१७ माघ २०८२
अ+
अ-

मुस्ताङ। ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको छ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चारजना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली आज (शनिबार) मुस्ताङ आइपुगेको हो।

भारतीय राजदूतावासअन्तर्गत भारतस्थित असमको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ आइपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिए। उनका अनुसार असमको बिहु लोकनृत्य यहाँ देखाउने गरी कलाकार‚ प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन्।

यसैगरी भारतीय गणतन्त्र दिवसका अवसरमा यहाँ आयोजना गरिएको समारोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चारजनाको सहभागिता थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली यहाँ आएको जानकारी दिए।

असमबाट यहाँ आएका सांस्कृतिक सेन्टरका टोलीले घरपझोङ गाउँपालिका २‚ माफास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो। पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुईवटा बिहु लोकनृत्य प्रदर्शन गरेका हुन्।