व्यक्तिवृत्त

रेणु तामाङ नुवाकोट दुप्चेश्वरकी निम्न आय भएको परिवारमा हातको समस्या बोकेर जन्मिएकी एक पारातेक्वान्दो खेलाडी हुन्। शारीरिक अशक्तताका कारण उनले सानोमा समाजसँग मात्र होइन, आफ्नै परिवारका सदस्यको वचनवाण सहनुपर्‍यो । अहिले खेलाडी बनेर आफ्नै गाउँको नाम राखेकी छन्।

१७ माघ २०८२
दुबईमा एसियाली युवा पारा खेलकुदमा स्पारिङ गर्दै रेणु तामाङ। तस्विरः एसियाली पाराओलम्पिक कमिटि
अ+
अ-

हिँड्ने बाटो एउटै। उमेर पनि उस्तै। गाउँलेहरू अरू बाल–बालिकालाई काखामा राखेर माया गर्दा उनी भूईंमा एक्लै खेलिरहेकी हुन्थिन्। सानो छँदा उनलाई लाग्थ्यो, गाउँमा सबैले माया गरिदियोस्। तर, उनलाई देखे पनि प्रायः सबै नजरअन्दाज गर्थे। उनले बोलाउँदा गाउँलेहरू नसुने झैँ आफ्नो पाइला अगाडि लम्काउँथे।

रेणु तामाङ, नेपालकी अन्तर्राष्ट्रिय महिला पारा तेक्वान्दो खेलाडी। जसको बाल्यकाल दुःखै दुःखमा बित्यो। उनी जन्मँदै उनको बायाँ हातको नाडीदेखि तलको भाग थिएन। अरूभन्दा आफू फरक हुनुको अर्थ उनले कलिलो उमेरमै बुझ्ने मौका पाइन्।

उनलाई बरु आफ्नो हात त्यति बोझिलो लाग्दैन्थ्यो, जति समाजको नजर। सानैदेखि उनले सुन्दै आएको एउटा शब्द थियो– ठूलो भएपछि यसले के नै गर्न सक्छे र?

गाउँ समाजबाट मात्र होइन, आफ्नै परिवारका सदस्यबाट पनि उनी अपहेलित महसुस गर्थिन्। त्यही कारण घर–परिवारसँग बाल्यकालमै उनको सम्बन्धको डोरी चुँडियो।

फरक क्षमताकै कारण आफ्नो घरमा नभएर उनी काठमाडौँको ग्वार्कोस्थित मामाघरमा हुर्किइन्। मामा र हजुरीले मामाघरमा खुब माया गर्ने। खाने–बस्ने मात्र होइन, त्यहाँ उनले पढ्नेदेखि खेल्नेसम्मको सबै सुविधा प्राप्त गरिन्।

तर, समाजले कुरा काट्न छोडेन। नुवाकोट होस् वा काठमाडौँ– उनलाई हेर्ने नजर, उनी पछाडि हुने कानेखुसी र टिप्पणीले उनको बाल मस्तिष्कलाई बारम्बार घोच्यो। तर, उनले गुनासोभन्दा आत्म–संयमतालाई मूलमन्त्र बनाइन्। त्यसैले उनी अहिले नेपाली खेलकुदमा ‘चम्किँलो तारा’ बनेर उदाइरहेकी छिन्।

तेक्वान्दो स्टार पलेशा गोवर्घनपछि उनको सफलता लोभलाग्दो छ। उनी खेलाडी बन्ने योजना बुनेर पहिले तेक्वान्दो खेलमा प्रवेश गरेकी होइनन्। सुरुआती दिनमा उनलाई कुन खेल रोज्ने थाहा पनि थिएन। शरीरभित्र निकै ऊर्जा थियो। त्यही उर्जालाई दिशा दिने अभियानअन्तर्गत उनी खेलकुदमा आवद्ध भएकी हुन्।

