काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

काठमाडौँ। मङ्गलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएपछि प्रभावित भएको जनजीवन आजदेखि सामान्य बनेको छ ।

वर्षा र हिमपातले ठाउँठाउँमा यातायात आवागन तथा जनजीवन प्रभावित भएको थियो । हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ पर्दा अवरुद्ध भएको सडक आज साँझसम्ममा हिउँ पन्छाएर आवागमन सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरीले आज अपराह्न मुस्ताङ जाने बाटोमा परेको हिउँसमेत पन्छाएको छ । अन्य विभिन्न क्षेत्रमा हिउँले अवरुद्ध भएको राजमार्ग खुलेको छ । सुरक्षा निकायको सक्रियतामा हिउँ पन्छाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हिजो अपराह्नदेखि मौसममा सुधार आई आज बिहानैदेखि घाम लाग्दा दैनिक जनजीवन सामान्य भएको प्रहरीको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिएर धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो कायम रहने हुँदा चिसोबाट जोगिन अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने हल्का हिमपात र वर्षा हुने उनले बताए । तर मङ्गलबार र बुधबारको जस्तो अवस्था आइतबारसम्मलाई नरहेको उनले बताए ।

पछिल्लो प्रणाली विकास हुँदा काठमाडौँ उपत्यकासहित पश्चिम कोशी र मधेस प्रदेशबाहेकमा वर्षा र हिमपात भएको थियो । यसपाली सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटरसम्म भएको थियो । आज साँझको मौसम बुलेटिनअनुसार अहिले जुम्लामा माइनस ४।५ डिग्री, जोमसोममा शून्य डिग्री, दोलखाको जिरीमा माइनस शून्य दशमलव ८ डिग्री न्यूनतम तापक्रम रहेको छ ।

काठमाडौँमा ४.८, ताप्लेजुङमा ५.९, दिपायलमा ५.५ डिग्री न्यूनतम तापक्रम रहेको छ ।