शैली
परम्परागत बाजा, लोकधुन, लोकसंस्कृतिमा मानिसहरूको स्मृति बाँचेको हुन्छ, जसभित्र दुःखसुखका अनेकन् कहानी हुन्छन्।
अग्रशिर हिमालमुनि बसेको हाम्रो छाया
पवित्र हावाले रचेको यो लय
बुनिएको छ एकतामा हाम्रो सेरोफेरो
प्राणभन्दा प्यारो, यो देश मेरो
जेन-जी आन्दोलन हुँदै मुलुक चुनावी यात्रामा लम्किरहेको बेला कबवेबले ल्याएको देशभक्ति भावले ओतप्रोत गीतको अंश हो यो। ‘जय नेपाल’ शीर्षकको यस गीतले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विशेषतामा जोड दिएको छ। गीतको शब्द र भिडिओमा कर्णालीदेखि हिमाल, पहाड र तराईका विभिन्न सन्दर्भ अटाएका छन्। तर, शब्द र दृश्यभन्दा गीतको संगीत पक्ष चर्चायोग्य छ। किनकि, रक संगीतको पर्याय कबवेबले तीन दशक लामो यात्रामा जय नेपालमा पहिलो पटक लोकबाजाको प्रयोग गरेको छ।
कबवेब नेपालमा रक विधाको संगीत लोकप्रिय बनाउने ब्यान्ड हो। यसले नेपाली श्रोतालाई पश्चिमा संगीतमा प्रयोग हुने ‘हेभी साउन्ड’ सहितको नयाँ शैलीको स्वाद चखायो। सन् १९९३ मा स्थापना भएको यस ब्यान्डले सयभन्दा बढी मौलिक गीत सिर्जना गरिसकेको छ। जसमध्ये ‘मार्यो नि मार्यो’, ‘मर्सिडिज बेन्ज’, ‘प्रीतको नशा’, ‘नमस्ते’, ‘होडबाजी’ लगायत गीत विशेष रुचाइन्छन्। आजको मितिमा कबवेब सुन्नु केवल संगीत सुन्नु मात्रै होइन, १९९० को दशकको स्मृतिमा फर्किनु पनि हो।

कबवेबका गायक दिवेश मुल्मी र कुटुम्बका सदस्यहरु
तीन दशक लामो यात्रामा पहिलोपटक लोकबाजाको प्रयोग गरे पनि कबवेबले ‘जय नेपाल’ मा आफ्नो सिग्नेचर ट्युनलाई छोडेको छैन। गितार, चेलोजस्ता पश्चिमा बाजा प्रयोग भएको यस नयाँ गीतमा भुस्या र धिमेजस्ता बाजाको ध्वनि/संगीतको सुन्दर संयोजन छ।
‘जय नेपाल’ मा नेपालको भूगोल, संस्कृति र नेपाली जातिको गौरवको कथा छ। त्यसमा नेपाली मौलिक सहनाईदेखि भुस्यासम्मका बाजाको प्रयोग छ।
ब्यान्डका संस्थापक तथा गायक दिवेश मुल्मी भन्छन्, “पाटनमा हुर्केको म र ब्यान्डका अन्य सदस्यलाई मच्छिन्द्रनाथको जात्रामा प्रयोग हुने बाजाहरूले आकर्षित गरेको थियो। यो गीतको रिदम सेक्सनमा त्यही जात्रामा प्रयोग हुने बाजालाई समावेश गर्यौँ।”
भुस्या र धिमे जात्राहरूमा सामूहिक रूपमा बजाइने बाजा हुन्। भीडमा ऊर्जा थप्न प्रयोग हुने यी बाजाले मान्छेको मस्तिष्कमा उत्तेजना पैदा गर्छन्। वीररसमा रचित ‘जय नेपाल’ मा प्रयोग भएका नेपाली बाजा त्यो ऊर्जा पैदा गराउन सफल छन्। गीतको भिडिओमा पनि गायन र वाद्यवादनमा ठूलो समूह संलग्न छ।
