बुद्धका मूर्ति देवताको अर्थमा नभई बुद्धप्रतिको श्रद्धाका लागि प्रयोग गरिने प्रतीक मात्रै हुन्।
हाम्रो मस्तिष्कमा धार्मिक आस्था जब्बरसँग गाँसिएको हुन्छ। यो एक जीवनसँग मात्र सम्बन्धित नहुन पनि सक्छ। हजारौँ वर्षको निरन्तरताबाट संस्कार बन्छ। अर्थात्, हामी पूर्वसंस्कारहरूबाट दबिएका हुन्छौँ।
एउटा सम्झना हुन्छ, हामी पुरातत्त्व विज्ञानका विद्यार्थीहरू स्थलगत अध्ययन भ्रमणमा पुरावशेष खोज्दै सप्तरीका केही ठाउँ चहारिरहेका थियौँ। भग्नावशेष हेर्ने, भेटिएका अवशेष नियालेर विश्लेषण गर्ने तथा एउटा निष्कर्षमा पुग्ने त हाम्रो नियमित काम नै भयो। बिग्रेभत्केका वा सद्दे मूर्ति हेर्ने, मूर्तिको पहिचान गर्ने, कुन कालमा बनेको तथा कलामा कसको प्रभावजस्ता प्रश्नहरूको जवाफ खोज्थ्यौँ।
अधिकांश मन्दिरका मूर्तिहरू धार्मिक आस्थासँग सम्बन्धित हुन्छन् भने पुरास्थल तथा संग्रहालयमा रहेका मूर्तिहरू अध्ययन सामग्री। यसरी हेर्दा कतिपय स्थानमा एक देवता वा पात्रको भन्ठानेर पूजा गरिँदै आएको मूर्ति मूर्ति नभएर अर्थोकै भएको, अर्कै मूल्यमान्यता बोक्ने धर्मसम्प्रदाय सम्बन्धित रहेको पनि भेटिन्छ। २०६१ सालमा सप्तरीको शम्भुनाथ मन्दिरमा यस्तै दृश्य देखियो। विश्वकै ठूलो शिवलिंग भनेर पुजिँदै आएको वस्तु शिवलिंग नभएर कुनै ठूलो मन्दिरको अवयवका रूपमा रहेको ढुंगाको खम्बा भएको अध्ययनबाट पुष्टि भयो। हाम्रै टोलीका केही साथीले पनि शिवलिंग नै मानेर त्यसलाई ढोगे पनि। आस्था त आस्था हो।
२०५३ सालमा प्राचीन कपिलवस्तुको पुरावशेष तिलौराकोटबाट थोरै पश्चिमको गाउँ पुग्दा स्थानीयवासीले हामीलाई फुटेश्वर महादेवसँग परिचय गराए। वास्तवमा त्यो खण्डित अवशेष इसापूर्व तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकद्वारा क्रकुच्छन्द बुद्धको स्मरणमा निर्मित स्तम्भ थियो। जमिनमुनिबाट उत्खनन गरी निकाल्दा यसको माथिल्लो भाग फुटेको र हराएको थियो। फुटेको ढुंगा भएकाले बौद्ध स्तम्भ फुटेश्वर महादेवले चिनियो।
मान्छेको मन र मूर्तिका सम्बन्धमा २०६५ सालमा हामीले एउटा सर्वेक्षण गरेका थियौँ। धेरैजसो मूर्ति निर्माण र बेचबिखन पाटन क्षेत्रमा हुने भएका कारण हामी त्यतै केन्द्रित थियौँ। अन्तर्वार्तामा भाग लिएका मूर्तिकार र मूर्ति व्यापारीहरूले भनेको कुरा रोचक लाग्यो। उनीहरूले आफूले बनाएको वा बेच्न राखेका मूर्तिमा कुनै आस्था वा भावना नहुने तर मन्दिरका पूजित मूर्तिमा अपार आस्था र श्रद्धा भएको, दैनिक दर्शन गर्न जाने गरेको बताए। आफैँले बनाएको वा बेचेको मूर्तिमा विधिवत् प्राणप्रतिष्ठा गरिने हो भने आस्था र विश्वास स्वतः सिर्जना हुने पनि उनीहरूको भनाइ थियो।