“घर छेउमा एउटा दिदी बस्नु हुन्थ्यो। उहाँको पनि हात थिएन। यसका बाबजुद उहाँले राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ सहभागिता जनाउनु भयो,” यसै साता सातदोबाटोस्थित तेक्वान्दो हलमा भेटिएकी रेणु तामाङ उज्यालो अनुहार लगाउँदै भन्दैथिइन्, “मेरो खेल जीवनको मार्गदर्शक पनि उही दिदी हो। उहाँले नै मलाई समाजसँग लड्दै उदाहरणीय बन्न प्रेरणा दिनुभयो।”

उनी केही समय एथलेटिक्समा रमाइन्। सानोमा कपर्दी पनि खेल्थिन्। एकदिन अन्यासै ‘स्पाइरिङ’ गर्न मन लाग्यो। तर, उनीसँग मार्शल आर्ट्स सिक्ने पैसा भएन। उनले त्यो इच्छालाई केही समय मनभित्रै दबाएर राखिन्।

तर, भनिन्छ नि– जहाँ इच्छा, त्यही उपाय। रेणुको जीवनमा पनि यस्तै घटना घटित भयो। गत वर्ष मामाघर नजिकै रेणुले पारा तेक्वान्दोका स्टार गुरु कविराज नेगीका चेला अमिर ब्लोनलाई भेटिन्। यतिबेला अमिरले उनी जस्तै फरक क्षमता भएकी पलेशा गोवर्घनको सफलताको कथा सुनाए– पलेशाले कसरी पेरिस पारालम्पिकमा कास्य पदक जितेर अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपालको नाम उचो बनाइन्?

एसियाली युवा पारा खेलकुद – दुबईमा कांस्य पदक जितेपछि प्रशिक्षक कविराज नेगी लामासँग रेणु तामाङ। तस्विरः कविराज नेगी लामा

यसपछि उनको छटपटी झन् बढ्यो। उनले त्यही दिन युट्युब र फेसबुकमा पलेशाका सबै भिडियो हेर्न भ्याइन्। “ओहो ! मलाई त औडा भयो। म जस्तै हात नभएको। तर, कति लड्न सकेको?,” पुरानो कुरा सम्झिँदै उनले भनिन्।

पलेशाको भिडियो हेरेपछि उनलाई रातभरी निन्द्रा परेन। “पलेशा दिदी जस्तै बन्नुपर्छ भनेर त्यही दिनदेखि सोच पलाएको हो,” उनी भन्छिन्।

अर्को दिन अमिर उनलाई लिन ग्वार्कोस्थित उनको मामाघर पुगेका थिए। मामाहरूले पनि भान्जी आफैँले रोजेको बाटोमा तगारो हाल्ने काम गरेनन्। यसले उनलाई तेक्वान्दोमा लाग्न थप सहज बनायो। अमिरले नै उनलाई सातदोबाटोस्थित तेक्वान्दो संघको हलसम्म पु¥याइदिएका थिए। रेणुका लागि त्यो ठाउँ फरक थियो। तर, खेलाडी भने आफू जस्तै।

“त्यहाँ आउने प्रायः सबै खेलाडीको अनुभव उस्तै थियो। समाजबाट हेपिएको र परिवारले वेवास्था गरेको,” भन्न थालिन्, “तर नेगी गुरु हामी जस्तै पात्रको खोजीमा हुनुहुँदो रहेछ।”

नेगी सन् २०१६ देखि पारा तेक्वान्दोमा स्वयमसेवी प्रशिक्षकका रूपमा कार्यरत छन्। पलेशा र सिर्जना घिसिङजस्ता सफल खेलाडी जन्माइसकेका नेगी देशभर रेणुजस्तै खेलाडी खोज्दै हिँडिरहेका हुन्छन्। तर, धेरै जसो परिवारको बन्धन तोडेर बाहिर निस्किने हिम्मत गर्दैनन्। उनीहरूले आफूलाई घरभित्रै खुम्च्याएर राखेका छन्।

