काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

१५ माघ २०८२
अ+
अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र म्यान्चेस्टर सिटी लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

न्युकासल युनाइटेडले भने प्लेअफ खेल्ने छ ।गएराति भएको अन्तिम लिग खेलमा पाँचवटै टोलीले जित निकाल्दा न्युकासलले भने बराबरी खेल्यो । आर्सनलले काइरातलाई ३–२ गोलअन्तरले पराजित गर्‍यो । आर्सनलले ८ खेलमै जित निकालेर २४ अंक जोडेर शीर्षस्थानमा रह्यो ।

लिभरपुलले काराबागलाई ६–० को फराकिलो अन्तरले पराजित गर्‍यो । लिभरपुल ८ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो । टोटनहमले फ्रान्कफर्टलाई २–० ले पराजित गर्‍यो । टोटनहम १७ अंकका साथ चौथोमा रह्यो ।

यस्तै चेल्सीले नापोलीलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । चेल्सी १६ अंकका साथ छैटौं स्थानमा रह्यो । म्यान्चेस्टर सिटीले गालातासारेलाई २-० ले हराउँदै आठौं स्थानमा रहेर अन्तिम १६ का लागि छनोट हुन सफल भयो ।

न्युकासलले भने पीएसजीसँग १–१ गोलको बराबरी खेल्दा शीर्ष ८ भित्र पर्न सकेन र १२औं स्थानमा रहेर प्लेअफका लागि छनोट भयो ।

च्याम्पियन्स लिगका ३६ टोलीमध्ये शीर्ष ८ ले सिधै अन्तिम १६ खेल्न पाउँछन् भने नवौंदेखि २४औं स्थानसम्मका टोलीले प्लेअफ खेल्दा बाँकी १२ टोली बाहिरिने छन् ।