प्रतिनिधि निर्वाचन
५४.७ प्रतिशत मात्रै साक्षर, महिला साक्षरता ४६.५ प्रतिशत
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनाव लड्ने घोषणासँगै सर्लाही क्षेत्र नम्बर ४ चर्चामा छ। २०७० सालको संविधानसभा निर्वाचनयताका तीन चुनावमा लगातार जितेको काठमाडौँ ४ छाडेर थापा यसपालि तराई झरेका छन्।
मानव विकास सूचकांकमा कमजोर रहेको मधेस प्रदेशमा सर्लाही जिल्लामै सबैभन्दा पिछडिएको क्षेत्रमा पर्छ, थापाले उम्मेदवारी दिएको सर्लाही ४। यो क्षेत्र शिक्षा, सहरीकरण, बाल विवाहलगायत सूचकमा कमजोर छ।
काठमाडौँ ४ शतप्रतिशत सहरी क्षेत्र हो भने सर्लाही ४ पुछारबाट नवौँ स्थान माथि छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार दुई लाख २० हजार ८७ जनसंख्या रहेको सर्लाही ४ का ८.७ प्रतिशत मानिस मात्रै सहरी क्षेत्रमा बस्छन्। बाँकी जनसंख्या (९१.३ प्रतिशत) अर्धसहरी क्षेत्रमा बस्छन्। जबकि, नेपालको कुल जनसंख्याको २७ प्रतिशत सहरमा बस्छन्।
सर्लाही ४ अन्तर्गत धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र गोडैटा नगरपालिका पर्छन्। यस्तै, बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, र १५ नम्बर वडा, बसबरिया गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा विष्णु गाउँपालिकाका वडा नम्बर १ देखि ४ सम्म यस निर्वाचन क्षेत्रभित्र पर्छन्।
सरकारी तथ्यांकअनुसार सर्लाही ४ निर्वाचन क्षेत्रका करिब आधा मानिस निरक्षर छन्। गत साउनमा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको निर्वाचन क्षेत्रअनुसारको जनसांख्यिक प्रतिवेदनअनुसार सो क्षेत्रमा पाँच वर्षभन्दा माथिका एक लाख ९५ हजार ८९२ जना रहेकामा तीमध्ये ५४.७ प्रतिशत मानिस मात्रै साक्षर छन्। जबकि, नेपालको साक्षरता दर ७६.२ प्रतिशत छ।
देशभरिमै सबैभन्दा कम साक्षरता दर रहेको निर्वाचन क्षेत्र भने मधेस प्रदेशकै रौतहट २ हो। उक्त क्षेत्रको साक्षरता दर ५२.४ प्रतिशत छ।
सर्लाही ४ को साक्षरता दर लैंगिक रूपमा केलाउँदा अवस्था झन् खराब देखिन्छ। तथ्यांकअनुसार सो क्षेत्रमा आधाभन्दा बढी महिला निरक्षर छन्। ४६.५ प्रतिशत महिला मात्रै साक्षर छन्। जबकि, पुरुष साक्षरता दर ६२.६ प्रतिशत छ।
यो संख्या १५ वर्षभन्दा बढी उमेरसमूहमा अझै बढी छ। यस उमेरसमूहका ६५ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष निरक्षर छन्।
मध्यमस्तरको स्वास्थ्य जोखिम भएको परिवारको संख्या सर्लाही ४ मा ५५.७ प्रतिशत छ। जबकि, देशभरिमा यो संख्या २५.३ प्रतिशत छ।
त्यसैगरी, सर्लाही ४ उमेर नपुगेका बालिकाको विवाह बढी हुने शीर्ष १० निर्वाचन क्षेत्रभित्र पर्छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये बालिकाको विवाह बढी हुनेमा सो क्षेत्र दशौँ स्थानमा छ। त्यहाँका करिब ३५ प्रतिशत बालिकाको विवाह हुन्छ। बालकको सन्दर्भमा भने यो संख्या करिब ६ प्रतिशत छ।
सर्लाही ४ महिला घरमुली कम रहेका निर्वाचन क्षेत्रमध्ये छैटौँ स्थानमा छ। सो क्षेत्रमा रहेको ३५ हजार ५६८ परिवारमध्ये महिला घरमुली रहेको परिवार ११.१ प्रतिशत मात्रै छन्। यो संख्या राष्ट्रिय औसतभन्दा करिब दुई तिहाइले कम हो। देशभर महिला घरमुली भएको परिवारको संख्या ३१ प्रतिशत छ। यो सूचकमा सबैभन्दा अगाडि प्युठान (४७.६) र सबैभन्दा पछाडि पर्सा ३ निर्वाचन क्षेत्र (६.६) छ।
तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार सर्लाही ४ मा बसोबास गर्नेहरूमध्ये सबैभन्दा ठूलो संख्या ‘तराईको जनजाति’ को छ। सो क्षेत्रमा उक्त समुदायको संख्या दुई तिहाइभन्दा बढी (७२ प्रतिशत) छ। जबकि, देशभरमा यो संख्या १६ प्रतिशत मात्रै छ।
उक्त क्षेत्रमा शौचालय नभएको परिवारको संख्या १०.९७ प्रतिशत छ। यस्तै, खानेपानीको धारामा ९.५ प्रतिशत मानिसको मात्र पहुँच छ। ९० प्रतिशतले पानीका लागि ट्युबवेलको प्रयोग गर्छन्। सो क्षेत्रका ५७ प्रतिशत जनता कच्ची घरमा बस्छन् भने ३९.६ प्रतिशत परिवार न्यून गुणस्तरको घरमा बस्छन्।
सर्लाही ४ मा मोबाइल फोन नभएका परिवारको संख्या १२.५ प्रतिशत छ।
सो निर्वाचन क्षेत्रमा रहेका १० वर्षभन्दा बढी उमेरका ८२ हजार ५७२ महिलामध्ये दुई तिहाइ विवाहित छन् भने एकल महिला ५.२ प्रतिशत छन्।
प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सर्लाही ४ मा कुल ३० जना उम्मेदवार मैदानमा छन्। जसमध्ये १३ जना राजनीतिक दलका हुन् भने १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उम्मेदवारमध्ये दुई जना महिला छन्।
कांग्रेसबाट सभापति थापा, एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह र जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादव प्रतिस्पर्धामा छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अमरेशकुमारले स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका थिए।