काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

कास्की। पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यु डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

महिलातर्फ न्यु डायमन्डले आज थाइल्यान्डको क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी आजको दोस्रो खेलमा न्यु डायमन्डले थाइल्यान्डलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। न्यु डायमन्डले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पारेको हो। न्यु डायमन्ड अपराजित रहँदै यसअघि नै फाइनलमा पुगिसकेको छ।

थाइल्यान्ड पराजित भएसँगै चार खेलबाट सात अङ्क जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो। थाइल्यान्डले चार खेलबाट ६ अङ्क प्राप्त गर्‍यो। अब महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्स र एपीएफबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानका लागि बिहीबार र फाइनल खेल १७ माघमा हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोली सहभागी छन्। ‘सिङ्गल राउन्ड रोबिन’का आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन हुने टोलीले समान नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ‚ ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले नगद तीन लाख ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले नगद एक लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डीबी नेपालीले जानकारी दिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ रुपैयाँ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद ११ हजार ६६६ रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। -रासस