रेणु आफैँ तेक्वान्दो हल खोज्दै आएको देखेपछि नेगी पनि उत्साही भए। “रेणुलाई भेट्दा धेरै खुसी लाग्यो। सिर्जना विदेशीएको धेरै

भएको थिएन। उनी जस्तो प्रतिभा बाहिरिँदा रिक्त हुने ठाउँ भर्न निकै कठिन हुन्छ। उनको ठाउँमा रेणु आउँदा छुट्टै ऊर्जा थपियो,” नेगी सम्झन्छन्।

रेणुको दृढता र आत्मबलबाट प्रशिक्षक नेगी पनि तुरुन्तै प्रभावित भए। तर, तेक्वान्दो सिक्न थालेको दुई दिन नबित्दै उनलाई एउटा दुःखले छोप्यो। रेणुकी हजुरआमा गाउँमा क्यान्सरले थलिइन्। यतिबेला उनको दिदी पार्लरमा काम गर्थिन्। गाउँ फर्किन दिदीलाई पार्लरले छुट्टी दिएन। काकाहरू विदेशमा थिए। काकी र आमालाई साना भाइबहिनी हेर्नुपर्ने बाध्यता थियो। त्यसैले बिरामी हजुरआमाको हेरचाह गर्न उनी आफैँ नुवाकोटको दुप्चेश्वर फर्किनु पर्ने बाध्यता भयो।

हुन त हजुरआमाले फरक क्षमता भएकै कारण उनलाई कहिल्यै स्वीकार गरिनन्। तर, जस्तै भए पनि हजुरआमा त आफ्नै हो।

सेवा भावले रेणुलाई गाउँ फर्किन बाध्य पा¥यो।

तेक्वान्दोको प्रशिक्षण छोड्ने मन उनलाई फिटिक्क थिएन। तर मन नलागि–नलागि दुप्चेश्वर जानु प¥यो।

“पाँच महिना गाउँमै बसे। काका विदेशबाट फर्किएपछि मात्र काठमाडौँ फर्किने अवसर पाए,” उनी भन्छिन्। रेणु गाउँ फर्किदा प्रशिक्षक नेगीको भने छटपटी बढ्यो। किनभने उनले लामो समयपछि सम्भावना बोकेको खेलाडी प्राप्त गरेका थिए। “म काठमाडौँ फर्किएको ३÷४ दिनपछि गाउँमा हजुरआमा बित्नु भयो। यो थाहा पाएर गुरुले मलाई लिन मान्छे पठाइदिनु भयो। यसपछि तीन महिना लगातार प्रशिक्षण गरेँ,” उनी सुनाउँछिन्।

मलेसियाको अनुभव, दुबईमा पदक

रेणुले यसै वर्षको साउन महिना मलेसियाको कुचिङमा भएको दसौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा महिला ४७ केजीमुनि प्रतिस्पर्धा गरिन्। प्रशिक्षणका क्रममा विरामी पर्दा उनले राम्रो प्रशिक्षण गर्न पाएकी थिइनन्। त्यही पनि उनलाई मेडल जित्छु भन्ने आँट थियो। तर, नेपालमा कुनै प्रतियोगिता नखेली मलेसिया उडेकी उनी त्यहाँ पुगेपछि ‘नर्भस’ भइन्। प्रतियोगिताको महौल देखेर उनलाई डर लाग्यो। “अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव थिएन। म्याटमा ओर्लिने बित्तिकै हातगोडा लर्याक–लुरुक गले जस्तो भयो। खुट्टा पनि उठेन। स्टामिना डाउन भए जस्तो भयो। पहिलो खेलबाटै बाहिरिए,” उनले सुनाइन्।

तर, यही प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समुहतर्फ उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै पलेशाले कास्य जितिन्।

