काठमाडौँ । बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारको गाईसम्बन्धी अभिव्यक्तिले विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
रास्वपाले सुनारको भनाइले धार्मिक–सांस्कृतिक भावनामा चोट पुगेको स्वीकार गर्दै पार्टी प्रवेशअघि दिइएको अभिव्यक्तिप्रति क्षमायाचना गराइसकेको जनाएको छ।
सुनारले आफू शाकाहारी रहेको, कुनै पनि हिंसाको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको स्पष्ट पारेको पार्टीको भनाइ छ।
पार्टीले भविष्यमा अभिव्यक्ति दिँदा थप संयम र जिम्मेवारी अपनाउन सुनारलाई सचेत गराएको छ। साथै, उनका भनाइ कुनै धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने उद्देश्यले नभएको रास्वपाले दाबी गरेको छ।
रास्वपाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र विधिको शासनप्रति आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै उत्तेजनात्मक गतिविधिको विपक्षमा रहेको स्पष्ट पारेको छ।