कुटुम्बका बेस गितारवादक तथा ब्यान्ड म्यानेजरसमेत रहेका निलेश जोशी भन्छन्, “यो गीत प्रयोग मात्र होइन, हाम्रो देश, संस्कृति र मौलिक बाजाप्रतिको सम्मान र माया हो। अहिलेको निराशा र संशयको माहोलमा हामीलाई चाहिएको पनि यस्तै गीत हो जस्तो लाग्छ।”
ब्यान्डले तीन दशक पूरा गरेको अवसरमा दुई वर्षअघि पाटनमा कुटुम्ब इन थर्टिज शीर्षकमा कन्सर्ट आयोजना गरेको थियो। उक्त कार्यक्रममै हो, कबवेबले आफ्नो रक पहिचानमा लोकलाई प्रवेश गराएको। सो कार्यक्रममा कबवेबले कुटुम्बका साथमा प्रस्तुति दिएर रकमा लोक फ्युजन गर्ने सन्देश दिँदै पहिलोपटक ‘जय नेपाल’ दर्शकमाझ प्रस्तुत गरेको थियो।
गितारवादकसमेत रहेका मुल्मी भन्छन्, “त्यो बेला कुटुम्बको साउन्डले हामीलाई एकदमै हिट बनायो। देशकै बारे गीत बनाउँदा सजिलो काम गर्नुभन्दा केही नयाँ गर्ने क्रममा रिदम सेक्सनमा जात्राकै बाजालाई स्टुडियोमा प्रयोग गर्ने सोच आएको हो।”
कुटुम्बका तीन सदस्यसहित करिब ५० जना कलाकारको संलग्नता भएको यो गीत बनाउन नौ महिना लागेको मुल्मी र जोशी बताउँछन्। “ठूलो समूह भएकाले सबैको समय मिलाउन गाह्रो भयो। तर, त्योभन्दा बढी जात्रामा प्रयोग हुने बाजाको प्रयोग चुनौतीपूर्ण बन्यो,” मुल्मी भन्छन्, “काठमाडौँ, भक्तपुर र पाटनमा बाजाको ताल नमिल्नु त स्वाभाविक हो। पाटनभित्रै पनि एउटै बाजाका ताल फरक फरक भेटिन्छन्। त्यसले गर्दा यस्ता बाजालाई रेकर्डिङमा ल्याउन सजिलो छैन। यसमा लामै समय खर्च गर्नुपर्यो।”
कबवेबका संस्थापकहरू उपत्यकाका जात्रा, मेला र सांस्कृतिक पर्वहरूको हर्ष, उल्लास र उमंग देखेर हुर्केका हुन्। तर, यसको प्रभाव उनीहरूको संगीतमा देखिन तीन दशक लाग्यो। यसपछिका गीतमा लोक-परम्परागत बाजा वा संगीतको प्रयोग के-कति हुन्छ, हेर्न बाँकी नै छ। मुल्मी यसबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँछन्। तर, जोशी भन्छन्, “यहाँका जात्राको उल्लास-उमंग अनुभव गराउने खालको गीत बनाउने पहिल्यैदेखिको सपना हो। ढिलोचाँडो त्यो गीत बनाउँछौँ नै।”
त्यो गीत जहिल्यै आए पनि त्यसमा लोकपरम्परा र लोकबाजाको प्रयोग हुने निश्चित छ। कबवेबको संगीतमा लोकबाजा र संस्कृतिप्रतिको रुझानले उसको आगामी यात्रा थप आकर्षक बन्ने गायक दीपक बज्राचार्य बताउँछन्। भन्छन्, “कबवेब र कुटुम्बजस्ता आफ्नो विधामा दखल भएका संगीतकर्मीहरूबीच सहकार्य हुनु एकदमै सकारात्मक कुरा हो। हामीलाई चाहिएकै यस्तै खालको फ्युजन हो।”

दीपक बज्राचार्यको ‘मन मगन’को म्युजिक भिडिओको दृश्य
गायक बज्राचार्य आफैँ पनि सुरुमा ल्याटिन अमेरिकी संगीतबाट प्रभावित थिए। उनको यही शैलीका ‘ओ अमिरा’, ‘काली काली’, ‘मायाको डोरीले’, ‘ऋतु’ जस्ता गीतहरू चर्चित बने। सन् २०१४ मा ‘क्रिम अफ रिदम’ नाम दिई उनले पुराना गीतहरूमा नेपाली बाजाहरूको ध्वनिसमेत थपे। त्यसयता उनी आफ्नो गीतमा नेपाली बाजागाजाको प्रयोगप्रति सचेत छन्। जब सन् २०१४ मा पहिलेभन्दा फरक शैलीको गीत ‘मन मगन’ सार्वजनिक गरे, तब उनको यो प्रयास सफल भयो। परम्परागत जात्रा, पर्व, नृत्य र मौलिक बाजालाई केन्द्रमा राखिएको यो गीत मात्रै चलेन, युवापुस्तामाझ धिमे बाजाको लोकप्रियता नै बढाइदियो।
ल्याटिनबाट लोकतर्फ लाग्नुको कारणबारे दीपक सन् २००८ को सन्दर्भ सुनाउँछन्। सन् २००९ तिर आफ्नो रिदम ब्यान्डसहित कन्सर्ट गर्न उनी अमेरिका पुगेका थिए। एउटा कार्यक्रममा केही नेपाली र विदेशी दर्शकहरूमाझ प्रस्तुति सकिनेबित्तिकै ब्याकस्टेज आएर दुई विदेशी श्रोताले उनलाई प्रश्न गरे, “तपाईंको गीतमा भाषा मात्रै तपाईंको, संगीत त हाम्रै रहेछ। नेपालीको आफ्नै बाजा छैन?”
बाजा र नाचगानमा धनी नेवार समुदायमा जन्मेका दीपकले संगीतमा लागेको १५ वर्षसम्म त्यस्तो प्रश्नको सामना गर्नुपरेको थिएन। भन्छन्, “त्यो प्रश्न जीवनकै टर्निङ पोइन्ट बन्यो। ‘क्रिम अफ रिदम’ र ‘मन मगन’ जस्ता काम त्यही प्रश्नको जवाफ खोज्ने प्रयास हो।”
‘मन मगन’ सार्वजनिक भएपछि दीपक नेवारी बाजामा मात्र सीमित रहेनन्। नेवारी संस्कृतिभित्रका मिथ र आध्यात्मिक पक्षसमेत उनको रुचिको विषय बन्यो। यो रुचिको प्रतिबिम्ब उनको आगामी सिर्जना ‘श्वेतकाल’ मा पनि देख्न सकिन्छ। यही महिना सार्वजनिक गर्ने तयारी चलिरहेको ‘श्वेतकाल’ मा उनले सकारात्मक र नकारात्मक ऊर्जाको विषयलाई म्युजिक भिडिओमा उतार्ने प्रयत्न गरेका छन्।
उनी आफू ‘मन मगन’ भन्दा राम्रो र बृहत् सिर्जनाको पर्खाइमा रहेको बताउँछन्। यसका लागि काठमाडौँका बाजागाजा र संस्कृतिपछि उनी अब उपत्यकाबाहिरको संगीत संस्कृतिमा डुबुल्की मार्न चाहन्छन्। “मन मगनकै बेलादेखि मेरो काममा काठमाडौँको संगीत हाबी भयो। अब नयाँ नयाँ ठाउँ र समाजको परम्परा र संगीतको अध्ययन गर्ने योजना छ,” उनी भन्छन्।
नेपाली संगीतको अनुहार : परम्परा पनि, आधुनिक पनि
नेपालमा रिदम र कबवेबजस्ता थुप्रै ब्यान्ड र एकल कलाकार पप वा रक संगीत हुँदै लोक तथा परम्परागत संगीततर्फ आकर्षित छन्। पछिल्ला तीन दशकमा यो साझा प्रवृत्तिकै रूपमा विकसित भइरहेको छ भन्दा फरक पर्दैन। तिनैमध्ये एक नाइट ब्यान्डको रूपान्तरणको यात्रा पनि रोचक छ।
सन् २००१ तिर जेसन कुँवर र निरज शाक्य माया ब्यान्डका लागि हेभी मेटल/डेथ मेटल बजाउँथे। ब्यान्डकै अर्का सदस्य विभूषण हरेकपटक कामको सिलसिलामा काठमाडौँबाहिरबाट फर्कंदा लोकभाका र मौलिक बाजाहरूबारे जानकारी बोकेर आउँथे। जेसन भन्छन्, “यसले हामीमा नेपालको लोकसंस्कृतिबारे रुचि जगाउने काम गर्यो।”

भारतको कालिम्पोङमा भएको खोलेदाइ फेस्टिभलमा नाइट ब्यान्ड
यही रुचिको उपजले माया सन् २००६ देखि नाइट ब्यान्डमा परिणत भयो। त्यसयता यो ब्यान्ड नेपालका विभिन्न क्षेत्रका लोकशैलीका गीत र त्यहाँका बाजागाजाको प्रवर्धनमा समर्पित छ। खासगरी, सहरिया युवा र विदेशीहरूलाई नेपाली लोकपरम्पराको झलक दिन उल्लेख्य योगदान गरेको नाइटले सारंगी, मादल, नगरा, ट्याम्को, टुंगना, पिवांचा, दमाहा, मुरली, ब्याम्बो म्यालेट, पातलगायत बाजा प्रयोग गरी संगीतमा मिठास थपेको छ। ब्यान्डका ‘तुइन’, ‘पुतली’, ‘झल्का रया बुका’ लगायत गीत रुचाइएका छन्।
‘सक्दिनँ’, ‘सपना र कर्तव्य’ जस्ता रक गीतबाट स्थापित अभया सुब्बाले नेतृत्व गरेको अभया एन्ड द स्टिम इन्जिन्स पनि यस्तै ब्यान्ड हो। यसले आफ्नो पुरानो शैलीमा परिमार्जन गर्दै लोकभाकामा आधारित रकलाई आफ्नो पहिचान बनाइसकेको छ। ‘तिम्रै लागि’, ‘नैनीताल’, ‘हावाहुरी’ र पछिल्लो गीत ‘हे साइँला’ सम्म रक र लोकको सुन्दर फ्युजन भेटिन्छ।
पप गायनबाट संगीतमा लागेका लोचन रिजाल त रकतर्फ आकर्षित हुँदै लोकसंगीतको औपचारिक अध्ययनमा आकर्षित सर्जक हुन्। काठमाडौँ विश्वविद्यालयमा इथ्नोम्युजिकोलोजीमा स्नातकोत्तर गरेका उनले यही विषयमा अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट विद्यावारिधि गरे। परम्परागत बाजाहरूलाई समयसापेक्ष प्रयोगमा ल्याउन दत्तचित्त उनले गन्धर्वहरूले बजाउने तर हराइसकेको अर्बाजोलाई चर्चित बनाइदिए। पप वा आधुनिक संगीतको प्रतिस्पर्धात्मक बजारको समयमा उनले ‘पौरखी’ शीर्षकको गीतमा अर्बाजो र सारंगी दुई थरी बाजालाई एकै ठाउँमा मिसाएका थिए। उनका ‘सुख दुःख’, ‘पाइलाहरू’, ‘चेतना’, ‘समाज’ लगायत गीतमा उनले गितार, नगरा, भायलिनजस्ता बाजाहरूसँग अर्बाजो र सारंगीको धुन मिसाएर नयाँ प्रयोग नै गरे, जसलाई श्रोताहरूले रुचाए पनि।

गायक लोचन रिजाल। तस्बिर सौजन्य: आर्टस्डटएमआईटी
“नेपाली संगीतको विकासका लागि संगीत परम्पराको अध्ययन वा सोधखोज गर्दै, माझ्दै बजारसँग जोड्न धेरै रचनात्मक कामहरू हुन बाँकी छ,” काठमाडौँ विश्वविद्यालयमा संगीत अध्यापनमा सक्रिय लोचन भन्छन्, “खुसीको कुरा, मेरो कामलाई श्रोताहरूले मन पराइदिनुभयो। तर, मैले गरेको काम एउटा सानो पाटो मात्र हो।”
