काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१८ माघ २०८२
विश्वप्रकाश शर्मा र गगन थापा।
अ+
अ-

झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर १ को आज (आइतबार) भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूरदृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताए।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान‚ संस्कार र भिजन अतुलनीय छ‚” उनले भने‚ “त्यसैले नेपाली कांग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ।”

उपसभापति शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनबाट भागबन्डा र गुटको राजनीतिलाई अन्त्य गरिदिएको बताए। विगतमा ६० र ४० को भागबन्डा हुने गरेको चर्चा गर्दै अहिले पार्टी विभाजित मनस्थितिमा होइन‚ पूर्ण रूपमा चुनावमा होमिएको उनको भनाइ छ।

पार्टीको विशेष महाधिवेशनपश्चात उपसभापति शर्मा पहिलोपटक गृह निर्वाचन क्षेत्र झापा १ को कार्यक्रममा आएका हुन्। यो क्षेत्रबाट कांग्रेसले प्रतिनिधिसभा सदस्यमा केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ। उपसभापति शर्माले पार्टीका उम्मेदवार पाण्डेलाई चुनावमा जिताउन आह्वान गरे।