काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ।
जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।
“लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ‚” परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने। त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सप्राइज’ चेकजाँच पनि गरिरहेको उनको भनाइ छ।
प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरूको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए। “संवेदनशील स्थानमा सेना, सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त गस्ती थालेका छौँ‚” उनले भने, “विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ।”
प्रमुख थापाले निर्वाचनविरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिबारे सूचना सङ्कलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पारे।