लोक तथा परम्परागत संगीतप्रतिको यो झुकाव र लगाव अलग धार नभएर मूलधारकै रूपमा स्थापित भइसकेको धेरै कुराले पुष्टि गर्छ। नेपालको सबैभन्दा चर्चित मानिएको नेपथ्य पप-लोकपप हुँदै लोकरकमा आइपुगेको हो। कन्दरा, मंगोलियन हार्टजस्ता ब्यान्डको मेलोडीमा लोकशैली सधैँ केन्द्रमा छ। कुनै समय चर्चित डाक्टर पाइलट, नमस्ते, देउराली, ब्रोसिस, ग्लुमी गाइजजस्ता ब्यान्डहरू लोकपप शैलीकै कारण चलेका थिए। कर्माको ‘हुक्का मेरो डल्ले डल्ले’ होस् वा मुक्ति एन्ड रिभाइभलको ‘डल्ली रेशम’ वा ‘चौबन्दी चोली’ मा लोकभाकाको विशेषता भेटिन्छन्। १९७४ एडीको ‘देउराली’, ‘चौबन्दी चोली’, ‘गुराँसै फुल्यो’ जस्ता गीत पनि यही धारका हुन्। तृष्णा गुरुङ, विपुल क्षेत्रीका गीतहरूलाई सहरिया युवा पुस्ताले रुचाउनुको कारण लोकशैलीको फ्युजन नै हो। परम्परालाई आधुनिक शैलीमा प्रस्तुत गर्दा गाउँ, सहर र विदेशका स्रोता-दर्शकले समेत समान रूपमा मन पराएको देखिन्छ। पछिल्लो समय कुमः र ख्वप: ब्यान्डको लोकप्रियता यसको बलियो उदाहरण हो। कुमः र उनको समूहले दाफा खलःका भजनलाई आधुनिक शैलीमा प्रस्तुत गरेर परम्परागत नेवाः संगीतमा नयाँ आयाम थपेको छ।

कुम: सागरको ‘ओ चम्पा’ को म्युजिक भिडिओको दृश्य
यो फ्युजन लोक-पप वा रकमा मात्रै सीमित छैन। एक समय ‘झमझम इस्टकोट’, ‘च्याङ्बा होई च्याङ्बा’, ‘हरियो भन्नु’, ‘कलकत्ते काइँयो’ जस्ता धेरै गीतको रिमिक्ससमेत चलेको थियो। अविनाश घिसिङको ‘हाम्रो गाउँले जीवन’, निर्णयको ‘दिन पनि बित्यो’ जस्ता र्यापमा समेत लोक मिसिँदा लोकर्यापले नयाँ विधाकै रूप लियो। नवनीत आदित्य वाइबाले आमा हीरा वाइबाका गीत गाउँदा नयाँ पुस्ताले अझै मन पराउनु पनि लोकसंगीतप्रतिको आकर्षण र मोह नै हो। पछिल्लो समय रामशरण नेपालीको ‘यो केटी कहाँको उदयपुरैको’ गीत उनका नातिले सार्वजनिक गरेपछि थप चर्चामा आएको छ।
मानिसहरू गाउँबाट सहर र सानो सहरबाट ठूला अत्याधुनिक सहरतर्फ बसाइँ सर्नु सामान्य प्रक्रिया हो। तर, यस प्रक्रियामा मान्छे आधुनिकता र परम्पराको दोसाँधमा फस्छ, सायद। यस्तै, दोसाँधमा परेका मानिसहरू आधुनिक र परम्परा मिसिएका धुनहरू गाउन र सुन्न रुचाउँदा हुन्।
प्रविधिले संसार साँघुरिँदै जाँदा नेपाली कलाकारले विदेशी गीत-संगीतको समेत नेपाली फ्युजन गरेको देखिन्छ। मनीष गन्धर्व र टुन्नाबेलले युट्युबमा सर्वाधिक हेरिएको ‘डेस्पासितो’ गीतको इन्स्ट्रुमेन्टल कभर निकाले, जसमा नेपाली सारंगीको धुनसमेत सुन्न पाइन्छ। ‘स्किन एन्ड बोन्स’ नामबाट उनीहरूले धेरै हिन्दी र विदेशी गीतको सारंगी र गितारको धुनमा कभर बनाएका छन्।
फ्युजनको काम शास्त्रीय संगीतमा पनि भइरहेको छ। विशाल भट्टराईले जापानी संगीतकार इनोए सोउसँग मिलेर अभ्यास गरिरहेको गुरुकुल ध्रुपद पनि फ्युजनकै एउटा रूप हो। सारंगीवादक किरण नेपालीले नेतृत्व गरेको प्रोजेक्ट सारंगीले नेपाल र विदेशमा समेत सारंगीको प्रचार गरिरहेको छ। नेपालीले पिंक फ्लोयडको ‘विस यु वेर हेअर’ देखि नेपालभाषाको ‘माया रे रत्न’ सम्मको सारंगी भर्सन बनाएका छन्, जुन युट्युबमा उपलब्ध छन्। अर्को मुखर्जीले झलकमान गन्धर्वका गीतहरू गाउनु पनि लोकसंगीतप्रतिको अनुराग हो। पछिल्लो पुस्तामा केटाहरू, क्रेजी ब्रदर्स, गाउँले भाइ, बाजाजस्ता ब्यान्डले पप वा रक विधामा लोकको मिश्रण गरेर चर्चा कमाएका छन्।
