काठमाडौ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकेको छ।
निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, र्याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो।
निर्वाचन आचार-संहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, र्याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न नपाउने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
निर्वाचन आचारसंहितामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था छ।
त्यस अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ।
आचार संहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ। त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ।