१७ माघ २०८२
अ+
अ-

पर्सा। वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ।

गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रु २१ करोड मूल्यको गिरावट आएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए।

जबकि गत आवको छ महिनामा भने रु ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो। चालु आवको छ महिनामा रु पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। जबकि गत आवको सोही अवधिमा भने रु छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो।

चालु आवको छ महिनामा रु तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ। त्यस्तै चालु आवको छ महिनामा रु एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रु ३३ करोड मूल्य पर्ने माल्ट आयात भएको छ। त्यस्तै रु २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ।