काठमाडौँ। पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गर्दै तीन खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ।
पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ७ वर्षपछि हराएको हो। यसअघि सन् २०१८ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ३३ रनले हराएको थियो।
गएराति लाहोरमा पाकिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका क्यारुन ग्रीनले सबैभन्दा धेरै ३६ रन बनाए । पाकिस्तानका सइम अयुब र अब्रार अहमदले २/२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनायो । पाकिस्तानका सइम अयुबले ४० रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले ४ विकेट लिए।
योसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ।