काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शान्ति‚ सुशासन‚ सामाजिक न्याय‚ समावेशी विकास र विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताएका छन्।
राष्ट्रिय सहिद दिवस‚ २०८२ को अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोलमा आयोजित सहिद स्मृति स्तम्भ उद्घाटनमा उनले यस्तो बताएका हुन्। उनले राष्ट्रका लागि विभिन्न समयमा जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात-अज्ञात वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे।
राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको अधिकारको संरक्षणमा कुनै सम्झौता नगरिने उनको भनाइ छ। उनले आजको पुस्ताले सहिदहरूको आदर्शबाट प्रेरणा लिएर इमानदारी‚ कर्तव्यनिष्ठा र देशप्रेमका साथ अघि बढी आफ्नो आचरण‚ निर्णय र कर्मबाटै सहिदको बलिदान सार्थक बनाउनुपर्नेमा जोड दिए।