विभिन्न विधामा मिसिन र अन्तर्घुलन हुन सक्नु संगीतको विशेषता हो। वेस्टर्न क्लासिकल म्युजिकको सम्बन्ध चर्च र रीतिरिवाजसँग गाँसिएको छ। त्यो संगीत व्यवसायीकरण हुँदै अफ्रिकन ‘दास’ हरूको संगीतमा मिसिई अहिलेको ज्याज वा आधुनिक संगीत बनेको हो।
परम्परागत र आधुनिकता बुझ्ने-बुझाउने अभ्यासमा सक्रिय थुप्रै सर्जकहरूकै कारण नेपाली संगीत पनि ‘इभल्भ’ भइरहेको छ। यस्तै, क्रम-उपक्रमले नेपाली संगीतको सांस्कृतिक पहिचान निर्माणमा योगदान दिने सम्भावना देख्छन्, गायक/अध्येता रिजाल। भन्छन्, “संगीत होस् वा अन्य क्षेत्र, यो नेपाल र नेपालीले आफ्नो पहिचान खोजिरहेको समय हो।”
पहिला लोक भनेको मेलोडीमा खुम्चिएको थियो, पछिल्लो १०-१५ वर्षमा नेपाली बाजाहरू प्रयोग गर्नेको संख्या बढेको देखिन्छ।
गायक बज्राचार्य भन्छन्, “हाम्रो ब्यान्डमा मैले धिमे बाजा बजाउँदा मान्छेहरू वाल्ल परेर हेर्थे। जात्रामा बजाउने चिज स्टुडियोमा लैजाँदा छक्क पर्थे।” अहिले काठमाडौँका जात्रामा बज्ने धिमे, दमाहा, खिःजस्ता थुप्रै बाजा लोकप्रिय भइसकेको उनको अनुभव छ।
कबवेबका जोशी उपत्यकाको नेवार समुदायमाझ धेरै बाजाहरू भए पनि पहिला तिनलाई सिक्ने सीप हस्तान्तरण नभएको बताउँछन्। भन्छन्, “१५ वर्षपछाडि फर्केर हेर्दा बाजा बजाउने ठाउँ खासै थिएनन्। अहिले ज्यापू समाज तथा गुठीहरूले केटाकेटी र महिलासमेतलाई सिकाएर बाजा बचाउने प्रयास गरेको देखिन्छ।”
परम्परागत बाजा, लोकधुन, लोकसंस्कृतिमा मानिसहरूको स्मृति बाँचेको हुन्छ जसभित्र दुःखसुखका अनेकन् कहानी हुन्छन्। यसैभित्र सामूहिक भावना र पहिचान पनि नि:सृत हुन्छ। यस्तै विशेषताका कारण लोकसंगीतले साझा सांस्कृतिक पहिचानको निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छ। यो यस्तो पहिचान हो, जसले समाजलाई अगाडि धकेल्ने सांस्कृतिक इन्जिनको काम गर्छ।
जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ नेपाली संगीत र संस्कृति फैलिइरहेको छ। प्रविधिले सोझै अन्तर्राष्ट्रिय श्रोता-दर्शकमाझ पहुँच पुगेको छ। “अन्तर्राष्ट्रिय बजारमा देखाउने र बिकाउने एउटै आधार हाम्रो एथ्निसिटी हो,” गायक बज्राचार्य भन्छन्, “हाम्रो पृथक् पहिचान भनेकै हाम्रो अथेन्टिक संगीत अर्थात् परम्परागत नाचगान र बाजागाजा नै हो।”