हिन्दु धर्ममा मूर्तिको प्राणप्रतिष्ठा वा जीवन्यास पूजा विधि हुन्छ। यस विधिबाट पूजा कार्य सम्पन्न गरेपछि मात्र मूर्ति, ढुंगा, माटो, धातु, काठ जेसुकैको भए पनि साक्षात् देवता मानिन्छन् र देवताको आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास छ। यस्ता मूर्तिको मर्मत गर्नुपर्यो भने त्यसबाट जीव (प्राण) झिक्ने छुट्टै विधि हुन्छ। मूर्तिबाट जीव झिकेर कलश वा कुनै अर्कै भाँडोमा राखिन्छ र त्यसैको नित्य पूजा हुन्छ। मर्मत हुन्जेल त्यस मूर्तिको पूजा चल्दैन। मर्मत सकिएपछि पुनः प्राणप्रतिष्ठा गरिन्छ र पूर्ववत् पूजा चल्छ।
पछिल्लो समय बौद्धहरूले पनि हिन्दु धर्मको सिको गर्दै मूर्तिमा जीवन्यास वा प्राणप्रतिष्ठा गरी पूजा गर्न थालेका छन्। तिब्बती बौद्ध समाजमा यसलाई ‘राब्ने’ भनिन्छ।
जीव वा आत्मा हिन्दु धर्मसम्बद्ध कुरा हो। हिन्दु अवधारणामा एक जन्म र अर्को जन्मबीचको सेतु आत्मालाई मानिन्छ। अर्थात्, शरीर मर्छ, तर आत्मा मर्दैन। आत्मा त अमर हुन्छ। बौद्धहरूको कुरा उस्तै उस्तै लागे पनि अलि फरक छ। विभिन्न जन्महरूलाई जोड्ने सेतुलाई बौद्धहरू ‘चित्त’ भन्छन् र यो आत्माजस्तो अमर होइन। बौद्धहरूको अन्तिम लक्ष्य चित्तलाई निरुद्ध गर्ने हो। जब चित्त निरुद्ध हुन्छ, पुनर्जन्म हुँदैन अर्थात् जन्म र मरणको शृंखलाबाट मुक्त भइन्छ। बुद्ध हुनु, अर्हत् हुनु भनेको चित्त निरुद्ध भइसक्नु हो। उनीहरूले फेरि जन्म लिनुपर्दैन।
यस दर्शनका आधारमा भन्ने हो भने महापरिनिर्वाण नै भइसकेका बुद्धहरूको चित्त वा जीवलाई मूर्तिमा प्रतिष्ठा गर्नु भनेको बुद्धहरूलाई बुद्ध भइनसकेको र दुःखको भवचक्रमा नै अल्झिरहेको भन्नु हो। बौद्ध धर्मदर्शनमा विभिन्न बोधिसत्त्व वा अवलोकितेश्वर तथा अन्य पात्रहरूको कुरा पनि आउँछ जसले निर्वाण लाभ गरिसकेका छैनन्। उनीहरूले अरूको निर्वाण हेतु आफू संसारमा लागिरहने प्रण गरेका हुन्। बौद्धहरूले उनीहरूप्रति अत्यन्तै श्रद्धा राख्ने र उनीहरूको गुण चित्रण गर्ने मूर्ति तथा चित्र बनाउनु बुझिने कुरा हो। तर, त्यसलाई प्राणप्रतिष्ठा वा जीवन्यास गर्नु बौद्ध धर्मदर्शनअनुकूलको व्यवहार होइन।
मूर्तिपूजा हिन्दुहरूको पनि मौलिक अभ्यास होइन। प्रारम्भमा वैदिक (हिन्दु)हरूमा मूर्तिपूजाको प्रचलन नै थिएन। उनीहरू मूर्तिपूजकलाई हेयको दृष्टिले हेर्दथे भन्ने कुरा वेद तथा मान्यताप्राप्त अन्य विवरणबाट थाहा हुन्छ। भारतीय भूमिमा वैदिक (हिन्दु)हरूको आगमनभन्दा निकै अघिदेखि नै देवीदेवताको मूर्ति बनाउने तथा तिनको पूजा गर्ने पद्धति थियो। भारतीय भूमिमा स्थायी बसोबास गरिसकेपछि भने तिनीहरूमा पनि बिस्तारै मूर्तिपूजाले ठाउँ लिँदै गएको पाइन्छ।
बौद्धहरू बुद्धको मूर्तिलाई साक्षात् बुद्ध ठान्दैनन्। बौद्धका लागि बुद्धको मूर्ति एउटा आलम्बन मात्रै हो। आलम्बनको तात्पर्य मूर्तिमा रहेको हाउभाउ, मुखमुद्रालगायतले राख्ने अर्थ र त्यसलाई बुद्धप्रति श्रद्धाका लागि प्रयोग गरिने प्रतीक मात्रै हुन्।