पुरानै अनुहारहरूबीचको टक्कर निर्णायक हुने देखिन्छ।

२०७९ सालकै निर्वाचनमा धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव २० हजार ११२ मतसहित विजयी हुँदा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत पाएका थिए। मतान्तर १५७ मात्र थियो। यसपालि एमालेले अरगरियालाई नै उम्मेदवार बनाएको छ भने कांग्रेसले उम्मेदवार बदलेर दिनेशप्रसाद यादव परसैलालाई टिकट दिएको छ।

धनुषा ४ मा एमालेका रघुवीर महासेठ पनि झिनो मतले विजयी नेता हुन्। महासेठले ३२ हजार २३६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका थिए। दुवै पार्टीले यसपालि पनि पुरानै उम्मेदवार दोहोर्‍याएका छन्।

सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत पाएका थिए। मतान्तर ७७० थियो। एमालेले उप्रेतीलाई दोहोर्‍याएको छ भने नेकपाले नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २४ हजार २३९ मत ल्याएर जित्दा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत पाएका थिए। मतान्तर ९५७ मात्र थियो। यसपालि कांग्रेसले कबिर राणालाई उठाएको छ भने एमालेले बस्नेतलाई नै दोहोर्‍याएको छ।

बारा २ मा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मतसहित विजयी हुँदा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत पाएका थिए। मतान्तर केवल ३५४ थियो। यसपालि दुवै दलले उम्मेदवार बदलेका छन्। उक्त क्षेत्रमा जसपाले रामकिशोरप्रसाद यादवलाई उठाएको छ। नेकपाले भने रमेशप्रसाद यादवलाई उम्मेदवार बनाएको छ।

पर्सा ३ मा एमालेका राजकुमार गुप्ताले पनि १६७ मतान्तरले मात्र जितेका थिए। गुप्ताले २४ हजार ३१९ मत ल्याएका थिए भने कांग्रेसका सुरेन्द्र चौधरीले २४ हजार १५२ मत। उक्त क्षेत्रमा एमालेले यसपटक रूपेशकुमार पाण्डेयलाई उठाएको छ भने कांग्रेसले चौधरीलाई नै टिकट दिएको छ।

यस निर्वाचनमा भने काठमाडौँ १ का मतदाताले आफूलाई जिताउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र आशावादी छन्। यसको कारण हो, अघिल्लो निर्वाचनमा पाएको सम्मानजनक मत। कांग्रेसका प्रकाशमान सिंहले सात हजार १४३ मत ल्याएर जित्दा मिश्रले सात हजार १८ मत पाएका थिए। मतान्तर मात्र १२५। यसपटक कांग्रेसले प्रबल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ भने रास्वपाबाट रञ्जु न्यौपाने प्रतिस्पर्धामा उत्रिएकी छन्। झिनो मतान्तर, नयाँ उम्मेदवारको प्रवेश र पुरानो उम्मेदवारको दोहोर्‍याइ यी सबै तत्त्वले काठमाडौँ १ को चुनावी भिडन्त घमासान हुने देखिन्छ।

काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाएका थिए। मतान्तर ९९५ मात्र थियो। यसपालि पोखरेल मैदानमा छैनन्। एमालेले समेत उम्मेदवार बदलेर अजयक्रान्ति शाक्यलाई टिकट दिएको छ। रास्वपाका डोलप्रसाद अर्यालले पनि यही क्षेत्रबाट आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २४ हजार २३९ मत ल्याएर जित्दा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत पाएका थिए। मतान्तर ९५७ मात्र थियो। यसपालि कांग्रेसले कबिर राणालाई उठाएको छ भने एमालेले बस्नेतलाई नै दोहोर्‍याएको छ।

कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य ३९ हजार १४ मतसहित विजयी हुँदा एमालेका वृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३१७ मात्र थियो। उक्त क्षेत्रमा कांग्रेसले आचार्यलाई नै उम्मेदवार बनाएको छ। एमालेले भने गुप्ताको सट्टा दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ।

बझाङ १ मा एकीकृत समाजवादीका भानुभक्त जोशीले २८ हजार ४१३ मत ल्याउँदै विजयी हुँदा एमालेका ऐनबहादुर महरले २७ हजार ४१२ मतका साथ चुनौती दिएका थिए। मतको फरक जम्मा एक हजार एक मत मात्र थियो।

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी १३६ मतान्तरले मात्र विजयी भएका थिए। उनले २६ हजार ५२० मत पाएका थिए भने माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत। यसपालि चौधरी मैदानमा छैनन्। नेकपाले पन्थलाई नै उम्मेदवार बनाएको छ। एमालेले विमला विक र कांग्रेसले किशोरसिंह राठौरलाई उठाएका छन्।

दैलेख २ मा दिक्पालकुमार शाही पनि अर्का भाग्यमानी सांसद हुन्। कांग्रेसका शाही २० हजार १८३ मतसहित विजयी हुँदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ पाएका थिए। मतान्तर मात्र १६७। दुवै पार्टीले शाही र पोखरेललाई नै यसपटक पनि दोहोर्‍याएका छन्।

कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त २१ हजार ३९२ मतसहित विजयी हुँदा एमालेका नारदमुनि रानाले २० हजार ३९२ मत पाएका थिए। मतान्तर ठ्याक्कै एक हजार थियो। कांग्रेसले यस निर्वाचनमा नरनारायण शाहलाई मैदानमा उतारेको छ भने एमालेले पनि यज्ञराज ढुंगानालाई उम्मेदवार बनाएको छ।

बझाङ १ मा एकीकृत समाजवादीका भानुभक्त जोशी २८ हजार ४१३ मत ल्याउँदै विजयी हुँदा एमालेका ऐनबहादुर महरले २७ हजार ४१२ मतका साथ चुनौती दिएका थिए। मतको फरक जम्मा एक हजार एक मात्र थियो। यसपालि समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकता भएर नेकपा हुँदा उम्मेदवार बदलिएका छन्। नेकपाले मीनबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ भने एमालेले महरलाई नै दोहोर्‍याएको छ। कांग्रेसले प्रकाश स्नेही रसाइलीलाई उम्मेदवार बनाएको छ। पहिले समाजवादीलाई सघाएको क्षेत्रमा कांग्रेसले आफ्नै उम्मेदवार उठाएकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

यसबाहेक कम मतान्तरमा विजयी हुनेमा तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ (एक हजार ७६ मतान्तर), मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल (एक हजार २०८ मतान्तर), सिरहा २ मा जसपाका राजकिशोर यादव (एक हजार १५० मतान्तर), महोत्तरी १ मा एमालेका लक्ष्मी महतो कोइरी (एक हजार ३० मतान्तर) थिए।