काठमाडौँ। बारा परवानीपुरमा एकै परिवारका दुई जनाको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका ७‚ बन्जरिया टोलका २७ वर्षीय धर्मेन्द्र महतो धानुक र परवानीपुर गाउँपालिका १‚ रहरिया डिहकी २३ वर्षीया मनितादेवी मण्डल छन्।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार १४ माघको बिहान २ बजे परवानीपुर १ की ४६ वर्षीया सुमित्रा मण्डल र उनका छोरा ३१ वर्षीय रामईश्वर मण्डलको हत्या भएको थियो।
५० वर्षीय जगरूप मण्डलको घरमा प्रवेश गरी उनीहरूले हत्या गरेको प्रहरी उपरीक्षक कुँवर बताउँछन्। घाँटीमा छुरा प्रहार गर्दा आमा-छोराको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए।
घाइते हुनेमा जगरूप र उनकी छोरी २१ वर्षीय रिनाकुमारी छन्। उनीहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी उपरीक्षक कुँवरका अनुसार दुवै जनालाई विश्रामपुर गाउँपालिका ४‚ मसहर्वाबाट भारततर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको हो। वैदेशिक रोजगारीमा दुबई रहेका धर्मेन्द्र ११ माघमा मात्रै नेपाल आएका थिए।
उनी नेपाल आएपछि मनितासँग नियमित सम्पर्कमा बसेका थिए। यसपछि मनितादेवीसँग हत्याको योजना बनाएको कुँवर बताउँछन्। मनितादेवी मृतक सुमित्राकी बुहारी तथा रामईश्वरकी श्रीमती हुन्। मनिताको धर्मेन्द्रसँग विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ। “सो कुरा घरमा थाहा भएपछि हत्याको योजना बनाएको देखिन्छ,” कुँवरले भने।
मनिताले घरमा विवाद हुन थालेको बताएपछि दुबईमा रहेका धर्मेन्द्र नेपाल फर्किएका थिए। “उक्त कुरा मनिताबाहेक गाउँमा कसैलाई पनि थाहा थिएन,” कुँवर भन्छन्। नेपाल आएपछि धर्मेन्द्र मनितासँग नियमित सम्पर्कमा बसेका थिए। मनितासँग मिलेर योजना बनाएर अनुकूल समयमा हत्या गरेको कुँवरले बताए।