काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक संस्कार परिवर्तनको आवश्यकता औंल्याउँदै काम, नतिजा र जवाफदेहितालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले विकासलाई भाषण र बहानाभन्दा माथि राख्नुपर्ने उल्लेख गरेका छन् । “हामी कुरा होइन, काम गर्छौँ; बहाना होइन, परिणाम देखाउँछौँ,” भन्दै उनले तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीको अस्थायी डाइभर्सन निर्माणलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।
उनका अनुसार मंसिर ५ गते गरिएको स्थलगत निरीक्षणका क्रममा १४ वर्षदेखि कमला पुल नबन्दा स्थानीयले भोग्दै आएको जोखिमपूर्ण यात्रा, लामो घुम्ती र आर्थिक क्षति प्रत्यक्ष देखिएको थियो । त्यसपछि ह्युम पाइप प्रयोग गरी अस्थायी आवतजावतको व्यवस्था गर्न निर्देशन दिइयो—र त्यो निर्देशन कागजमै सीमित नरही कार्यान्वयनमा पुगेको उनले बताएका छन् ।
डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुले राहत महसुस गर्न थालेको उल्लेख गर्दै घिसिङले लामो समयदेखि अलपत्र रहेको ४६९ मिटर लामो कमला पुल पनि अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनले समयमै काम नगरे ठेक्का तोडिने स्पष्ट चेतावनी, नियमित अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज पुल निर्माण यथार्थ बन्दै गएको दाबी गरे ।
“रुग्ण ठेक्कामा कठोर निर्णय, निरन्तर अनुगमन र परिणाममुखी हस्तक्षेप—यही हो नयाँ राजनीतिक संस्कार,” भन्दै घिसिङले विकासको मापन भाषणले होइन, जनताले पाउने राहतले हुनुपर्ने सन्देश दिएका छन् ।