“पलेशा दिदीको सफलताले मन कुडिँयो। राम्रो तयारी गरेको डेढ महिना त भएको थियो। तर, खाली हात आउनुपर्दा धेरै नरमाइलो लाग्यो। अर्कोपल्ट राम्रो गर्छु भनेर चित्त बुझाएँ,” उनी भन्छिन्।

मलेसियामा प्राप्त गरेको असफलताका बीच उनी चार महिनापछि फेरि नेपालमा आयोजना भएको १३ औँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी भइन्। यहाँ भने उनले स्वर्ण पदक जितिन्। त्यसको साता दिनमै युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा आयोजना भएको पाँचौँ एसियाली युथ पारा गेम्समा पनि सहभागी भइन्।

एसियाली युवा पारा खेलकुद – दुबईमा कांस्य पदकजितेपछि रेणु तामाङ। तस्विरः कविराज नेगी लामा

“दुबईमा राम्रो भएन। गर्मीका कारण सञ्चो पनि भएन। खेलको दुई दिनअगाडि महिनावारीको समस्या थपियो,” उनले महिला खेलाडीको समस्या सुनाउँदै भनिन्,“पहिलो खेलमा बंगलादेशकी नस्रिन अख्तरलाई हराएर सेमिफाइनल पुगेकी थिए। सेमीमा इरानकी जहरा सोल्तानीसँग खेलिरहेकै बेला ‘इनर्जी लेभल’ एकैपल्ट शून्यमा झ¥यो। झण्डै बेहोस भएको। छलेर मात्र खेलेको भए जित्थे होला। तर, खुट्टा नै उचालिएन।”

फेरिएको नजर

खेल हारे पनि समाजसँग कसरी लड्नु पर्छ, उनले त्यसको सुत्र भने पत्ता लगाइन्। नेपाल फर्किएपछि प्राप्त सम्मान र मिडिया कभरेजले रेणुलाई थप उत्साही बनाएको छ। खेलमा लागेपछि कम्तिमा यतिबेला उनलाई हेर्ने समाजको नजर बदलिएको छ। कुनै बेला उनलाई देख्दा तर्केर हिँड्ने व्यक्तिहरू अहिले बोलाउन आउँछन्। कुरा काट्नेहरू स्यावासी दिन्छन्।

“एउटै सफलताले मलाई हेर्ने समाजको नजर फेरिएको छ। म यही चाहन्थे। यसैले सबै दिदीबहिनीलाई मेरो आग्रह छ, घरमा चुप लागेर नबस्नु,” १६ वर्षीय यी खेलाडी भन्छिन्।

सन् २०२६ मा जापानमा २० औँ एसियाली खेलकुद आयोजना हुँदैछ। यसको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ कार्यक्रम सञ्चालन गरिरहेको छ। जसमा पदक जित्ने सम्भावना बोकेका खेलाडीहरूलाई भत्ता उपलब्ध गराउँदै प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ। यही कार्यक्रममा उनको पनि नाम समावेश छ।

रेणुले राखेपले उपलब्ध गराएको भत्ता स्वरूप दिनको छ सय रूपैयाँ प्राप्त गर्छिन्। तेक्वान्दो संघले पनि दिनको तीन सय रूपैयाँ गाडी भाडा थपेर दिन्छ। यसले उनलाई सहज बनाएको छ। आफू पढ्दै अरूलाई ‘होम ट्युसन’ पढाउनु पर्ने बाध्यता पनि छैन।

यसै कारण उनको लक्ष्य पनि फेरिएको छ। उनी पलेशा झैँ ओलम्पिकमा सहभागी भएर स्वर्ण जित्ने ध्याउन्नमा छिन्। जुन उनको सपना पनि हो। हेरौँ उनको यो सपना पुरा हुन्छ कि हुँदैन? तर, उनले समाजसँग लड्दै आएको लडाइँ भने जितिसकेकी छिन्।